आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकताको प्रयास र विभाजनको तयारीकाबीच एमालेमा आज छुट्टाछुटै बैठक, के छ सम्भावना

प्रकाशित
437
SHARES

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ ।

एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन् । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निकालेर ओली पक्ष एकताको प्रयास गरिरहेको छ । यद्यपि ओली पक्षबाट नेपाल पक्षका केन्द्रका १२ जना र सुदूरपश्चिमका १० जना नेतामाथि गरिएको कारबाहीको तयारी रोकिएको छ ।

ओली पक्षले नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास गरिरहेको छ । त्यसमा माधव नेपाल पक्षमा नेताहरु घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट लागि परेको देखिन्छ । उनीहरुले केही दिनयता ओली पक्षसँग निरन्तर छलफल गरिरहेका छन् ।

आफ्नो निर्देशन विना ओली पक्षसँग उनीहरुले गरिरहेको वार्ताप्रति असन्तुष्ट नेता खनाल र नेपालले आज केन्द्रीय कमिटीमा छलफल गरेर आगामी रणनीति बनाउने बुझिएको छ ।

दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन नचाहेको नेपालको बुझाइ छ।

यस्तै लुम्बिनी प्रदेशको आज शुरू भएको बजेट अधिवेशनको पहिलो बैठकमा विपक्षी दलका सांसदहरु मुख्यमन्त्री शंकर पोखरेलमाथि खनिएका छन् ।

बैठकमा बोल्ने विपक्षी नेताहरुले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री पोखरेलको राजीनामा मागेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन आह्वान गरेको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएपछि शुरू भएको विशेष समयमा प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका संसादहरुले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरे ।

उनीहरुले नैतिकता भए नेकपा एमालेका नेता पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खुला गर्नुपर्ने बताए । कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले भने, ‘मुख्यमन्त्रीजीमा नैतिकता छ भने राजीनामा दिनुनुहोस् ।’ उनले संसद छलेर भागेका पोखेरलाई प्रदेश प्रमुखले फेरि मुख्यमन्त्री पदमा नियुक्त गरेर असंवैधानिक कदम चालेको आरोप लगाए ।

खानले एमाले नेता पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरेर बहुमत देखाएको आरोप लगाउँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्त भए पनि अहिले सरकारको स्वरूप उपधारा २ बमोजिमको बन्न पुगेको बताए ।

उनले विश्वसको मत लिएर देखाउन मुख्यमन्त्री पोखरेललाई चुनौती दिए । सोमबार लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनले पनि प्रदेश सरकार अल्पमतमा रहेको सन्देश दिएको उनको जिकिर थियो ।

जनता समाजवादी पार्टी (जसजा) संसदीय दलका नेता सहसराम यादवले नेकपा एमाले तलदेखि माथिसम्म गणतन्त्र समाप्त पार्न षड्यन्त्रमा लागेको आरोप लगाए । उनले आफ्नो दल बचाउन नसकेको एमालेले सरकार जोगाउन अर्को पार्टी फोर्ने काम गरेको आरोप लगाए । उनले पनि विश्वासको मत लिन वा राजीनामा दिन मुख्यमन्त्री पोखरेललाई सुझाब दिए ।

यादवले कार्यव्यवस्था परामर्श समितिमा आफूलाई रोक लगाइएको भन्दै आक्रोश प्रकट गरेका छन् । उनले जसपाको संसदीय दलको नेता फेर्ने अधिकार कसैलाई नभएको जिकिर गरे । जसपाको नेता चुन्ने काम एमाले कार्यालयमा हुन नसक्ने उनको भनाइ थियो ।

यादवलाई दलको नेताको हैसियतमा कार्यव्यवस्था परामर्श समितिमा राख्दा एमालेले विरोध गरेपछि विवाद नमिल्दासम्म बैठकमा समावेश नगराइएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए ।

प्रदेशका पूर्वमन्त्री तथा सांसद सुर्दशन बरालले एमालेका नेता पोखरेलले नैतिकताका आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए । उनले मुख्यमन्त्रीले राजीनामा नदिए कानूनी र राजनीतिक प्रतिवाद गर्ने चेतावनी पनि दिए । बरालले मुख्यमन्त्रीलाई शपथ खुवाउन प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्रीको क्वार्टरमा पु¥याएको टिप्पणी गरे ।

सांसद वीरबहादुर रानाले कोभिड नियन्त्रणमा प्रदेश र केन्द्र सरकार कहाँ छन् भन्दै प्रश्न गरे । उनले सरकार जनताको सुरक्षाभन्दा सत्ता लम्बाउने षड्यन्त्रमा लागेको र संघीय शक्तिको आडमा अपरहण शैलीमा एमालेका नेता पोखरेल मुख्यमन्त्री नियुक्त भएको आरोप लगाए । उनले पनि राजीनामा दिएर नैतिकता देखाउन मुख्यमन्त्री पोखरेललाई सुझाब दिए ।

राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले सरकार अधिनायकवादी शैलीका कारण अल्पमतमा परेको टिप्पणी गरिन् । कांग्रेस सांसद शंकर गिरीले सरकारले लोकतान्त्रिक मूल्यमान्यता समाप्त पारेको र निर्वाचन आयोग नेकपा एमालेको विभागीय संस्था बनेको आरोप लगाए । उनले भने, ‘संसदलाई छल्न पाइँदैन, समृद्धिको यात्रामा सहकार्य र एकता चाहिन्छ ।’

अर्का सांसद इन्द्रजित थारुले नेकपा एमालेले सबैभन्दा ठूलो दलको अहङ्कारमा संविधान कुल्चेर निरङ्कुशता लाद्न खोजेको आरोप लगाए । उनले संविधान अनुसार विश्वासको मत लिएर बहुमत प्रमाणित गर्न मुख्यमन्त्री पोखरेललाई चुनौती दिए ।

प्रतिक्रिया