आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महन्थ ठाकुरलाई आयो २४ घन्टे चेतावनी सहित अल्टिमेटम, अब के गर्छन ठाकुर

प्रकाशित
618
SHARES

काठमाडौँ । जसपाको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ । यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ ।

ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८(३), २५(१),(२) र पार्टी विधानको दफा ४९ को १,२,३,५ र ८ का साथै दफा ५० को १ विपरित काम गरेको आरोप लगाइएको छ । सोही आरोपमा यादव समूहले जेठ ११ गते ठाकुरलाई स्पष्टीकरण सोधेपनि उनले जवाफ दिएका छैनन् ।

यादव पक्षले वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि तीन दिनभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो । तीन दिनको म्याद सकिए पनि अध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष उपेन्द्र यादवले बताए । उनका अनुसार महतो, कर्ण र शुक्लालाई पनि सोही व्यहोराको पत्र पुन: पठाइएको छ ।

पार्टी विधि र पद्धतिमा चल्नुपर्ने भन्दै उनले पार्टीको अनुशासन उल्लघंन गर्नेलाई पार्टीको विधानअनुसार कारवाही हुने बताए ।

पार्टीभित्र चर्किँदो विवादका बीच ठाकुर समूहले पनि उपेन्द्र यादवलगायतलाई स्पष्टीकरण सोधेको थियो । तर यादवले पनि दिएका छैनन् । यादवलाई ‘तपाईंले चाहिँ किन स्पष्टीकरण नदिनु भएको’ भनेर सोधिएको जिज्ञासा उनले आफूलाई पार्टीको विधि र पद्धति अनुसार स्पष्टीकरण नसोधिएको कारण जवाफ नदिएको दावी गरे । विवादको श्रृखंला स्पष्टीकरण हुँदै कारबाही गर्नेसम्मको अवस्थामा पुगेसँगै सो पार्टी विभाजनको डिलमा पुगेको छ।

यस्तै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पनि  ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । शुक्रबार मात्र नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले बनाएको प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरित मन्त्री बनेको भन्दै स्पष्टीकरण सोधेको हो । मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

ओली पक्षका नेताहरु मात्र भएको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर नेता माधवकुमार नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गर्यो।

शुक्रबार मात्र तीन मन्त्रीले राजीनामा दिएका थिए भने चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका थिए । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिंदा दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिलामन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिम कमिटीले संसदीय दलका नेता शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो । बाँकी तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया