आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि,कति भए डिस्चार्ज ?

प्रकाशित
261
SHARES

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमणदर २१.३ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु भएको छ । यस्तै ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् । भने काठमाडौं उपत्यकामा ५ सय ४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौँ उपत्यकामा निषेधाज्ञा झनै खुकुलो बनाइने भएको छ । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिइने तयारी भएको छ। जोर-विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । आइतबार बसेको काठमाडौं जिल्लाको डीसीसीएमसीमा सहभागी एक अधिकारीले भने, ‘निजी गाडीलाई खोल्न दिने कुरा भएको छ, मोडालिटीबारे टुंगिएको छैन ।’

डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ ।

तर प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले गृह मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबारबाट सकिँदैछ । त्यसैले निषेधाज्ञा थपको निर्णय गर्न आइतबार साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अनलाइनखबरसँग भने, ‘निषेधाज्ञा थप हुन्छ तर अझै खुकुलो र व्यवस्थित हुनेछ ।

प्रतिक्रिया