आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँ उपत्यकामा थप खुकुलो पार्दै लम्ब्याइयो निषेधाज्ञा

प्रकाशित
313
SHARES

काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि लम्ब्याउने निर्णय भएको छ । उपत्यकामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ। उपत्यकाका ३ वटै जिल्लाका सिडिओहरुको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञामा सार्वजनिक सवारीका साधनहरु खुकुलो पारिएको छ। उपत्यका भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ। निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न भने पाइने छैन।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

पसल बिहानैदेखि खुल्ने
उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो । औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ ।

केकेमा छ अझै निषेध
स्थानीय प्रशासनका अनुसार सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन ।

खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ । विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।

यस्तै नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्थानहरुमा भौतिक उपस्थितिमा पठनपाठन र स्थानीय ढुवानी विहान ९ देखि ११ तथा अपरान्ह ४ देखि ७ बजेसम्म गर्नसमेत स्थानीय प्रशासनले रोक लगाएको छ ।

प्रतिक्रिया