आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकारले तीन देशका लागि हवाई उडान खुला गर्यो, नेपाल आउँदा पालना गर्नुपर्ने नियम केके हुन् ?

प्रकाशित
550
SHARES

काठमाडौँ । सरकारको निर्णयनुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो।

“टर्किश एअरलाइन्सले बिहीवारबाट उडान गर्नका लागि आवेदन नै दिइसक्यो। अब नेपाल एअरलाइन्स र चिनियाँले दिन्छन्,” उनले भने। प्रवक्ता क्षेत्रीका अनुसार यसै साताबाट तीनवटै स्थानमा उडान सुरु हुनेछ।

बिहीवार बसेको मन्त्रिपरिषद्‌को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो।

यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल-भारतबीच हप्तामा एक-एकवटा उडान गर्दै आएका छन्।त्यसबाहेक आन्तरिकका साथै अन्तर्राष्ट्रिय नियमित उडानहरू अहिले स्थगित छन्। कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको प्रयासमा चालिएका प्रतिबन्धात्मक कदमसँगै वैशाख तेस्रो सातादेखि नियमित उडानहरू पनि रोकिएका छन्।

नेपाली र विदेशी नागरिकका लागि नयाँ मापदण्ड
सङ्क्रमण नियन्त्रण तथा रोकथाममा प्रतिकूल असर नपर्नेगरी नेपाल आउने नेपाली र विदेशी नागरिकको आवागमन व्यवस्थित गर्न भन्दै सरकारले सोमवार नयाँ मापदण्ड जारी गरेको छ। मन्त्रिपरिषद्ले जारी गरेको मापदण्डमा आवतजावतदेखि होटल क्वारन्टीन र होम क्वारन्टीसम्मका विषय समेटिएका छन्।

मुख्य बुँदा यस्ता छन्ः – पछिल्लो ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र १० दिनका लागि होटल बुकिङ गरेको प्रमाणका आधारमा नेपाल आउने अनुमति पाइने , – नेपाल आइसकेपछि आफ्नै खर्चमा १० दिन अनिवार्य होटल क्वारन्टीनमा बस्नुपर्ने

– होटल क्वारन्टीनपछि लक्षण देखिएमा पीसीआर परीक्षण गराउनुपर्ने र पोजिटिभ रिपोर्ट आएमा भनिए बमोजिमका आइसोलेशनमा बस्नुपर्ने

– अन्तिम संस्कारमा सहभागी हुन विदेशबाट आउने व्यक्तिहरूलाई स्थानीय तहको सिफारिशमा कम्तीमा १० दिन     अनिवार्य होम क्वारन्टीनमा गन्तव्यमा जान दिइने ,- होम क्वारन्टीनमा बस्दा आफ्नै खर्चमा एघारौँ दिन पीसीआर परीक्षण गराउनुपर्ने

– खाडी मुलुक र मलेशियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकमा पाँच दिन अनिवार्य होटल क्वारन्टीन   बसेर पीसीआर नेगेटिभ आएपछि १० दिन होम क्वारन्टीनमा बस्नेगरी जान दिइने

– कोभिड नियन्त्रणसम्बन्धी कार्यमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीको हकमा स्वास्थ्य मन्त्रालयले तोकेको वासस्थानमा अनिवार्य १० दिन क्वारन्टीन बस्ने गरी जान दिइने

-क्वारन्टीन अवधि पूरा गरी गन्तव्यमा जान खोज्ने सबैलाई प्रस्थानका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने , -स्वीकृत उडानमार्फत् नेपाल आउने यात्रुले पर्यटन विभागमा दर्ता भएका तीन चार र पाँच तारे होटलमा क्वारन्टीनका लागि बुकिङ गर्न सक्ने

-नेपाल आउने जोकोहीले जनस्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरेको पाइएमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुने

अध्यादेशमा गरिएका व्यवस्था
-मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे १०० रुपैयाँ जरिवाना , -आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे २०० रुपैयाँ जरिवाना

-अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुईपाङ्ग्रे सवारी भए २,००० र अन्य सवारी भए ५,००० रुपैयाँ जरिवाना

त्यसैगरी अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।

प्रतिक्रिया