आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज फेरी कोरोना संक्रमितभन्दा निको हुने बढी, कति जनाको भयो मृत्यु ?

प्रकाशित
364
SHARES

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ९०१ जनाको पीसीआर परीक्षणबाट २ हजार ८७४ र ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५ हजार २९३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ५९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पहिलो लहरमा भन्दा दोस्रोमा ‘दोबर सङ्ख्यामा चिकित्सकको मृत्यु’

नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दुईगुना डाक्टरहरूको ज्यान गएको तथ्याङ्कले देखाएको छ। सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको देखिए पनि खोपले यसलाई न्यूनीकरण गरेको नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बीबीसीलाई बताए।

“खोपका कारण धेरै चिकित्सकहरूको ज्यान जोगिएको अनुभव हामीलाई भएको छ। नत्र योभन्दा धेरै क्षति हुन्थ्यो,” उनले भने। “चिकित्सकहरूको हकमा पहिलो लहरको बेला कोभिडले छजना डाक्टरको निधन भएको थियो भने दोस्रो लहरमा करिब एक दर्जन डाक्टरको ज्यान गइसकेको विवरण हामीलाई प्राप्त छ,” नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बताएकाे बीबीसीले उल्लेख गरेकाे छ।

नर्सहरूले महामारीको प्रभाव अरूभन्दा पनि धेरै झेल्नुपरेको छ। “हालसम्म एक दर्जन नर्सहरूले ज्यान गुमाइसकेका छन्। दोस्रो लहरको समयमा चारजना नर्सको कर्तव्य पालनाको सिलसिलामा नै रोग सरेर निधन भएको छ,” नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईले बताइन्।

उनका अनुसार निधन भएकामध्ये कतिपय कामबाट अवकाश लिइसकेका वा अन्यत्रै रोग सङ्क्रमण भएर मृत्यु हुनेहरू पनि छन्। “त्यस्ता कतिपय मामिला हाम्रो रेकर्डमा नआएको पनि हुनसक्छ।’ गत वर्षको पहिलो लहरभन्दा यो वर्षको दोस्रो लहरको कोभिड महामारी नेपालको निम्ति निकै धेरै घातक रह्यो।

पहिलो लहरमा करिब तीन हजार मानिसको ज्यान गएको थियो भने जारी दोस्रो लहरमा ज्यान गुमाउनेहरूको सङ्ख्या झन्डै तेबर पुग्न लागिसक्यो। पहिलो लहरमा भन्दा दोस्रो लहरको बेला निकै उच्च दरमा सङ्क्रमण फैलियो र गाउँगाउँसम्म पुग्यो।

अस्पतालमा सघन उपचार तथा भेन्टिलेटरको आवश्यकता पर्नेहरूको सङ्ख्यासमेत कैयौँ गुना बढ्यो। नेपालले माघको दोस्रो सातातिरै कोभिड-१९ विरुद्ध खोप अभियान थालेको थियो। पहिलो चरणमा चिकित्सक एवं नर्सहरूसहित स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको थियो।

स्वेच्छाले नलगाउने थोरैबाहेक अधिकांश चिकित्सक तथा नर्सहरूले खोप लगाइसकेको चिकित्सक तथा नर्सहरूको सङ्घको भनाइ छ। नर्सिङ सङ्घकी अध्यक्ष राईले पनि अधिकांश नर्सहरूले खोप लगाइसकेकोले निकै हदसम्म त्यसले सुरक्षा प्रदान गरिरहेको बताइन्।

“बुझेअनुसार कतिपय पहिलो लहरमै सङ्क्रमित भएका नर्सहरूलाई पनि फेरि सङ्क्रमण भएको पाइयो। तर खोप लगाएकाहरूमा रोगले धेरै नच्यापेको नै पाइयो,” उनले भनिन्।

नेपालमा करिब १७-१८ हजारजति सक्रिय चिकित्सकहरू रहेको र झन्डै १२ हजारजति त सङ्घकै सदस्य रहेको डा. रिजालले जानकारी दिए। त्यस्तै नर्सिङ परिषद्‌मा आबद्ध नर्सको सङ्ख्या ९७ हजार रहेको राईले बताइन्।

कोभिडको दोस्रो लहरमा निकै धेरै बिरामीहरूलाई कसैलाई अक्सिजन चाहिने त कसैलाई सघन उपचार नै चाहिने अवस्था उत्पन्न भएको थियो। त्यस्ता बिरामीलाई आवश्यक पर्ने सघन उपचार विधिबारे सबै चिकित्सक वा स्वास्थ्यकर्मी तालिमप्राप्त हुँदैनन्।

“त्यसैले हामीले यस पटक भर्चूअल माध्यमबाट हजारौँ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिडमा आवश्यक पर्ने सघन उपचारको तालिम पनि दियौँ,” डा. रिजालले बताए।

विश्व स्वास्थ्य सङ्गठन तथा सरकारको सहयोगमा दिइएका त्यस्ता तालिममा बिरामीलाई अक्सिजन व्यवस्थापन, गम्भीर बिरामीको व्यवस्थापन, प्रोनिङ (बिरामीलाई घोप्टो पारेर राख्ने विधि) एवं कस्ता औषधि कतिखेर दिने भन्ने प्रोटोकलबारे जानकारी दिइएको बताइएको छ।

“देशभरिबाट निकै माग भएकाले हामीले स्वास्थ्य सहायक, स्टाफ नर्स एवं प्यारामेडिकसहित करिब १२ हजार स्वास्थ्यकर्मीहरूलाई यो तालिम दिएका छौँ,” उनले भने।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार विज्ञप्ति निकालेर कोरोना महामारीको दोस्रो लहरजस्तै तेस्रो र चौथो लहर आउने सक्ने र त्यतिबेला बालबालिका बढी मात्रामा प्रभावित हुने जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा त्यति बेला बालबालिकाको संक्रमणको दर बढ्न सक्ने हुनाले अस्पतालहरूले स्वीकृत शय्यामा कम्तीमा २० प्रतिशत कोभिड संक्रमित बालबालिकाको उपचारका निम्ति प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

अन्य देशको तुलनामा पनि बालबालिका संक्रमित हुने दर नेपालमा उच्च देखिन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार अमेरिकामा कुल संक्रमितमध्ये बालबालिका १३ प्रतिशत हाराहारी छन् । जबकि नेपालमा पछिल्लो एक साता कुल संक्रमितमध्ये बालबालिका १५ प्रतिशतभन्दा धेरै छन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाले कोभिडको पहिलो लहरमा कुल संक्रमितमध्ये २ देखि ३ प्रतिशत मात्रै बालबालिका देखिएकामा पछिल्लो लहरमा उल्लेख्य वृद्धि भएको बताए । ‘एक सातायता संक्रमणको दर स्थिर देखिए पनि बालबालिकाको हिस्सामा उल्लेख्य कमी आएको देखिँदैन,’ उनले भने, ‘बरु संक्रमित भएर निको भइसकेका बालबालिकामा मल्टिसिस्टम इनल्यामेटरी सिन्ड्रोम (एमआईएससी) देखिने गरेको बताए ।

डा. बिच्छाका अनुसार कोभिड संक्रमणमुक्त भएको एक देखि डेढ सातापछि बालबालिकामा शरीरका दुई वा दुईभन्दा धेरै अंग संक्रमित हुने जोखिम देखिएको छ । हार्वर्ड मेडिकल स्कुलका अनुसार दुई दिनभन्दा बढी लगातार उच्च ज्वरो आउनु, आँखाको सेतो भाग रातो देखिनु, पेट दुख्नु, बान्ता वा पखाला चल्नु, घाँटी दुख्नु, जिब्रो अस्वाभाविक रातो देखिनु, निन्द्रा राम्रो नपर्नु र मांसपेशी दुख्नु जस्ता समस्या एमआईएससीमा देखिने गर्छ ।

प्रसिद्ध ‘जर्नल ल्यानसेट चाइल्ड एन्ड एडोलेसेन्ट’ मा गत वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्ममा गरेको अध्ययन प्रतिवेदनअनुसार एमआईएससीको उपचार सकिएको ६ महिनापछि पनि एक तिहाइ बालबालिकामा लगातार मांसपेशी कमजोर हुने, थकान लाग्ने र मानसिक स्वास्थ्यसम्बन्धी अप्ठ्यारा देखा पर्ने गरेको पाइएको थियो ।

डा. बिच्छाका अनुसार संक्रमण दर उच्च भएर ओरालो लाग्न थालेको साता दिनपछि एमआईएससीका लक्षण भएका बालबालिका अस्पतालमा भर्ना हुने दर बढ्ने देखिन्छ । उनले अघिल्लो लहरमा पनि संक्रमण उच्च भएको एक सातापछि यस्ता बिरामीको संख्या अस्पतालमा बढेको सुनाए ।

‘सोमबार मात्रै अस्पतालमा एमआईएससी भएका तीन र मंगलबार दुई बालबालिका भर्ना भए,’ उनले भने । कान्ति बाल अस्पतालमा अहिले १६ जना संक्रमित बालबालिका उपचाररत छन् । ‘भर्ना भएकामध्ये ९० प्रतिशतभन्दा धेरै बालबालिकामा संक्रमणको सामान्य लक्षण मात्रै देखिएको छ,’ उनले भने, ‘अभिभावकले जनस्वास्थ्यको नियम पालना गरेनन् भने बालबालिका संक्रमण हुने दर बढ्छ ।’

प्रतिक्रिया