आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले संसारभरी विध्वंस मच्चाएको भन्दै ट्रम्पले मागे १० ट्रिलियन डलर, अब के गर्छ त चीन

प्रकाशित
490
SHARES

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले एकपटक पुनः कोरोनाभाइरसको विषयमा चीनमाथि निशाना साँधेका छन् । कोरोना  भाइरसको ल्याब लीक थ्योरीमाथि बढ्दो चर्चाका बीच ट्रम्पले भने, ‘अब सबैले, यहाँसम्म कि तथाकथित दुश्मनले पनि मान्न थालेका छन् कि ट्रम्प चाइना भाइरस ऊहानको ल्याबबाट लीक भएको विषयमा सही थिए ।’

ट्रम्पले भनेका छन्, ‘चीनले अमेरिका र संसारभरी जति विध्वंस मच्चाएको छ त्यसका लागि उसले १० ट्रिलियन डलर क्षतीपूर्ति दिनुपर्छ ।’ उनले आफ्नो बयानमा भने, ‘डाक्टर फाउची र चीनबीच जे जति कुराकानी भएको छ, त्यसलाई कसैले पनि नजरअन्दाज गर्न सम्भव छैन ।’

पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसलाई ‘चिनियाँ भाइरस’ र ‘ऊशान भाइरस’ भन्ने गर्छन् । चीनले यो विषयमा कडा आपत्ति जताएको थियो र यसलाई जातीवादी बताएको थियो ।

यस वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठनको एक समूह महामारीसँग सम्बन्धित तथ्यबारे पत्ता लगाउन ऊहान गएको थियो । यद्यपि, मार्चमा आफ्नो रिपोर्ट जारी गरेर डब्ल्यूएचओले कोरोनाभाइरस ऊहानको प्रयोगशालाबाट संसारभरी फैलिएको थियो भन्ने कुरालाई पुष्टि गर्न पर्याप्त तथ्य फेला नपरेको बताएको थियो ।

चीनमाथि अनुसन्धानमा विश्व स्वास्थ्य संगठनको समूहलाई सहयोग नगर्न र ऊहान प्रयोगशालासँग सम्बन्धित जानकारी लुकाएको आरोप पनि लागिरहन्छन् । बीबीस

यस्तै नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावीसहित बेलायती पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन शुक्रबार बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेको बताए ।

‘बेलायती सञ्चारमाध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दावी गरिएको रहेछ । तर यसबारे हामीलाई कुनै जानकारी छैन,’ उनले भने, ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्यचकित भएका छौं ।’ बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए ।

‘हामी आफैं यसबारे अनभिज्ञ छौं । बेलायतले जानकारी गराए अनुसार यहाँबाट गएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं । नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन’ डा. पौडेलले भने । डेल्टा (बी.१.६१७.२) भेरियन्ट भने भारतमा पत्ता लागेको र नेपालमा पनि फैलिएको भेरियन्ट हो ।

नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत उनले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेल भन्छन्, ‘भेरियन्टबारे पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको छ, तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा छैन ।’

डब्लूएचओले के भन्यो ?

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो ।

बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ भेरियन्टमा कोरोना संक्रमण भेटिएको भन्दै समाचार प्रकाशित गरेको थियो । डेली मेलले बिहीबारको संस्करणमा ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो ।

डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ । नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ ।

तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ । डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्‍जालमा लेखेको छ, ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।’

डब्लूएचओले हालै मात्र भाइरसका भेरिएन्टलाई देशको नामसँग जोडेर नकारात्मक टिप्पणी गर्ने गरिएकाले नयाँ नाम दिएको छ । यूके, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका, फिलिपिन्स र भारतमा पहिलोपटक देखिएका भेरिएन्टलाई डब्लूएचओले ग्रीक भाषाका अक्षरबाट नयाँ नाम दिएको हो । यूकेमा देखिएको भेरिएन्ट बी.१.१.७ लाई अल्फा नामकरण गरिएको छ । उक्त भेरिएन्ट सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक देखिएको हो । त्यस्तै, दक्षिण अफ्रिकामा २०२० को मेमा पहिलोपटक देखिएको भेरिएन्ट बी.१.३५१ लाई बिटा नाम दिइएको छ ।

त्यसैगरी, डब्लूएचओले ब्राजिली भेरिएन्ट पी.१ लाई गामा नाम दिएको छ भने भारतीय भेरिएन्ट बी.१.६१७.२ ले डेल्टा नाम पाएको छ । ब्राजिली र भारतीय भेरिएन्ट गत वर्षको नोभेम्बर तथा अक्टोबरमा पहिलोपटक देखिएका थिए ।

भारतमा देखिएको नयाँ भेरियन्ट ( बी.१.६१७.२) लाई गत महिना ‘भारतीय भेरिएन्ट’ को नाम दिइएपछि भारत सरकारको निकै आलोचना भएको थियो । ‘कुनै पनि देशलाई भाइरसको भेरिएन्ट देखिएका आधारमा कलंकित पार्नु हुँदैन,’ डब्लूएचओको कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले ट्वीटरमा लेखेकी छन् ।

भारतमै देखिएको अर्को भेरिएन्ट बी.१.६१७.१ लाई भने काप्पा नाम दिइएको छ भने ब्राजिलको अर्को भेरिएन्ट पी.२ ले जिटा नाम पाएको छ । फिलिपिन्सको पी.३ लाई थिटा तथा अमेरिकामा देखिएका बी.१.५२६ लाई आयोटा र बी.१.४२७/बी.१.४.२९ लाई एप्सिलन नाम दिइएको छ । त्यस्तै विभिन्न देशहरूमा देखिएको पी.३ लाई भने डब्लूएचओले इटा नाम दिएको छ ।

ब्ल्याक फंगस संक्रमणबाट धनगढीमा एकको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । ‘ब्ल्याक फंगसको लक्षण देखिएका आधारमा उनको उपचार भइरहेको थियो,’ उनले भने, ‘अस्पतालका डा. शेरबहादुर कमर, डा. अशोक श्रीपाइली, निशान भट्टराई र ईएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न थियो ।’ श्रेष्ठका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

यसअघि ती व्यक्तिमा कोरोना भएको कुनै संकेत नदेखिएको र उनले पनि यसबारे केही नबताएको सूचना अधिकारी श्रेष्ठले बताए । उनको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

कस्ता व्यक्तिलाई ब्ल्याक फङ्गस लाग्छ ?

म्यूकोर्माइकोसीस (Mucormycosis) नामक फंगाइका कारण हुन्छ । दीर्घरोगी तथा पुनः बिरामी भएका, शरीरको प्रतिरोधी प्रणालीलाई कमजोर बनाउने औषधीहरु सेवन गरिरहेका, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई म्यूकोर्माइकोसीस तथा कालो ढुसी संक्रमण हुने आईओएमका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।

कालो ढुसी शरीरको कुनै पनि हिस्सामा लाग्न सक्छ । कोरोना संक्रमितहरुले स्टेरोइड र टोसिलिजुमाव इन्जेक्सनको अत्याधिक मात्रा प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले संक्रमितमा कालो ढुसीपनि देखिएको उनले बताए । कोरोना संक्रमित त्यसमाथि मधुमेह भएका व्यक्तिलाई विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

‘संक्रमितमा सुगरको लेभल बढ्दा शरीर कमजोर हुन्छ,’ उनी भन्छन्, ‘अस्पतालमा मधुमेह भएका व्यक्ति, संक्रमित भएर होम आइसोलेशनमा बसेका थप समस्या आउनसक्छ, त्यसैले कालो ढुसीबाट जोगाउनका लागि दीर्घरोगी तथा मधुमेहका बिरामीलाई निगरानीमा राख्नुपर्छ ।’

कोभिड बिरामीसँगै दीर्घरोगी जस्तै क्यान्सर, मृगौला, मुटु, अंग प्रत्यारोपण गर्ने, क्यान्सरको उपचार गराइरहेकाहरुमा फङ्गस अर्थात (कालो ढुसी) उच्च जोखिम रहेको डा. बम बताउँछन् । यो रोग कुनै पनि उमेर समूहका व्यक्तिका लागि जोखिम रहेको उनले सुनाए ।

कसरी सर्छ कालो ढुसी ?

शरीरमा कालो ढुसीको संक्रमण भएपछि पहिचान गर्न नसकेको खण्डमा ५० प्रतिशतको ज्यान जाने खतरा उच्च रहेको अध्ययनले देखाएको डा. बमको भनाइ छ । वातावरणमा फङ्गस अर्थात (कालो ढुसी जहाँ सुकै हुन सक्छ । जस्तै जमिन र सढेका कुनै वस्तुमा, पात–पतिङ्गर, कुहिएका सडेका दाउरा, कम्पोस्ट खादमा हुन सक्छ । हावाको माध्यमबाट ब्ल्याक फङ्गस सर्छ । श्वासको माध्यमबाट वातावरणमा रहेको ब्ल्याक फङ्गस शरीरमा पुग्छ ।

फोक्सोमा पनि ब्ल्याक फङ्गसले श्वासप्रश्वासको माध्यमबाट क्षति पुर्याउन सक्छ । शरीरमा कुनै घाउ वा जलेको भए त्यहाँबाट संक्रमण शरीरका विभिन्न भागमा सक्रमण फैलन सक्छ । कालो ढुसी शरीरको जुन क्षेत्रमा पनि लाग्न सक्छ । जहाँ कालो ढुसी लाग्छ त्यहाँको भाग काम नलाग्ने बनाउन सक्छ ।

जस्तै अहिलेसम्म नाम, मुख, आँखाको वरिपरिको भागमा कालो ढुसी लागेको देखिएको छ । भारतमा कालो ढुसी आँखा वरिपरि लाग्दा आँखा नै निकाल्नुपर्ने अवस्था सिर्जना भएको उनीले सुनाए । आँखाको ज्योति समेत गुम्नसक्छ । यो टाउकोमा भयो भने ब्रेन ट्युमर लगायतका रोग लाग्छ । समयमै उपचार भएन भने दिमागसम्म पुगेको कालो ढुसीले मृत्युको संख्या उच्च रहेको उनी बताउँछन् ।

ब्ल्याक फङ्गस शरीरको जुन हिस्सामा संक्रमण हुन सक्छ । संक्रमणको आधारमा लक्षण देखिने गर्छ । जस्तै ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द हुने, बान्ता तथा उल्टी आउने, छाती दुख्ने, अनुहारको एकपट्टिको भाग फुलिने, नाकमा कालोकालो घाउ देखिने हुन्छ । सामान्यतया कोरोना संक्रमणको लक्षण देखिएको २ देखि ४ हप्तासम्म कालो ढुसीको समस्या देखिन्छ । कोलो ढुसीको संक्रमण भएको १० देखि ६० दिनसम्म पनि समस्या देखिरहन सक्ने वरिष्ठ रोग विषेशज्ञ डा. बम बताउँछन् ।

प्रतिक्रिया