आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीलाइ खुसीको खबर, जसपाले गर्यो यस्तो संकेत

प्रकाशित
636
SHARES

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निर्णय केही निर्णय भएको छैन ।

‘सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट प्रस्ताव आएको छ, आउनुस्, सँगै काम गरौं भन्ने प्रस्ताव उहाँबाट आएको हो,’ कर्णले राजधानीसँग भने, ‘तर, हाम्रो पार्टीमा छलफल भएको छैन । छलफल गरेर भन्छौं भनेका छौं ।’

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोका साथै छलफलमा सरकारले गठन गरेको संविधान संशोधन कार्यदल सदस्यको समेत सहभागिता रहेको छ । कार्यदल सदस्य कर्ण, सुवास नेम्वाङ, राजन भट्टराई र सर्वेन्द्रनाथ शुक्लसमेत छलफलमा सहभागी थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यस्तै नेकपा एमालेका युवा नेता एवं सांसद महेश बस्नेतले केपी ओलीका कारण भारतसँग सम्बन्ध सुमधुर बनेको बताएका छन् । सोमबार आयोजित राष्ट्रिय युवासंघको कार्यक्रममा एमालेका युवा इञ्चार्ज बस्नेतले यस्तो बताएका हुन् ।

न्यायालय, सेना र विदेशी शक्ति एमालेको पक्षमा छैन भन्ने निरीह शब्दहरू विगतमा सुनिने गरेको बताउँदै सांसद बस्नेतले अहिले केपी ओलीका कारण गर्व गर्ने ठाउँमा आइपुगिएको बताएका छन् ।

‘बाबुराम भट्टराईहरुले हामीलाई भन्ने गर्थे, नेकपा एमाले, न पोथी न भाले ! हामीलाई गीत गाउँथे काँग्रेसका साथीहरु– लालुपाते नुग्यो भुइँतिर, कि लाउ उहीतिर, कि लाऊ माया मैतिर’ सांसद बस्नेतले भने,‘आज गौरवका साथ हामी भन्न सक्छौं – ‘केपी ओलीका कारणले एमाले कार्यकर्ता हुँदा छाती गौरवले फुल्ने गर्छ ।’

बस्नेतले व्यक्ति गरेको विचारको अंश जस्ताको त्यस्तै:

जसरी तेङ स्याओपिङलाई चाइनाको एउटा सम्मानित नेताको रुपमा स्वीकारिन्छ, त्यसैगरी केपी शर्मा ओलीलाई आधुनिक नेपाल निर्माण गर्ने कम्युनिस्ट नेताका रुपमा स्विकारिँदैछ । आज केपी शर्मा ओलीलाई समर्थन गरेवापत हामीलाई आलोचना गर्ने साथीहरु भोलि हाम्रै समीपमा आएर हामीले गल्ती ग¥यौं भनेर स्वीकार्ने अवस्थामा पुग्नुहुन्छ ।

हामी इतिहासको यो कालखण्डमा जाँचिन तयार छौं, तौलिन तयार छौं । गम्भीर समीक्षामा हामी बस्न तयार छौं । र, म फेरि पनि गौरवका साथ भन्छु, कुनै पनि विधिलाई छनोट गर्ने विधि भनेको तुलनात्मक विधि हो । हामी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण राख्ने साथीहरुले त अझै यो कुरालाई ध्यान दिनुपर्छ । हिजो काँग्रेसको सरकार भन्दा आज हाम्रो सरकार के मानेमा राम्रो, के मानेमा नराम्रो ? हिजो देउवाको कार्यकाल र आज केपी ओलीको कार्यकाल के मानेमा राम्रो, के मानेमा नराम्रो ?

हिजो माधव नेपाल झलनाथ खनालहरूले चलाएको पार्टी र आज केपी ओलीले चलाएको पार्टी । हिजो यही पार्टीमा हो, कुनै लिङ्ग नभएको पार्टी । हाम्रा पार्टीका निर्णयहरु हामी सुन्थ्यौँ, एमालेले सबै अप्सन खुल्ला राखियो भन्ने निर्णय गथ्र्यो । एमाले कुनै अडान नभएको पार्टी । बाबुराम भट्टराईहरुले हामीलाई भन्ने गर्थे, नेकपा एमाले, न पोथी न भाले ! हास्य कलाकारहरुले हामीलाई भन्ने गर्थे, दूधको चिया खाउँ भन्यो भने काँग्रेस, कालो चिया खाऔं भन्यो भने माओवादी । दूधको भए पनि, कालो भए पनि ठीकै हुन्छ भन्दा त्यो चाहिँ एमाले । हामीलाई गीत गाउँथे काँग्रेसका साथीहरु– लालुपाते नुग्यो भुइँतिर कि लाउ उहीतिर, कि लाऊ माया मैतिर । तपाईहरु माओवादीसँग नजिक हो कि काँग्रेससँग नजिक हो ?

आज गौरबका साथ हामी भन्न सक्छौं – केपी ओलीका कारणले हाम्रा सीमानाहरु सुरक्षित भएका छन् । केपी ओलीका कारणले हाम्रा ७ वटा भारत र चाइनासँग जोड्ने नाकाहरु बन्दैछन् । केपी ओलीका कारणले रेलमार्ग मात्रै बनिरहेको छैन, भारतसँगको सम्बन्ध सुमधुर बन्दैछ । लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता आउँदैछ । सि जिनपिङ र मोदीजस्ता अन्तरर्राष्ट्रिय ख्याती कमाएका नेताहरु नेपाल भ्रमण गर्ने अवस्था बनेको छ । सुरुङ्ग मार्ग सुरु हुँदैछ ।

केपी ओलीका कारणले चाहे युएनका सभाहरु हुन्, चाहे अन्तरराष्ट्रिय मञ्चहरु हुन्, आज नेपाल लास्ट बेञ्चरबाट फस्ट बेञ्चर बनेको छ । जी–७ को बैठकमा केपी ओलीलाई आमन्त्रण गरिन्छ । अनि बीबीसी, सीएनएनजस्ता अन्तरराष्ट्रिय मिडियाहरुले आज नेपालको प्रधानमन्त्रीको इन्टरभ्युलाई महत्त्वका साथ प्रसारण गर्छ । भारतका कुना–कुनामा केपी ओली को हो भनेर सोध्यो भने नेपालका लोकप्रिय प्रधानमन्त्री हो भनेर भन्ने स्थिति बनेको छ ।

अफ्रिकन गायकदेखि लिएर विभिन्न सेलिब्रेटीहरुले हु इज केपी ओली भन्दा केपी ओली इज द प्राइमिनिस्टर अफ नेपाल, एण्ड हि इज भेरी पपुलर इन युथ सेक्टर भन्नेखालका अभिव्यक्तिहरु दिएका कुराहरु हामी सुन्न पाउँछौं । आज टिकटकभरि केपी ओलीको प्रचार छ ।

आज सेना केपी ओलीसँग प्रफुल्लित छ । प्रहरी केपी ओलीसँग प्रफुल्लित छ । आज न्यायालय केपी ओलीसँग सेटिङ्गमा छ भनेर विपक्षीहरुले आलोचना गर्ने गर्छन् । हिजो यही माधव नेपालहरु, यही झलनाथहरु चाहे त्यो कर्मचारी आन्दोलन भन्नोस्, चाहे त्यो दासढुंगा विरुद्धको आन्दोलन भन्नोस्, हामीले आन्दोलन गर्दा उहाँहरु आन्दोलन टुंग्याउने गर्नुहुन्थ्यो र हामीले प्रश्न गर्दा भन्ने गर्नुहुन्थ्यो, अहिले पनि राजासँग ६० हजार भन्दा बढी सेना छ । अहिले पनि अन्तरराष्ट्रिय शक्ति काँग्रेसको पक्षमा छ । अहिले पनि न्यायालय हाम्रो पक्षमा छैन । विदेशी शक्ति हामीसँग छैन । सेना प्रहरी हामीसँग छैन, त्यही भएर हामीले आन्दोलन टुंग्याउन बाध्य भयौं । यस्ता निरीह शब्दहरु हामी झलनाथ कमरेड र माधव कमरेडका मुखबाट हामीले सुन्थ्यौं ।

आज हामी गौरब गर्र्छौं, केपी ओलीको अदम्य साहस, त्यो अद्भुत क्षमता, जसका कारणले हामी देशभरि एमालेका कार्यकर्ता हुँदा छाती गौरबले फुल्ने गर्छ । नेकपा एमालेको यो पंक्तिले जुन ढंगले विकासमा काम गरिरहेको छ, समृद्धिमा काम गरिरहेको छ, आज स्थानीय तहमा मात्रै अरबौं पैसा गएको छ । अहिले वडा वडामा सडक बन्न थालेका छन् । पूर्वाधार बन्न थालेका छन् । औद्योगिक क्षेत्र बन्न थालेका छन् । विद्यालय बन्न थालेका छन् । अस्पताल बन्न थालेका छन् । युवाहरुले रोजगारीका असंख्य अवसरहरु सिर्जना गर्न थालेका छन् । यस मानेमा हामी नेकपा एमाले भएका कारणले गौरब गर्न सक्ने ठाउँमा छौं ।

प्रत्येक बसन्त ऋतुभन्दा अगाडि आउने आँधीहुरीले सुकेका पातहरु झार्नेछन् र मक्किएका हाँगाहरु भाँच्नेछन् । नेकपा एमालेको यो बसन्त ऋतुभन्दा अगाडि आएको हुरीले. केही सुकेका पातहरु झरेका छन्, केही कुहिएका–मक्किएका हाँगाहरु भाँच्चिएका छन् ।

अब हामी यो एमालेरुपी रुखलाई नयाँ बसन्तु ऋतुको युगमा प्रवेश गराएका छौं । र, यसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने छौं । र, कमरेड केपी शर्मा ओलीको नेतृत्वमा, उहाँको मलजलमा यो रुखलाई हामी तीव्रताका साथ अगाडि बढाउनेछौं ।

प्रतिक्रिया