आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोभिड-१९ का कारण नेपाल सहितका पर्यटकहरूमाथि लगाइएको प्रतिबन्ध हटाँउदै जर्मनी

प्रकाशित
121
SHARES

काठमाडाैं । जर्मनीले कोभिडका कारण यूके र नेपालसहित अन्य तीन राष्ट्रका यात्रुहरूमा लगाएको प्रतिबन्ध हटाउँदै छ। पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत लागु गरिएको प्रतिबन्ध बुधवारबाट हटाइने भएको हो।

पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीनमासमेत बस्नु नपर्ने बताइएको छ। खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ। तर उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टीनबाट बाहिरिन पाउने छन्।

हालसम्म यी पाँच राष्ट्रहरूलाई डेल्टा भेरिअन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण ”भाइरस भेरिअन्ट एरियाज”का रूपमा वर्गीकरण गरिएको थियो। उक्त भेरिअन्ट सुरुमा भारतमा पहिचान भएको थियो।

जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो। यी पाँच राष्ट्रहरूलाई अब ”हाइ इन्सिडेन्स एरियाज” अर्थात् सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा कोभिडसम्बन्धी नियमहरू जुलाई १९ तारिखबाट हटाउने आफूहरूले अपेक्षा गरिरहेको पुष्टि गरेको केही घण्टामा जर्मनीले प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्ने बताएको हो।

अबको दुई सातामा इङ्गल्यान्डमा सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनुपर्ने नियम हटाइने अपेक्षा गरिएको छ। जोनसनले खोप कार्यक्रमले नयाँ सङ्क्रमण र मृत्युबीचको सम्बन्ध तोडिदिएको बताएका छन्।

तर डाउनिङ स्ट्रीटमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महामारी अन्त्य भई नसकेको र थप मानिसहरूको मृत्यु हुने उनले बताएका थिए। यस्तै नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ ।

कतारमा पछिल्लो २४ घण्टामा ९३ जनामा मात्र संक्रमण भेटिएको छ । यो संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार ६६७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा १ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या पनि २ लाख २० हजार ५९७ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ४ सय ७७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ९२ जनाविभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये ४४ जनाको आईसीयूमा उपचार भइरहेको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा ३२ लाख ७६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप नलगाएका सबैलाई अनिवार्य खोप लगाउन मन्त्रालयले आग्रह गर्दै आएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप लगाउँदै आएको छ ।

प्रतिक्रिया