आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री र कांग्रेसको चर्चा

प्रकाशित
280
SHARES

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि प्रदेशसभामा छलफल सुरु भएको छ । छलफलमा भाग लिएका सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिए भने विपक्षी सांसदले आलोचना गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा मुलुकको राजनीतिक घटनाक्रमबारे पनि धेरै छलफल भयो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य महेशदत्त जोशीले कठिन परस्थितिमा पनि विश्वासको मत प्राप्त गरेर सरकार जोगाउन सफल भएको भन्दै मुख्यमन्त्रीलाई बधाइ दिए ।

उनले ५ वर्षसम्म सरकारको नेतृत्व गर्न भट्टलाई सुझाव दिए । ‘सुरुमा तपाई मुख्यमन्त्री हुनेबेला ३९ मत पाउनुभएको थियो । अहिले ३० मत पाएपनि विपक्षमा मतदान गर्नेको संख्या घटाउन पनि सफल हुनुभएको छ,’ जोशीले भने, ‘यो तपाईंमा भएको कार्यकुशलताकै परिणाम हो । अहिले तपाईंलाई अपमानित शब्द प्रयोग गर्नेहरु पनि पछि हटेका छन् ।’

‘कांंग्रेस सरकारको नेतृत्व गर्न तयार छ’

विश्वासको मत पाएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसलाई समेत सरकारमा ल्याउने विषयमा छलफल गर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर नेकपा एमाले ओली समूहका प्रदेशसभा सदस्य लीलाधर भट्टले केही दिनअघि प्रदेशसभामै कांग्रेस पनि सरकारमा जान लागेको सुनेको भन्दै ‘अग्रिम बधाइ’ दिएका थिए ।

शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले सत्तामा जान रहर नभएपनि आवश्यकता परेमा सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको बताएका छन् ।

‘धेरै साथीहरुले कांग्रेस सरकारमा जाँदैछ भनेको कुरा सुनेँ,’ बोहराले भने, ‘म स्पष्ट पार्न चाहान्छु अहिले नै हामीलाई सत्तामा जान रहर छैन । प्रजातन्त्र, राष्ट्रियता र स्वाभिन बचाउनका निम्ति कांग्रेस सरकार चलाउन तयार छ ।’ नेकपा एमालेलाई लक्षित गर्दै उनले सकभर पार्टीभित्र झगडा गरेर आफूहरु नै कमजोर नबन्न सुझाव दिए ।

प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको अगामी वर्षको नीति तथा कार्यक्रम महत्वाकांक्षी भएकाले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । खासगरी नेकपा एमाले ओली पक्षीय प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममाथि कटाक्ष गरेका छन् । प्रदेशसभा सदस्य लीलाधर भट्टले सरकारले नीति तथा कार्यक्रममा राखेका महत्वकांक्षी कार्यक्रमले बजेटमा निरन्तरता पाउनेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया