आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपचारका लागि भारत पुगेका झलनाथको स्वास्थ्य अवस्थाबारे आयो यस्तो जानकारी

प्रकाशित
695
SHARES

काठमाडौँ । उपचारका लागि भारत पुगेका पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे नयाँ जानकारी आएको छ । सचिवालयले नेता खनालको पूर्ण जटिल नभएको स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल लगायतमा नेता खनालको स्वास्थ्य अवस्था जटिल रहेको भन्ने टिकाटिप्पणी बाहिर आएपछि सचिवालयले खनालको स्वास्थ्य अवस्था पूर्ण जटिल नरहेको स्पष्ट पारेको हो ।

नेता खनालको सचिवालयका सदस्य कृष्ण भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई ज्वरो आएको कारण गत सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिए पश्चात डाक्टरहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि हिजो नै वँहालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट दिल्ली लगि अपोलो अस्पतालमा भर्ना गरिएको छ।

हिजो बाट नै वहाँलाई उपचार थालिएको छ। बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं।

यसैबीच उहाँको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्ण शुभेच्छुक र शुभचिन्तकहरुमा सचिवालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।’ स्वास्थमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका उनलाई हिजो थप उपचारका लागि दिल्ली लगिएको हो ।त्यस्तै नेता खनाल दिल्ली उडेपछि सार्वजनिक भएको उनको एउटा वक्तव्यले भने उनको आफ्नो राजनीतिक समूहमा खैलाबैला मच्चाईदिएको छ ।

के थियो खनालको वक्तव्यमा ?

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरेका थिए । स्वास्थ्य उपचारका लागी भारतको नयाँ दिल्ली जानु अघि खनालले एकता सफलताको र फुट विनाश बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए ।

रिस, राग, अहंकार र बदला भाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने उनको भनाइ छ । “पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सकेमा भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौँ,” उनले भनेका छन् ,“ त्यसैले टुट–फुट र विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौँ भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।”

खनालले एमाले पार्टी सयौँ शहीदको बलिदान, हजारौँ योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दुसम्म आइपुगेको बताउँदै “देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । दलहरू विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्,त्यही अन्तर सङ्घर्षको परा कम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा मा पर्‍यो र अहिले एमालेमा परिरहेको छ ।” भन्दै नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरुभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गरेका थिए ।

उनले सबै एकजुट भएर मुलुकका मूलभूत समस्या समाधान गर्न सबैलाई आग्रह गर्दै देशका प्रमुख दलहरू र तिनका नेताहरूबिचको अनावश्यक टकराब, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने भनाइ राखेका थिए

एमालेमा तरङ
उनको धारणा सार्वजनिक भए सङै नेकपा एमाले नै तरङित हुन पुगेको छ । अध्यक्ष ओली पक्षले यसलाई उत्साहित हुँदै प्रचार गरिरहेको छ भने माधव-खनाल पक्षले खनालको नाममा ओली पक्षले नै वक्तव्य निकालेको आरोप लगाएको छ ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले खनालको श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न नसकिने बताएका छन् । उनले खनाल प्लेन चढी सकेपछि वक्तव्य आउनु आफैमा रहस्यमय भएको धारणा समेत व्यक्त गरेका छन् ।
अर्का एमाले नेता विजय पौडेलले पनि झलनाथ खनालको नाममा अरूले वक्तव्य निकालेर फट्याईं गरेको बताएका छन् । ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन् । यस्तो फट्याइँ नगरेको बेस’ उनले ट्वीटरमा लेखेका छन् ।

खनालको धारणाले माधव समूहलाई केही हद सम्म रक्षात्मक बनाइदिएको एमालेका एक जना युवा नेता बताउँछन् । उनको धारणामा थप स्पष्ट हुन उनैलाई कुर्नुपर्ने बाहेक अर्को कुनै उपाय छैन ।

प्रतिक्रिया