आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खनाल – नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन एमालेको निर्देसन

प्रकाशित
399
SHARES

काठमाडौँ । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई भनेको छ । विहीबार विहान एमाले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान विपरितको क्रियाकलापमा सहभागी नहुन सूचित गराएका हुन् ।

खनाल- नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए। पार्टीले कारवाही गरेका खनाल नेपालले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै उनले निन्दा एवम् भत्र्सना गरे ।​

‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरिएको छ ।

यस्तै निर्वाचन आयोगले पार्टी निर्णयलाई प्रक्रिया पुर्‍याएर ल्याउन जनता समाजवादी पार्टी जसपा को दुवै पक्षलाई पत्र पठाएको छ। जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक दल सम्बन्धी ऐनमा रहेका अनुसूची अनुसार भरेर पठाउन आयोगले पत्राचार गरेको छ।

केही प्रक्रियाहरु नमिलेकाले त्यसलाई मिलाएर पठाउन आयोगले पत्र पठाएको भट्टराई-यादव निकटका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए।

‘अरु सबै कागजात हामीले कानुन अनुरुप आयोगमा बुझाएका छौं । नियमावलीको अनुसूची अनुरुपको फाराम नबुझाएको सत्य हो । हामीले फाराम ल्याइसकेका छौं । आयोगले हामीलाई पत्र पठाए पनि/नपठाए पनि हामीले छिटै बुझाउँछौं,’ उनले भने।

यादवले आयोगमा अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो तथा कार्यकारिणी समिति सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको पत्र मंगलबार पठाएका थिए । पत्रसहित यादवले पार्टीबाट कारबाही गर्न आवश्यक पर्ने केन्द्रीय कार्यकारिणी समितिको ८ र १७ जेठको बैठकका निर्णयको माइन्यूट, ११ र १५ जेठमा पठाइएका स्पष्टीकरण पत्रका प्रतिलिपि र स्पष्टीकरण पत्रको जानकारी इमेल र ह्वाट्सएपमार्फत पठाएको प्रमाणित स्क्रिनसट पठाएका थिए ।

त्यस्तै अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षलाई पार्टीले गरेका निर्णय सहितको सबै प्रक्रिया पुरा गर्न आयोगले पत्र पठाएको छ।

आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र पठाएको छ। अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराउँदै पार्टी दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाउन गरेको आग्रह गरेकोमा छानविन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उप नियमावलीको अनुसूची १८ को ढाँचा अनुसार प्रस्तुत गर्न पत्र पठाएको आयोगले भनेको छ।

आयोगले पार्टीले गरेका निर्णय लगायतका विषयलाई प्रक्रिया पुरा गरेर पठाउन भनेको ठाकुर-महतो निकटका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

जसपामा एक पक्षले अर्को पक्षलाई कारबाही गरेको छ। भट्टराई-यादव पक्षले ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको छ भने ठाकुर-महतो पक्षले यादवलाई हटाएको छ। दुवै पक्षले आफ्नो दावीसहित निर्वाचन आयोगमा मंगलबारै पत्राचार गरेका थिए।

आयोगले भट्टराई यादव पक्षलाई अनुसूचि अनुसार मिलाएर पठाउन भनेको छ। तर ठाकुर-महतो पक्षलाई भने स्पष्टिकरण सोधेको पत्र, बैठकको माइन्यूटलगायत मागेको छ। स्रोतका अनुसार ठाकुर-महतो पक्षले कारबाही गरेको पत्र मात्रै पठाएका थिए।

यस्तै लुम्बिनी प्रदेशको आज शुरू भएको बजेट अधिवेशनको पहिलो बैठकमा विपक्षी दलका सांसदहरु मुख्यमन्त्री शंकर पोखरेलमाथि खनिएका छन् ।

बैठकमा बोल्ने विपक्षी नेताहरुले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री पोखरेलको राजीनामा मागेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन आह्वान गरेको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएपछि शुरू भएको विशेष समयमा प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका संसादहरुले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरे ।

उनीहरुले नैतिकता भए नेकपा एमालेका नेता पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खुला गर्नुपर्ने बताए । कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले भने, ‘मुख्यमन्त्रीजीमा नैतिकता छ भने राजीनामा दिनुनुहोस् ।’ उनले संसद छलेर भागेका पोखेरलाई प्रदेश प्रमुखले फेरि मुख्यमन्त्री पदमा नियुक्त गरेर असंवैधानिक कदम चालेको आरोप लगाए ।

खानले एमाले नेता पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरेर बहुमत देखाएको आरोप लगाउँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्त भए पनि अहिले सरकारको स्वरूप उपधारा २ बमोजिमको बन्न पुगेको बताए ।

उनले विश्वसको मत लिएर देखाउन मुख्यमन्त्री पोखरेललाई चुनौती दिए । सोमबार लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनले पनि प्रदेश सरकार अल्पमतमा रहेको सन्देश दिएको उनको जिकिर थियो ।

जनता समाजवादी पार्टी (जसजा) संसदीय दलका नेता सहसराम यादवले नेकपा एमाले तलदेखि माथिसम्म गणतन्त्र समाप्त पार्न षड्यन्त्रमा लागेको आरोप लगाए । उनले आफ्नो दल बचाउन नसकेको एमालेले सरकार जोगाउन अर्को पार्टी फोर्ने काम गरेको आरोप लगाए । उनले पनि विश्वासको मत लिन वा राजीनामा दिन मुख्यमन्त्री पोखरेललाई सुझाब दिए ।

प्रतिक्रिया