आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदूरपश्चिममा भूकम्पको सक्तिशाली धक्का, थप विवरणसहित

प्रकाशित
428
SHARES

सुर्खेत।  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ । शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।

यस्तै  पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर रन्जन अवाले जानकारी दिए ।

पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा शुक्रबार मध्यरातिदेखि वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना छ । प्रदेश २ र वाग्मती प्रदेशका एक दुइ स्थानमा ‘धेरै भारी’ बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच इलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा भइरहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा, रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने भएकाले आज रातिसम्म नै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

केन्द्रका अनुसार रौतहट कर्मैया (पधेरादोभान) स्थित वाग्मती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । तनहुँको बिमलनगरस्थित मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेकाले आसपासका क्षेत्रका उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया