आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सभामुखलाई मुख्यमन्त्री बनाउने तयारी, प्रचण्ड तनावमा

प्रकाशित
1.2K
SHARES

काठमाडाैँ ।   सुदुरपश्चिममा आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य थालेका हुन् ।

त्यस्तै सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये एमालेका सभामुखसहित २५ जना छन् । सभामुखले राजीनामा दिएर आउँदा एमालेलाई बहुमतका लागि दुई सिट मात्रै अपुग हुन्छ । सभामुख माधव नेपाल पक्षका हुन् ।

सभामुख बाहेकका २४ जनामध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना छन् । अहिले प्रदेशमा माओवादी केन्द्रका १३ , नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

आइतबार प्रदेश एक र बागमतीको एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमालेको दुबै पक्ष एकमत भएर पारित गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशमा आइतबार ओली पक्षका प्रदेशसभा सदस्यहरूले विरोध जनाए । अन्य प्रदेशमा एमालेको दुई पक्षबीच एकता देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा पनि एकताको लागि आन्तरिक छलफल सुरु भएको छ ।

१३ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको बेला एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने आन्तरिक तयारी थालेको हो । विगतमा माधव पक्षबाट संसदीय दलका नेता प्रकाश शाह वा पूर्व प्रमुख सचेतक तारा लामा तामाङलाई मुख्यमन्त्री बनाउने बिषयमा छलफल भएको थियो ।

उता ओली पक्षबाट पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । तर, दुबै पक्षले एकले अर्कालाई स्वीकार नगर्दा अहिलेसम्म एमालेको सरकार बन्न सकेन ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने बिषयमा आन्तरिक छलफल भइरहेको एमाले स्रोतले बतायो ।

‘सभामुख थापा नेपाल पक्षका भए पनि ओली पक्षका सांसदहरू उनलाई स्वीकार गर्न तयार देखिएका छन्, यस बिषयमा नेपाल पक्षका केहफ सांसदहरू सकारात्मक देखिएका छन्,’ एमाले स्रोतले भन्यो, ‘सभामुख थापा मुख्यमन्त्री बन्ने अवस्था आयो भने मात्रै सुदूरपश्चिममा एमाले एकढिक्का हुन सक्छ ।’

सभामुख थापाले राजीनामा दिएपछि एमालेका २५ सांसद गणना हुने छन् । जसपाका २ जना सांसदसहित २७ जानको बहुमतले सरकार बन्न सक्ने गरी छलफल भएको छ । जसपा भित्रका २ सांसद राजेन्द्र महतो निकट भएको हुँदा एमालेको गठबन्धनमा उनीहरूलाई पनि ल्याउन सहज हुने एमालेको बुझाइ छ ।

एमालेको उक्त तयारीपछि माओवादी केन्द्रलाई ठूलो झड्का लाग्ने भएको छ । यता कर्णाली प्रदेशका पूर्वमन्त्री प्रकाश ज्वाला एमालेमै फर्किएका छन् । उनी मंगलबार भएको कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । यसअघि हृवीप उल्लंघनको आरोपमा कारबाहीमा परेका थिए ।

उनले पार्टीको निर्देशनविपरित नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीका उम्मेदवार महेशन्द्रबहादुर शाहीलाइ विश्वासको मत दिएका थिए। पार्टीले कारबाही गरे पनि महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भनेर सर्वोच्च अदालतले आदेश दिएपछि उनीहरू एमलेमै फर्किएका छन् ।

उता केन्द्रमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको फैसला गर्ने तयारी गरेका बेला सत्तारुढ दल नेकपा एमाले र ९नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र पक्ष० विपक्षी गठबन्धनमा अबको राजनीतिक मोडबारे चिन्ता बढेको छ । यसै सन्दर्भमा सोमवार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगे ।

कोटेश्वर पुग्नेबित्तिकै सभापति देउवाले नेता नेपाललाई केपी शर्मा ओलीसँग के कुरा भएको हो, प्रष्ट पार्न आग्रह गरे । कोटेश्वर स्रोतले देउवाको भनाइ उदृत गर्दै भन्यो, ‘ओलीसँग मिलेर जाने विषयमा तपाईको कुरा के हो, त्यो प्रष्ट हुनुपर्यो ।’

जवाफमा नेता नेपालले भने: ओलीसँग कुनै हालतमा मिल्न सकिंदैन । म विपक्षी गठबन्धनमै छु, विश्वस्त हुनुहोस् । देउवाले एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टी एकताका लागि निरन्तर संवादमा रहेको विषय पनि उठाएका थिए । तपाईंका पक्षमा रहेका नेताहरू ओलीसँग निरन्तर भेटघाटमा छन् भन्ने सुनिन्छ, देउवाले भने, ओलीले संविधानलाई नै धरापमा पार्ने गरी कदम चालिरहेका छन्, पार्टी एकताका नाममा त्यसको अपजस तपाईंले लिनु राम्रो हुँदैन ।

नेता नेपालले देउवालाई थप आश्वस्त बनाउन प्रयास गरिरहेका थिए । त्यतिकैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको इन्ट्री भयो । राजनीतिक घटनाक्रमको समीक्षा गर्दै छलफलमा सहभागी सबै नेताहरूले विपक्षी गठबन्धन अझ कसिलो गरी अघि बढ्नुपर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

‘हाम्रो गठबन्धनलाई विभाजित गराउन र एक अर्कामा अविश्वास पैदा गराउन धेरै मान्छेहरू परिचालित भएका छन्, प्रचण्डले आफ्नो कुरा राखे, ‘त्यसैले अविश्वास सिर्जना हुने काम हामी गर्दै नगरौं ।’

प्रचण्डले नेता नेपालतिर इंगित गर्दै भने, ‘ओलीले तपाईंलाई कमजोर बनाउन हदैसम्म प्रयास गरिरहेका छन् । आफू कमजोर हुँदा एकताको कुरा गर्ने र बलियो हुँदा कारवाहीको सिलसिला चलाउने ओलीको चरित्रप्रति सजगताका साथ कदम चलाउनुपर्छ ।’

छलफलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कासमेत सहभागी थिए । छलफललगत्तै सुदूरपश्चिममा एमालेको नेपाल पक्षले ओली पक्षका ७ जना सांसदलाई ७ देखि १५ दिनसम्म निलम्बित गरिदियो ।

एमाले संसदीय दलमा बहुमतमा रहेको नेता नेपालले सुदूरपश्चिममा ओली पक्षलाई कारवाही गरेर आफू विपक्षी गठबन्धनमै रहेको विश्वास दिलाउने प्रयास गरेपछि यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पनि डाकेर स्थायी कमिटी बैठक बोलाउने भएका छन्। यसअघि एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सारेका थिए।

अध्यक्ष ओलीले खनाल(नेपाल पक्षक सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार रहेको बताएका छन।

प्रतिक्रिया