आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रतिनिधिसभा विघटन आजदेखि निरन्तर सुनुवाई हुँदै

प्रकाशित
1.4K
SHARES

काठमाडौँ।  प्रतिनिधिसभा विघटन बदर गर्न र प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न माग सम्बन्धी विचाराधीन रिटहरूमा सर्वोच्च अदालतमा आज फेरि सुनुवाइ शुरू हुँदैछ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते विपक्षीहरू राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सभामुखसँग लिखित कारण माग गर्दै असार ९ गतेदेखि लगातार सुनुवाइ हुने जनाएको थियो ।

सबै विपक्षीहरूबाट जवाफ पेश भइसकेको छ ।

रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, मिरा खड्का र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रतिनिधिसभाका १४६ जना सांसदले संविधानको धारा ७६(५) अनुसार प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा पदमा नियुक्त गर्न माग गर्दै रिट दायर गरेका छन् । प्रतिनिधिसभा विघटन बदर गर्न माग गरेर पनि रिट दायर भएका छन् ।

यी रिटहरूमा अन्तरिम आदेश हुनुपर्ने माग संवैधानिक कइजालासले अस्वीकार गरेको थियो । सरकारको सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटनको घोषणा भएको थियो । यसअघि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त हुन प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले दाबी पेश गरेका थिए ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीबाट पनि दाबी पेश भएको र केही सांसदहरूको हस्ताक्षर दुवैतर्फ रहेको जनाउँदै धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेको निर्णय सुनाएकी थिइन् ।

लगत्तै सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेकी थिइन् । यिनै कदम विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएका थिए ।

प्रतिक्रिया