आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सकियो प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रीपरिषद बैठक, भए यस्ता निर्णय

प्रकाशित
253
SHARES

काठमाडाैं । सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।

यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । दुबै आयोगको म्याद आज सकिँदै थियो । पछिल्लो पटक १७ महिनाअघि आयोग गठन भएको थियो ।

त्यस्तै सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गते दुबै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

असार २८ गते सर्वोच्च काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको हो।

यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको छ ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनी समूहका सांसदहरु मन्त्री पद माग्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ । देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेका छन् ।

बूढानीलकण्ठ पुगेका ती एमाले सांसदले देउवालाई भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’

ओली क्याबिनेटमा काम गरेका ती पूर्वमन्त्रीले देउवासँग भने, ‘तपाईलाई एमालेका सांसदको मत चाहिन्छ भने ठिकै छ, चाहिँदैन भने म केही भन्दिनँ ।’ बूढानीलकण्ठ स्रोतले ओली पक्षका पूर्वमन्त्री देउवा निवासमा आएको पुष्टि गर्यो । तर, गोपनीयताका कारण उनको नाम भने ‘एक्स्पोज’ नगरिदिन आग्रह गर्यो ।

स्रोतले भन्यो, ‘अहिले नाम उल्लेख नगरौं, तर उनी सुदूरपश्चिमका एमाले सांसद हुन् । पछिल्लोपटक केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा हटाएपछि उनी ओलीसँग रिसाएका रहेछन् ।’

ओली समूहबाट कित्ता परिवर्तन गरेर मन्त्री बन्ने दौडमा लागेका ती एमाले सांसद ओली क्याबिनेटको मन्त्री बनेका बेला विभिन्न अभिव्यक्तिका कारण विवादमासमेत तानिएका थिए ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून छ ।

तथापि उनले आफूसँग ८÷९ जना सांसदहरु रहेकाले माधव नेपालसँग पनि यसबारेमा कुरा गर्ने र मन्त्री बनाइएमा ओलीको कित्ता छाडेर माधव नेपालतर्फ लाग्ने बूढानीलकण्ठलाई वचन दिएको स्रोतले बतायो । देउवाले विश्वासको मत नपाएर सरकार ढल्ने अवस्था आएमा आफूले काँध थाप्ने ती नेताले वचन दिएको बुझिएको छ ।

स्रोतका अनुसार उनले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बूढानीलकण्ठमा पुगेर बधाई दिइसकेका छन् । तर, त्यसअघि सर्वोच्च अदालतको फैसला नै नआइकन पनि उनले बूढानीलकण्ठमा पुगेर देउवालाई संसद पुनःस्थापनापछि फ्लोर क्रस गर्ने वचन दिएका थिए ।

यसैबीच नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री शेरबहादुर देउवालाई हतारमा मन्त्रीहरू नछान्न र सबै मन्त्रालयले आफैँले मात्र नराख्न सुझाव दिएका छन् । अहिलेको गठबन्धनलाई बचाउन र त्यहीअनुसार गठबन्धन र पार्टीमा सन्तुलन कायम गर्न सिटौलाको सुझाव छ ।

‘मन्त्रालयको बाँडफाँट गरेर गठबन्धन र आफ्नो पार्टीभित्र कसरी सन्तुलन काम राख्ने, सबै साथीहरूको भावनालाई कसरी समेट्ने सोच्नुपर्छ’ सिटौला भन्छन्, ‘यी सबै कुरा बुझेर नहतारिकन समयमा निर्णय लिने कुशलता प्रधानमन्त्रीमा चाहिन्छ ।’

नेपाली काँग्रेसले प्रधानमन्त्री पाउनु नै ठूलो कुरा भएकाले अहिले देउवालाई मन्त्रीका लागि ‘प्रेसर’ गर्न नहुने सिटौलाले काँग्रेसका अन्य नेताहरूलाई पनि सुझाव दिएका छन् । उनी भन्छन्, ‘माधव नेपालजीको समर्थनबाट उहाँ प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्रीलाई धेरै प्रेसर गर्‍यौँ भने हामीले हाम्रो आफ्नै जिम्मेवारी बुझ्दैनौँ । सुझाव दिऔँ, अहिले दबाब दिने अवस्था छैन । प्रधानमन्त्री हाम्रो भइसकेपछि कुन मन्त्रालय लिने, नलिने भन्नेमा हठ गर्नु उपयुक्त छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई काँग्रेस नेता सिटौलाले दिएको सुझाव जस्ताको त्यस्तै–

”प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्ने दलहरूको भावनालाई जोडेर हिँड्न सक्नुपर्छ । हतारिएर हुँदैन । जसपाले निर्णय गरेको छैन । माधवजीको स्थिति के हुने हो, उहाँको पार्टीको अन्तर्द्वन्द्व चल्दैछ । त्यो द्वन्द्वले एकता गर्ने हो कि, उहाँलाई कहाँ पुर्‍याउने हो, थाहा छैन ।

यी सबै कुरा बुझेर नहतारिकन समयमा निर्णय लिने कौशलता प्रधानमन्त्रीमा चाहिन्छ । त्यसैले प्रधानमन्त्रीलाई हतारो गर्नुहुँदैन भन्ने पक्षमा छु । मूल कुरा उहाँले गठबन्धनलाई जोगाउनुपर्छ । गठबन्धनको भावनालाई मर्न दिनुहुँदैन । विश्वासको मत लिने तयारीका साथ उहाँले अगाडि जाने कोसिस गर्नुपर्छ । यसैका भावनाका आधारमा मन्त्रालयको बाँडफाँट गरेर गठबन्धन र आफ्नो पार्टीभित्र कसरी सन्तुलन काम राख्ने, सबै साथीहरूको भावनालाई कसरी समेट्ने, उहाँले सोच्नुपर्छ ।

मन्त्रालयको भागबण्डा फस्ट म्यान वा एक जना प्रतिनिधिले गर्ने हो । प्रधानमन्त्रीले गठबन्धनमा कुरा मिलाएर मन्त्रालय बाँडफाँट गरिसकेपछि के गरौँ भन्दा हामीले सल्लाह दिने हो नि त ! अहिले म आदि–इत्यादि केही भन्ने मुडमा छैन ।

चुनावमा सबैभन्दा महत्त्वपूर्ण अर्थ मन्त्रालय हुन्छ, गृह मन्त्रालय हुन्छ । सबै आफैँ राख्छु भनेर हुँदैन । निजामती कर्मचारीलाई नियन्त्रण र परिचालन गर्ने सामान्य प्रशासन मन्त्रालय पनि महत्त्वपूर्ण हुन्छ । कुन मन्त्रालय आवश्यक छैन भन्ने छैन । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई सबै छोडिदिनुपर्छ । प्रधानमन्त्रीलाई यो गर र त्यो नगर भनेर भएन नि ।

प्रतिनिधिसभामा २३ प्रतिशत पनि छैन, १६५ मा २३ वटा जितेको छ । हामीले प्रधानमन्त्रीलाई धेरै प्रेसर गर्नु उपयुक्त हुन्छ त ? यस्तो अवस्थामा प्रधानमन्त्री बन्नु नै सबैभन्दा ठूलो सफलता ठान्नुपर्छ ।

माधव नेपालजीको समर्थनबाट उहाँ प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री एकदम होसियारीपूर्वक हिँड्नुभएन भने त सरकारको भविष्य के हुन्छ ? त्यसकारण यस्ता कुरामा हामी संवेदनशील भएनौँ र प्रधानमन्त्रीलाई धेरै प्रेसर गर्‍यौँ भने हामीले हाम्रो आफ्नै जिम्मेवारी बुझ्दैनौँ ।

उहाँले क्रमिकरुपमा गर्दै जानुहोला । आवश्यक पर्‍यो भने हामीसँग सुझाव माग्नुहोला । सुझाव दिऔँ, अहिले दबाब दिने अवस्था छैन । यो प्रधानमन्त्रीय पद्धति हो । यहाँ सबै मन्त्रीहरूले प्रधानमन्त्रीको अधिकार प्रत्यायोजन गरेर काम गर्ने हुन्

मन्त्रिपरिषद् प्रधानमन्त्रीको नियन्त्रणमा रहन्छ । प्रधानमन्त्रीकै निर्णय लागु हुन्छ । मन्त्रीले प्रधानमन्त्रीकै निर्देशनमा काम गर्नुपर्छ । प्रधानमन्त्री हाम्रो भइसकेपछि कुन मन्त्रालय लिने, नलिने भन्नेमा हठ गर्नु उपयुक्त छैन । मेरो सुझाव छ–गठबन्धनको भावनालाई आत्मसाथ गरेर अगाडि जान सक्नुपर्छ ।”

प्रतिक्रिया