आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा–प्रचण्डले बोलाएको बैठक अन्ततः माधव नेपालले गरिदिए बहिष्कार,एमालेहरुमा छायो खुसीयाली

प्रकाशित
0.9K
SHARES

काठमाडाैँ । सत्तारुढ नेकपा एमालेको विवाद सल्टिने संकेत देखा पर्दै गएको छ । कुनै पनि हालतमा विपक्षी गठनबन्धनलाई धोका नदिने कसम खाएका वरिष्ठन नेता माधव कुमार नेपाल युटर्न भएपछि देशभरका नेताकार्यकर्तामा खुसीयाली छाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि बहस सकिनै लाग्दा सोमबार सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बन्दै थियो। अदालत परिसरको सुरक्षा बलियो हुन थालेपछि सञ्चारकर्मी र बहस सुन्न बसेका कानुन व्यवसायी तत्कालै फैसला आउने अनुमानसहित कुरिरहेका थिए।

सोमबार साँझ ५ बजेसम्म एमिकस क्युरीको राय सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले असार। २८ गतेसम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखेको घोषणा गरे। तर अर्कातिर केही दिनदेखि सेलाएको नेपालको राजनीतिक माहोल सर्वोच्चमा बहस सकिनेबित्तिकै तात्न पुग्यो।

एमाले कार्यदलले विपक्षीलाई ‘झस्को’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (४) अनुसार बहुमत सिद्ध नगरी वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरिदिनासाथ उत्साहित हुँदै राष्ट्रपति कार्यालयमा दाबी लिएर पुगेका थिए, कांग्रेस सभापति शेरबहादुर देउवा।

देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न विपक्षी गठबन्धनको टोली राष्ट्रपति कार्यालय पुगेको थियो ।

जुन गठबन्धनमा नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह र नेकपा एमालेको माधव कुमार नेपाल(झलनाथ खनाल समूहका २३ सांसद पनि थिए।

अदालतमा सोमबार त्यहीबारे बहस चलेर एमिकस क्युरीले सुझाव दिँदै गर्दा उता ओलीले देउवालाई दिएको हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई दिएको ७२ घण्टा गुज्रिँदै थियो। तर नेपाल समूहले हस्ताक्षर फिर्ता गर्न मानेनन्।

यसअघि ओलीले देउवाको पक्षमा हस्ताक्षर गरेकामध्ये ११ सांसदलाई जेठ १२ मै कारबाही गरिसकेका थिए। उक्त कारबाहीपछि ओली(नेपाल मिल्ने सम्भावना पनि करिब सकिएको थियो।

विपक्षी झस्कियो

सोमबार साँझ अबेर बसेको एमाले कार्यदलको बैठकको सकारात्मक सन्देश दिइरहँदा विपक्षी गठबन्धन भने झस्किएको छ। कार्यदलले ओली(नेपाल सहमतिका लागि मस्यौदा समेत तयार गरेको खबर बाहिरिएसँगै विपक्षी गठबन्धनका देउवा र दाहालको चिन्ता बढाएको छ। एमाले नेता नेपाललाई उनीहरुले ओलीलाई गलाउने र सत्ताबाटै बिदा गर्ने अभियानमा प्रयोग गर्दै आएका थिए।

ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्ने समाचार आइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आफ्ना एक नेताको श्रद्धाञ्जली सभामा सहभागी हुन जनकपुर पुगेका थिए।

उनी जनकपुरमा बोलिरहँदा यता एमाले कार्यदलको बैठक बस्ने तयारी भइसकेको थियो। ओली(नेपाल मिल्ने कुराले झस्किएका प्रचण्ड तत्कालै जनकपुरबाट काठमाडौंमा उत्रिए।

काठमाडौं उत्रिएपछि उनी आफ्नो निवास खुमलटारतिर लागेनन् बरु एमाले नेता नेपाल निवास कोटेश्वरतिर हान्निए।

कांग्रेस सभापति देउवा पार्टीको १४० औँ महाधिवेशनतिर होमिएका छन्। अर्कातिर नेता नेपाल पनि ओलीसँग मिल्ने विकल्पबारे घनिभूत छलफलमा केन्द्रित छन्। यस्तोमा राजनीतिक रुपमा फेरि आफू एक्लिने चिन्ताले प्रचण्डलाई सताएको उनीनिकट नेताहरु नै बताउँछन्।

त्यहीकारण प्रचण्ड जनकपुरको कार्यक्रम छोट्याएर काठमाडौं आउनेबित्तिकै नेपाल निवास पुगेका हुन्। त्यहाँ पुगेर विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेको प्रचण्ड सचिवालयले बताएको छ ।

सिंहदरबारमा एमाले कार्यदल बैठक चलिरहँदा नेपाल र प्रचण्डबीच भएको छलफललाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ। प्रचण्डले कोटेश्वरमा नेपाललाई विपक्षी गठबन्धन नछाड्न आग्रह गर्दै ओलीले फेरि पनि धोका दिने बताएको दाबी स्रोतको छ। यसअघि नेता नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका थिए। तर ओलीसँगको संवादले फेरि गति लिएपछि विपक्षी गठबन्धन अलपत्र पर्ने सम्भावना बढेको छ। ओली(नेपाल वार्तालाई गति दिन आइतवार दिउँसो नेता भीम रावल बालुवाटार छिरेका थिए।

त्यसपछि सोमबार जेठ २ मा गठन भएर जेठ ८ देखि निष्क्रिय बनेको कार्यदल ब्यूँतियो। ओलीले नेताहरुमाथिको कारबाही निष्क्रिय बनाएसँगै कार्यदल फेरि ब्यूँतिएर एमाले एकताको सम्भावनाको खोजी थालेको हो। दोस्रो तहका नेताहरुको निरन्तरको दबाबपछि ओली(नेपाल दुवै कार्यदल ब्यूँताएर समाधान खोज्ने दिशामा एकै ठाउँ आइपुगेका हुन्।

विपक्षीको बैठकमा गएनन् नेपाल

सोमबारका लागि देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरुको बैठक डाकिएको थियो। सोमबार साँझ बस्ने भनिएको उक्त बैठकमा एकजना सदस्य माधवकुमार नेपाल गएनन्। बरु ओलीसँगको सहमतिमा उनले एमालेको कार्यदललाई ब्यूँताएर छलफल अघि बढाउन आफूनिकट नेतालाई निर्देशन दिए।

नेता नेपाल नगएपछि विपक्षी गठबन्धनको बैठक नै बस्न सकेन। विपक्षी गठबन्धनमा देउवा, प्रचण्ड, नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलसहितका नेताहरु छन्।

ओलीले हस्ताक्षर फिर्ता लिन दबाब दिएर नेपाललाई विपक्षी गठबन्धनबाट निकाल्न खोजेका छन्। देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नलिए पनि नेता नेपालले विपक्षीको बैठकमा नगएर अर्थपूर्ण राजनीतिक सन्देश दिइसकेका छन्।

तर नेपाल पक्षीय नेताहरुले भने ओलीले आफ्नो सत्ता टिकाउन यो कार्ड खेलेको हुन सक्ने आशंका अझै पनि बोकेका छन्। यदि संसद पुनर्स्थापना भइहाले पनि ठूलो दलको नेताका रुपमा आफ्नै नेतृत्वमा चुनावी सरकार कायमै राख्न ओली इच्छुक देखिन्छन् । कार्यदलको बैठकले नेपालको ध्यान मोड्न खोजेको जस्तो देखिन्छ’,’ नेपालनिकट एक नेता भन्छन् ।

उता जनकपुरबाट हतार हतारमा काठमाडौं उत्रिएर प्रचण्ड सिधै कोटेश्वर पुगेपछि विपक्षीको मनोदशा पनि प्रष्ट पारेको छ। एमाले मिल्दा हुन सक्ने राजनीतिक क्षतिको राम्रै आँकलन गरेका प्रचण्ड नेता नेपाललाई विपक्षी गठबन्धनमै राखिरहन कोटेश्वर पुगेको अनुमान एमालेकै एक नेताले गरेका छन्।

के(के भयो एमालेमा ?

जेठ ८ गते सबेरै बिहान अप्रत्याशित रुपमा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि निष्क्रिय बनेको एमाले कार्यदल सोमबारबाट फेरि ब्यूँतिएको छ।

उत्कर्षमा पुगेको विवाद मिलाउन गरिएको पटक पटकको प्रयास असफल भएको अवस्थामा कार्यदल ब्यूँतिएको हो। सोमबार र मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठकले सकारात्मक दिशा पक्रिएको प्रतिक्रिया दुवै पक्षका नेताले दिएका छन्।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्वोच्च अदालतले २०७७ फागुन २३ गते खारेज गरिदिएको थियो। त्यसपछि २८ फागुनमा बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयले एमाले विवाद छताछुल्ल भयो।

ओली(नेपाल पानी बाराबारको अवस्थामा सक्रिय भएका एमालेका दोस्रो तहका नेताले वार्ताको वातावरण बनाइरहेका थिए। विवाद निरुपणकै लागि ओली र माधव नेपालबीच पाँचतारे होटलदेखि व्यापारीका घरसम्म एक्लाएक्लै वार्ता भए। दुई नेताबीच सहमति हुन नसकेपछि कारबाहीको श्रृङ्खला निरन्तर चलिरह्यो ।

विवाद समाधानका लागि २ जेठमा कार्यदल बनेको थियो । तर, ८ जेठ बिहान ओलीले गरेको संसद विघटन गरिदिएपछि कार्यदल पनि निस्क्रिय थियो ।

र, १२ जेठमा ओलीले माधव नेपालसहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरे । उता, शेरबहादुर देउवासहित १४६ जनाले राष्ट्रपति कार्यालयमा पुगेर गरेको दाबीमा नेपाल समूहले पनि हस्ताक्षर गर्‍यो। नेपाल समूहले गरेको उक्त हस्ताक्षर फिर्ता लिन लागि ओलीले गत शनिबार ७२ घण्टे अल्टिमेटम दिए ।

उक्त अल्टिमेटमलाई नेपाल समूहले अस्वीकार गरेपछि अन्ततः ओलीकै अग्रसरतामा कार्यदल ब्यूँतिएको छ। उनैले बोलाएर आइतवार नेपाल पक्षका नेता भीम रावल बालुवाटार छिरेका थिए। रावल बालुवाटार पसेसँगै दुई पक्षबीच वार्ताको माहोल बनेको थियो। यससँगै नेता नेपाल पनि विपक्षी गठबन्धनको बैठकमा नगएर फरक राजनीतिक सन्देश दिएका छन्।

प्रतिक्रिया