आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक आज ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

प्रकाशित
591
SHARES

काठमाडौं । आज संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो देशभर २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ र ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिले काठमाडाैं जिल्लामा ३१० जना, ललितपुर जिल्लामा ९९ र भक्तपुरमा ६७ जनामा कोभिड पुष्टि भएको हो। जटिल समस्या भएका बिरामीहरूको अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरमा उपचार भइरहेको छ।

सङ्क्रमितमध्ये अहिले ७६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २१८ जना भेन्टिलेटरमा छन्। सरकारी तथ्याङ्कअनुसार २५ लाख जनाभन्दा बढीले कोभिडविरुद्ध खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने ७ लाख ३१ हजार भन्दा बढीले दोस्रो मात्रा प्राप्त गरेका छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१८ प्रतिशत महिला छन् भने ६०.८२ प्रतिशत पुरुष छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन्।

तीमध्ये २१ वर्षदेखि ४० वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ। नेपालसँग सीमा जोडिएको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख ८९ हजार नाघेको छ। तर केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ७९ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।

नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख चार हजार, पश्चिम बङ्गालमा १४ लाख ८३ हजार, बिहारमा सात लाख १९ हजार र उत्तराखण्डमा तीन लाख ३८ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्। भारत सरकारका अनुसार अहिलेसम्म २.९९ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

त्यस्तै नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो । जसमध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेशन भेटिएको हो ।

कोभिसिल्डको दोस्रो मात्रा लिन सीमापारि

वीरगन्ज आदर्शनगरका एक व्यवसायीले सीमापारि भारतको रक्सौल पुगेर कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाए । उनले वृद्ध आमाबाबुलाई पनि लगेर खोपको दोस्रो मात्रा लगाएका छन् ।

कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा वीरगन्जमै लगाएका उनीहरूले लामो प्रतीक्षा गर्दा पनि दोस्रो डोज नपाएपछि गत साता पारि पुगेर लगाएका हुन् । ‘यहाँ त लामो पर्खाइपछि पनि नपाइएलाजस्तो देखियो । सपरिवार पारि गएर दोस्रो डोज लगाउनुपर्‍यो,’ ती व्यवसायीले भने, ‘पहिलो डोज लगाएको १२ साताभन्दा बढी भइसक्यो । नेपालमै दोस्रो डोज पाइने सम्भावना देखिएन । थोरै प्रयासमा छिमेकी मुलुकबाट यो सुविधा पाइन्छ भने किन नलिने ।’

उनी मात्र नभई दुई सातायता वीरगन्जका थुप्रैले रक्सौल पुगेर कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् । रक्सौलका टेलिभिजन पत्रकार गणेश शंकरले वीरगन्जबाट थुप्रै संख्यामा नेपाली नागरिक भारतमा आएर खोप लगाएको दाबी गरे ।

वीरगन्जबाट खोप लगाउन रक्सौल पुग्नेहरूमध्ये केहीले कोभिसिल्डको पहिलो र धेरैले दोस्रो मात्रा लिएको उनले बताए । यसरी भारतीय नागरिकसरह सहजै उनीहरूले कोभिसिल्डको डोज लिन पाउनुमा उनीहरूको दोहोरो नागरिकता प्रमुख कारण रहेको शंकरको दाबी छ ।

‘विदेशी नागरिकले भारतमा कोभिसिल्ड खोप पाउन सजिलो छैन,’ उनले भने, ‘उनीहरूसँग नेपालको नागरिकता र भारतको रासन कार्डसमेत भएकाले कोभिसिल्ड खोप लिन पाएका हुन् ।’ पर्सामा ४६ हजार ३ सय ९४ जनामध्ये ९ हजार २ सय ६४ जनाले मात्रै खोपको दुवै मात्रा लगाउन पाएका छन् ।

दोस्रो चरणमा प्राथमिकतामा परेका ज्येष्ठ नागरिकले कोभिसिल्डको पहिलो मात्रा झन्डै तीन महिनाअघि लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिलकुमार सिंहले ज्येष्ठ नागरिकका लागि कोभिसिल्डको दोस्रो मात्रा कहिलेसम्म आइपुग्ने भनेर भन्न सक्ने अवस्थामा नरहेको बताए ।

‘देशव्यापी रूपमै ज्येष्ठ नागरिकले दोस्रो डोज लिन पाएका छैनन् । सरकार पनि खरिद प्रक्रियामै छ,’ उनले भने, ‘सरकारले युनिसेफमार्फत युरोपमा निर्मित अस्ट्राजेनेका नामक खोप ल्याउने तयारी गरिरहेको सुनेको छु ।’ अस्ट्राजेनेकामा पनि कोभिसिल्डकै कम्पोजिसन हुने भएकाले आइपुगेमा खोपको दोस्रो मात्रा पर्खिरहेकालाई सहज हुने उनले बताए ।

प्रतिक्रिया