आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जातीय छुवाछुत राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो लेखे

प्रकाशित
524
SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको बताएका छन् ।

जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले भने, ‘आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन् । संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन् ।’

उनले सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको बताए । ‘सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता छ,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ ।

उनकाअनुसार सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ ।
जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा प्रचण्डले जोड दिए । उनले स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न सबैमा अपिल गरे

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सांसद विष्णुलाल तामाङ (एल वाइबा) को निधनप्रति दुःख व्यक्त गरेका छन् । उच्च रक्तचाप र मधुमेहबाट पीडित कमरेड वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा यही जेष्ठ २० गते साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको हो ।

‘वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको प्रचण्डले बताए । कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको छ । सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय हुनुहुन्थ्यो,’ प्रचण्डले सम्झेका छन् ।

वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उनप्रति प्रचण्डले श्रद्धा सुमन प्रकट गरेका छन् ।

स्थानीय सामन्तविरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरे तामाङ २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौ.म.)को केन्द्रीय सदस्य भएका थिए ।

२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी) बीचको एकीकरणपछि केन्द्रीय सदस्य हुँदै माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका थिए । उनका तीन छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया