आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रतिनिधिसभा पुनर्स्थापनाको प्रक्षेपणः प्रधानमन्त्री देउवा कि माधव नेपाल ?

प्रकाशित
691
SHARES

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्धा विचाराधीन छ । मुद्धाको फैसला आउन अझै केही हप्ता लाग्नेछ । विपक्षी गठबन्धनबाट प्रतिनिधिसभा पनःस्थापना र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको नियुक्तीको मागसहित उक्त मुद्धा दायर गरिएको छ । यता, एमालेको एक पक्ष माधव समूहलाई एमालेमै समाहित हुन नदिन विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा माधव नेपाललाई विकल्पको रूपमा अघि बढाउने तयारी गरेको बुझिएको छ ।

केहीदिनअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपालसँग उनकै निवासमा गएर छलफल गरेका थिए । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रसँगको एकीकरणपूर्वको एमाले स्थायी कमिटी बैठक बोलाउने मनस्थितिमा पुगेको छनक पाएलगत्तै त्यो भेटवार्ता भएको बताइएको छ।

झलनाथ खनाल र नेपाल पक्षको असन्तुष्ट समूहको एउटा मुख्य माग नै त्यो बैठक बोलाइयोस् भन्ने छ। त्यस्तो अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना भयो भने विपक्षी गठबन्धनमा फाटो आउन सक्छ। एमालेको असन्तुष्ट समूह आफ्नो मागअनुसार बैठक बोलाइदिने ओलीलाई साथ दिएर एकता जोगाउने कि राजनीतिक इमानदारी देखाउँदै देउवालाई साथ दिएर एमाले विभाजन घोषणा गर्ने भन्ने अप्ठेरोमा पर्ने देखिन्छ।

त्यसैले पनि त्यो अवस्था आउनुअघि नै देउवा र प्रचण्डले नेता नेपाललाई विकल्पको रूपमा अघि बढाउन तयार रहेको आश्वासन दिएको लख काटिएको ठानिएको छ। प्रधानमन्त्री ओलीको रणनीतिको पूर्वानुमान गर्न नसक्दा आफ्ना प्रतिक्रियात्मक कदम निष्प्रभावी भएको विपक्षी नेताहरू नै बताउँछन्।

अघिल्लो पटक संसद् पुनर्स्थापना हुँदा विकल्प दिन नसके जस्तै यस पटक पनि पुनर्स्थापना भयो र ओलीले पार्टी बैठक बोलाए भने विकल्प दिन नसक्ने घटना दोहोरिन सक्ने सम्भावना भएको मानिन्छ।

ओलीको विकल्पमा देउवालाई अघि सार्दा एमालेकै असन्तुष्ट पक्षका सांसदमा मतभेद देखिएको थियो। कतिपय खनाल नेपाल पक्षका सांसदले नै हस्ताक्षर गरेनन्। कांग्रेसका एक नेता भने अहिले देउवा नै विकल्प भएको र पछि हेरफेर गर्न सकिने बताउछन ।

ओलीले स्थायी कमिटीको बैठक आह्वान गर्दा पुनर्स्थापित प्रतिनिधिसभाका नेपालपक्षीय सांसदमाथि दबाव बढ्न सक्छ। नेपाल पक्षका केही नेताहरुले ओलीसँग झुकेरै भएपनि अहिले एकता गर्नुपर्ने र पछि पार्टीमै संघर्ष गर्नुपर्ने बताएका छन् ।

कतिपयले नेपाल पक्षले देउवा(प्रचण्डसँग लामो सहकार्यको समझदारी गरिसकेको भन्दै ओलीले बैठक बोलाए पनि दुईमध्ये एक पद छाड्नुपर्ने जस्ता माग थपिने सम्भावना देखेका छन्। यी सबै राजनीतिक विवादहरुको परिणाम सर्वोच्च अदालतको फैसलासँगै दृश्यावलोकनमा आउनेछ ।

संसद् विघटन लगायतका अन्य मुद्धाहरुको सुनुवाइ असार ९ गते बुधबार हुँदैछ।

 

प्रतिक्रिया