आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालुवाटारमा बामदेवले भने- मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन

प्रकाशित
852
SHARES

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका छन् । बालुवाटारमा शुक्रबा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताए ।

‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ । मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नु हुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ,’ गौतमले भने ।

एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए । ‘हिजो केन्द्रीय कमिटी निर्वाचन हुँदा माधव कमरेडसँग जम्मा नौ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ,’ उनले भने । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्न नहुने गौतमको भनाइ थियो ।

‘सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं,’ गौतमले भने । पार्टी एकता पार्टीको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको पक्षमा भएको पनि उनले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती भएको गौतमको निष्कर्ष छ । ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ,’ उनले भने ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गरेका छन् । बालुवाटारमा बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरुलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन् ।

उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा स्वागत गर्दै अन्य नेताहरु पनि बैठकमा आउनुपर्ने उनले बताए । ‘उहाँ (वामदेव गौतम)लाई स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु,’ अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले वामदेव गौतमलाई आउने सधैं आउन आग्रह गरेका थिए ।

त्यस्तै नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि नेपानल समूहका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । उनको पक्षमा १४९ सांसदले हस्ताक्षर गरेका थिए ।

एमाले संसदीय दलका नेता केपी पनि एमाले र जसपाको समर्थन रहेको भन्दै दाबी पेश गरे । राष्ट्रपतिले दुबैको दाबी नपुगेको निर्णय सुनाएपछि ७ जेठको मध्यरातमा प्रतिनिधिसभा भंग भयो । प्रतिनिधिसभा विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गए । अदालत जानेमा माधव नेपाल समूहका २३ निवर्तमान सांसद पनि छन् ।

यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ९ असारदेखि निरन्तर सुनुवाइ भइरहेको छ। रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ । अब एमिकस क्युरीको बहस हुनेछ र केही दिनमा फैसला आउने सम्भावना छ । सर्वोच्चको फैसला आउनुअगाडि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टीका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

प्रतिक्रिया