आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीका विश्वासपात्र पृथ्वीसुब्बा पनि माधव नेपालतिर, बालुवाटारमा ८ रेक्टरको भूकम्प

प्रकाशित
829
SHARES

काठमाडाैँ । नेकपा एमालेका कारबाहीमा परेका नेता माधवकुमार नेपालले अब लोकतान्त्रिक गठबन्धनलाई धोका दिन नसक्ने भन्दै पार्टीमा कायम नरहने सङ्केत गरिरहेका बेला एमाले ओली समूहका दोस्रो तहका नेता भने उनलाई फकाउन अझै सक्रिय छन्।

नेपाल समूहका दोस्रो तहका नेताहरू समेत सकेसम्म एमालेबाट बाहिरिन नपरोस् भनेर नेपाल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति गराउन प्रयत्नरत छन्।

पछिल्लो समय ओली समूहका नेता र नेपालको भेट पातलिएको बेला मङ्गलवार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ नेपाल निवास पुगेर झन्डै चार घण्टा वार्ता गरे।

गुरुङ ओली समूहका प्रभावशाली नेतामध्येका हुन्। उकेरालाई प्राप्त सूचनाअनुसार गुरुङ नेता नेपाललाई भेट्न दिउँसो १ बजे उनकै निवास कोटेश्वर पुगेका थिए। उनीहरूबिच अपराह्न ४ बजेसम्म कुराकानी भएको थियो।

दुवैको कुराकानी पार्टीमा बढेको विवाद समाधानकै विषय थियो। तर गुरुङले नयाँ प्रस्ताव भने गरेनन्। उनले ओली समूहले भन्दै आएका विषय नै दोहो¥याएका थिए।

’गुरुङले ओली समूहले भन्दै आएका कुरा नै दोहो¥याउनु भयो । उहाँसँग मूर्त प्रस्ताव हुने कुरा भएन,’ स्रोतले भन्यो , ’उहाँ नेता नेपालको मुड बुझ्न आएझैँ लाग्यो।’

नेकपा विघटन र एमाले विभाजितको पहिलो प्रहार गुरुङले खेपे। एमालेमा आएको विभाजनका कारण पद गुमाउनेमा उनी अग्रपङ्क्ति छन्। एमाले विभाजनकै कारण उनको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेर नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनेर विश्वासको मत समेत लिइसकेको छ।

मुख्यमन्त्री रहेपछि फुर्सदमा रहेका गुरुङ पछिल्लो समय पार्टी एकताको पक्षमा सक्रिय भएका छन्। उनले आइतबारको स्थायी कमिटी बैठकमा नेपाललाई दोस्रो अध्यक्षमा बनाएर भए पनि पार्टीको एकता बचाउनुपर्ने मत राखेका थिए।

तर, त्यस बैठकमा ओली मौन बसे। गुरुङको प्रस्तावलाई अरू स्थायी कमिटी सदस्यले पनि समर्थन जनाएनन्। अहिले गुरुङले त्यही प्रस्ताव नेता नेपाल निकट नेतासँग पनि राख्न थालेका छन्।

मङ्गलवार नेपाल निवास कोटेश्वर जानुको उद्देश्य पनि त्यही भएको स्रोत बताउँछ। यता नेपालनिकट स्रोत भने छलफलमा गुरुङले दोस्रो अध्यक्षको कुरा नउप्काएको दाबी गर्छ।

गुरुङको दौडधुपप्रति ओली पक्षकै असन्तुष्टि

नेकपा विघटनको सोझो असर गण्डकी प्रदेशले बेहोर्नु परेपछि गुरुङ जुनसुकै मूल्य चुकाएर भए पनि विग्रह–विभाजन रोक्नुपर्ने बताउन थालेका छन्। बैठकमै उनले दोस्रो अध्यक्षको प्रस्ताव लैजानुको लक्ष्य समेत पार्टी एकताको बिग्रिएको वातावरण सुधार्ने प्रयास देखिएको थियो। कतिपयले ओली–नेपालको मिलनबिन्दु यही हुन सक्ने समेत औँल्याएका छन् ।

तर, ओली समूह भने यसप्रति सकारात्मक छैन। उनीहरूले यसलाई अनावश्यक प्रस्ताव भन्न थालेका छन्।

’नेता नेपाल प्रचण्ड पथ हुँदै बुढानीलकण्ठ पुगिसक्नुभयो, उहाँलाई फर्काएर थापाथली ल्याउन अब मुस्किल छ। महाधिवेशनमा पराजित हुने तर बाटाबाटामा अध्यक्षको पगरी गुथाउन सकिँदैन। कार्की ब्याङ्क्वेटमा अध्यक्षको पगरी गुथ्नुभयो भन्दैमा एमालेको अर्को अध्यक्ष दिन मिल्दैन,’ ओली निकट एक नेताले भने।

यो प्रस्तावप्रति ओली समेत सहमत देखिएका छैनन्। गुरुङले दोस्रो अध्यक्ष प्रस्ताव गरिरहँदा सोमबार ओली पनि नेता नेपालप्रति आक्रामक भएका थिए। उनले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेकोमा नेपालप्रति आक्रोशित छन्। उनले बैठकमा नेता नेपाल काँग्रेस प्रवेश गर्न बाँकी रहेको बताउँदै कटाक्ष गरेका थिए।

त्यसो त नेता नेपाल पनि ओलीप्रति असहिष्णु बन्दै गएका छन्। गत शनिवार नेता नेपालले प्रधानमन्त्री प्रस्ताव गर्न ओली पक्षका नेता आएका र आफूले झपारेर पठाइदिएको दाबी गरेका थिए।

ओलीले त्यसको जवाफमा नेता नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँड्न आफूलाई बहुला कुकुरले नटोकेको भन्दै निर्मम व्यङ्ग्य गरेका थिए।

तर नेता नेपालनिकट दोस्रो तहका नेता अझै पनि पार्टी एकता विकल्पहीन विकल्प भएको बताउँदै आएका छन्। उनीहरूले ओलीसँग पदको बार्गेनिङ गर्न नहुने तर नेता नेपाल एकतामै फर्कनुपर्नेमा जोड दिने गरेका छन्।

यसैबीच, यता नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सकिएको छ । बालुवाटारमा आज बसेको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेको छ ।

अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् । बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए । आज भएको महाधिवेसन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले सो बारे जानकारी दिए ।

बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताए । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए । वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्म पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।

प्रतिक्रिया