आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चौतर्फीको चर्को आलोचना पछि राजेन्द्र महतोले चाले यस्तो कदम विज्ञप्तिसहित

प्रकाशित
464
SHARES

काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपाका वरिष्ठ नेता तथा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् ।

शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो विषय पार्टीको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उनले बताएका छन् ।
यसअघि महतोले शुक्रबार शपथ लगत्तै  अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए । सोही कुरा उनले पदभार ग्रहणका क्रममा पनि बताएका थिए । उनको अभिव्यक्तिलाई लिएर अहिले चर्को विरोध भइरहेको छ ।

यस्तै नेकपा एमालेको माधवकुमार नेपाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ ।

शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता महतोले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो । ‘बहुल राष्ट्रिय राज्य बनाउने मुक्ति आन्दोलन शुरु गर्छु भन्ने अभिव्यक्ति संविधानको धारा ३ विपरीत छ । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

शुक्रबार शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उप्रप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य निर्माणको मुक्ति आन्दोलन चलाउने बताएका थिए ।

महतोको यो अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी भएको निष्कर्ष नेपाल समूहको बैठकले निकालेको छ । माधव समूहका १८ जनसंगठनले पनि संयुक्त वक्तव्य जारी गरेर महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । वक्तव्यमा महतोले संविधान विरोधी अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्री ओलीको मौनता र अनभिज्ञताप्रति आश्चर्य समेत प्रकट गरिएको छ ।

‘हामीलाई विश्वास थियो, प्रधानमन्त्री ओली आफ्नो संविधानको मूल्य र संविधानप्रतिको आफ्ना पूर्व अडानहरुबाट विचलित र च्यूत हुनुभएको छैन । तर यो मौनता र अनभिज्ञताले हाम्रो विश्वासलाई खण्डित गरिरहेको छ,’ वक्तव्यमा उल्लेख छ ।

यस्तै उपप्रधानमन्त्री बनेको २४ घण्टा नबित्दै जसपाका नेता राजेन्द्र महतोलाई ठुलो झट्का लागेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरेको छ । शनिबार नयाँ पार्टी, नेपालले कामचलाउ सरकारमा सहभागी भइ उच्च ओहदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

“महतोलाई २४ घन्टाभित्र उपप्रधान एवम् सहरी विकासमन्त्रीबाट निलम्बन गरी निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानबिन गरी आवश्यक कारबाही गरी देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्दा लगाइ देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ,” पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यदि सरकारले उक्त कदम नचालेको खण्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्म सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता युवराज सफलद्वारी हस्ताक्षर विज्ञप्तिमा जनाएको छ ।

साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्दा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावनाविपरीत कदम रहेको पार्टीको ठहर छ । यस्तै, असंवैधानिकरुपमा संसद् विघटन गरी निर्वाचनसमेत घोषणा गरिसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

एमाले नेता गोकर्ण विष्ट र योगेश भट्टराईले उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताएका थिए।

उनले दिएको अभिव्यक्तिको भिडिओ सार्वजनिक भएपछि विष्टले आपत्ति जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विष्टले महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेको बताएका छन्।

महतोले पदभार ग्रहण गर्दा सरकारमा सहभागी हुनुको कारण र पार्टीका एजेन्डा सुनाएका थिए। त्यसक्रममा उनले वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार, पहिचान, सुशासन र समृद्धिको सवालहरू अगाडि बढाउने बताउँदै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ भनेका थिए।

‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधानविरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,’ विष्टले लेखेका छन्।

यस्तै, भट्टराईले पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुल राज्यको बहसको संकेत राम्रो नरहेको बताएका छन्। यसले देशलाई फेरि द्वन्द्वतिर फर्काउने भट्टराईले बताएका छन्।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ संविधानको धारा ३ को परिभाषा उल्लेख गर्दै भट्टराईद्ये भनेका छन्, ‘अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो।’

यस्तै, एमाले नेता वामदेव गौतमले पनि महतोको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नागरिकका निम्ति स्वीकार्य हुन नसक्ने उनले बताएका छन्। प्रधानमन्त्री केपी ओलीले महतोको अभिव्यक्ति सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको गौतमले बताएका छन्।

प्रतिक्रिया