आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाढी र पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोक जाँदै छन प्रधानमन्त्री ओली

प्रकाशित
632
SHARES

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि सिन्धुपाल्चोक जान लागेका छन्।

गएको असार १ गते आएको बाढी पहिरोले क्षति गरेको क्षेत्र अवलोकन गर्न ओली सिन्धुपाल्चोक जान लागेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

‘नेपाली सेनाको हेलिकप्टरबाट बिहान साढे १० बजे प्रधानमन्त्री ओली मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री जान लाग्नु भएको छ,’ सचिवालयले भनेको छ।

त्यस्तै  रातभरको परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जन बढी घरमा क्षति पुगेको छ । बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रका ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।

अरनिको राजमर्गको जम्बु, खागदल बजारमा बाढीले ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले खागदलको पक्की पूल नै बगाएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन् । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेकी छन् ।

सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढी पहिरोले व्यापक क्षति गरेपछि उद्दारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल जान लागेका छन्। हेलिकप्टर लिएर उद्दार गर्न सभामुख जान लागेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। अहिले हेलिकप्टर लिएर घटनास्थल जाने तयारीमा छौँ। तर,समय निश्चित भइसकेको छैन’ उनले भने। बाढी गएको क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो।

यस्तै अविरल वर्षाले कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, खैरभट्टी, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पानीको निकास नहुँदा केही घर डुबानमा परेका छन् । यसैबीच भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् ।

नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन् । नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् । बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खोजबिनका लागि खटाइएको प्रहरी प्रवक्ता थापाले बताए ।

नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए । खोजी जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् ।

प्रतिक्रिया