आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, सिम कार्ड सित्तैमा दिने घोषणा

प्रकाशित
428
SHARES

काठमाडौं । सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।

यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

निषेधाज्ञा अवधिमा नि:शुल्कदेखि ३० प्रतिशतसम्म विद्युत् महसुलमा छुट

सरकारले कोरोनाका कारण लागाइएको निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुटको योजना ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो योजना रहेको जानकारी दिएका हुन् ।

‘निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उनले बताए । कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् ।पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

त्यस्तै आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।

स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।

अर्थमन्त्री पौडेलले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले गैर कानुनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताएका छन् ।

त्यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

यस्तै सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई एमालेले त्यसयता निरन्तर आफ्नो भोट राजनीतिका रुपमा उपयोग गरिरहेको थियो । एमाले र माओवादी केन्द्रबीचको एकतापछि जारी भएको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पु¥याउने उल्लेख थियो । सोही अनुसार सरकारले वृद्धभत्ता बढाएको हो ।

कसले पाउँछन् वृद्धभत्ता ?

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुरा भएका वृद्धवृद्धाका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता घोषणा गरेका थिए । अहिले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता दिने गरिन्छ । २०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याएका थिए । २०६५ सालमा बाबुराम भट्टराईले यस्तो भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याएका थिए ।

२०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा. रामशरण महतले १ हजार पुर्‍याएका थिए । अर्को वर्ष २०७२ सालमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्‍याए । उक्त रकमलाई २०७६ सालमा डा. युवराज खतिवडाले मासिक तीन हजार पुर्‍याएका थिए ।

त्यस्तै सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन् । उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

प्रतिक्रिया