आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जापान र मलेसियासहित उडान खोल्ने सरकारको निर्णय

प्रकाशित
550
SHARES

काठमाडौँ । सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशहरुमा हवाई उडान फेरि संचालन गर्ने निर्णय पनि गरेको छ ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन्। बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय पनि भएको छ । अब कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ।

यस्तै गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा निर्देशन दिँदै ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने निचोड निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य मानिएको खोप आयातमा थप गृहकार्य भइरहेको पनि जनाइएको छ । थप ४० लाख डोज खोप ल्याउने तयारी भइरहेको जनाइएको छ । उक्त खोप समयमै आइपुगे आगामी साउनदेखि सो खोप लगाउन थालिने जनाइएको छ ।

प्रतिक्रिया