आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण : राउटे बस्ती सिल, प्रहरीले बढायो निगरानी

प्रकाशित
443
SHARES

काठमाडौँ । पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि बस्ती शील गरिएको हो । बस्तीमा थप घटना हुन नदिन बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ । केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो । सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग भएको छ ।

यस्तै मदिरा सेवन गराई राउटे युवतीमाथि होटलमा यौन दुर्व्यवहार गरेको आरोपमा तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा​ किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीका अनुसार मानव ओसारपसार, यौन दुर्व्यवहार र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउन किटानी जाहेरी परेको हो ।

१९ र २३ वर्षकी राउटे युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुन विरुद्ध जाहेरी परेको हो । प्रवक्ता घर्तीकाअनुसार उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेका छन् ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो । सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्र्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्ने सक्ने देखिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न वाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ ।’

यसअघि पनि ती दुई युवतीहरूलाई राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाएको अनुगमनबाट जानकारी प्राप्त भएको आयोगको दाबी छ । आयोगले पीडित युवतीहरूको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरेको थियो ।

ती युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया