आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली र नेपाल पक्षबीच के के भयो कुराकानी ?

प्रकाशित
434
SHARES

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली वक्तव्य र वरिष्ठ नेता माधवकुमार नेपालको प्रति–वक्तव्यले नेकपा एमालेको एकता प्रयासमाथि प्रश्न उठेका बेला दोस्रो तहका नेताहरुबीच वार्ता भएको छ ।

मंगलबार साँझ होटल समिटमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्वाद भएको थियो । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए । दोस्रो तहका नेताहरुबीच भइरहेको एकता सम्वादमा आचार्य पहिलो पटक सहभागी भएका हुन् ।

एक नेताका अनुसार छलफलका क्रममा अध्यक्ष ओली र नेता नेपालको वक्तव्यबारे एकअर्को पक्षले गुनासो गरेका थिए । ओली पक्षले २०७५ जेठ ३ पूर्व फर्किने प्रतिवद्धता जनाए पनि सहमतिमा नआएको ओली पक्षको गुनासो थियो । नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओलीको प्रस्तावमा थप प्रष्टता खोजेका छन् ।

मंगलबार भएको छलफलमा पनि ओली पक्षका नेताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने जोड दिएका छन् । तर नेपाल पक्षका नेताहरुले नेता नेपालको वक्तव्यमा झै संसद विघटनपछि रिट गएकाले विघटन फिर्ता भए हस्ताक्षर पनि स्वतः फिर्ता हुने बताएका थिए ।

यद्यपि छलफल सकारात्मक रहेको दुबै पक्षका नेताहरुले बताएका छन् । छलफलमा सहभागी नेपाल पक्षका एक नेता भन्छन्, ‘यो पार्टीलाई कसरी एकतावद्ध गराउने भनेर भइरहेको छलफलकै निरन्तरता हो । र सकारात्मक छ ।’

नेता सुवास नेम्वाङले पनि सम्वाद जारी रहने बताए । भेटबारे अनलाइनखबरलाई छोटो प्रतिक्रिया दिएका उनले भने, ‘पार्टी एकताका लागि हाम्रो बीचमा निन्तर सम्पर्क छ र यो जारी रहन्छ ।’

यस्तै नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पार्टीका शीर्ष नेताकै गतिविधि एकतामा बाधक भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओली पार्टीका बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर राजेन्द्र महत्तोसँग सत्ता साझेदारी गर्न तयार हुने तथा बरिष्ठ नेताहरू नेपाल र खनाल ओलीसँग नमिल्ने तर शेरबहादुर देउवा र प्रचण्डसँग मिल्ने भन्दै प्रश्न गरेका छन् ।

उनले समस्याको मूल जड यही रहेको भन्दै कसले र किन गरिरहेको भन्दै प्रश्न गरेका छन् । पार्टीको एकता जोगाउन यस विषयमा गम्भीर छलफल हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया