आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

प्रकाशित
578
SHARES

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी थप निर्णय लिने बताए । ‘आज बस्ने बैठकमा कोरोनाको हालको अवस्थाका बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर आवश्यक निर्णय लिन्छौं,’ पराजुलीले भने ।

पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ ।

कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ । तर कतिपयले परीक्षण नै कम भएकाले संक्रमितको संख्या पनि कम भएको बताउने गरेका छन् । यस्तै चीनले अनुदान दिएको १० लाखमध्ये ९ लाख डोज खोप आज नेपाल आइपुग्दै छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप स्वायत्त क्षेत्र तिब्बतबाट आज काठमाडौँ आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । सो विमानले आज २ बजेसम्म ८ लाख खोप लिएर नेपाल आइपुग्नेछ ।

यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत आजै ल्याइँनेछ । बाँकी १ लाख डोज पनि हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत भोलि ल्याइँनेछ ।

चिनियाँ खोप ५५-६५ वर्षकालाई लगाइने चीनले नेपाललाई अनुदानस्वरुप दिएको उक्त खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने तयारी भएको छ । ‘भेरोसेल’ खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो ।

६५ वर्ष माथिको करिब ९ लाख भन्दा बढी र कुल साढे १४ लाख नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी सरकारले गरेको छ ।

यस्तै विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ ।

भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीले बताए । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।

यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । भारतले ‘भारतीय भेरियन्ट’ भनिएकोमा आपत्ती नै जनाएको थियो । भारतको सन्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सन्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।

त्यस्तै भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । अत्याधिक धेरै संक्रमण फैलाउने यो भेरियन्ट ‘अति घातक’ भएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यो भाइरस भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भएको जनाइएको छ । अधिकारीहरुका अनुसार यो भेरियन्ट हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने छ । भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्रीले के भने?
रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ: “भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ।”

उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए। उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन्।

अन्य प्रकार
गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यूके/केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्।

अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्। खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ। निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन।

सुरुको भाइरसबाटै ज्येष्ठ उमेर समूहका वा जोखिमपूर्ण स्वास्थ्य समस्या भएकाहरूमै जोखिम उच्च देखिन्छ। तर थप सङ्क्रामक र उत्तिकै खतरनाक हुने कुनै भाइरस खोप नलगाएका धेरै मानिसहरूमा फैलँदा त्यसले थप मृत्युहरू निम्त्याउँछ।

भियतनामको अवस्था के छ?
पछिल्ला सातामा भियतनाममा कोभिड-१९ का घटनामा उच्च वृद्धि देखा परेको छ। महामारी सुरु भएयता उक्त दक्षिणपूर्वी एसियाली मुलुकमा ६,७०० भन्दा बढी कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन्। तीमध्ये आधाभन्दा धेरै यसै वर्षको एप्रिल महिनापछि देखिएका हुन्। जोन्स हप्किन्स युनिभर्सिटीको विवरण अनुसार अहिलेसम्म त्यहाँ ४७ वटा कोभिड जोडिएका मृत्युका घटना पुष्टि भएका छन्।

प्रतिक्रिया