आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गणतन्त्र दिवसमा कमल थापाले एकाबिहानै गरे सबैलाई भाबुक बनाउने यस्ताे ट्विट

प्रकाशित
450
SHARES

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थाबारे पुनर्विचार गर्न आग्रह गरेका छ । गणतन्त्र दिवसका दिन एकाबिहानै सामाजिक सञ्जालमार्फत थापाले यस्तो आग्रह गरेका हुन् ।

‘१३ बर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो’ थापाको ट्विटमा भनिएको छ, ‘राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् । बरू भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ । त्यसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गरौँ ।’

यसअघि अध्यक्ष थापाले आफूलाई केपी ओली निकट भएको भनेर लागेको आरोपको खण्डन गरेका थिए । ‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा प्रधानमन्त्रीको पक्ष लियो भन्छन् । तर, ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् ।’ राप्रपा अध्यक्ष थापा भन्छन्, ‘चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनः ओली नै प्रधानमन्त्री हुन्छन् । यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ ।’

थापाको ‘कार्यदिशा’

केपी ओलीले संसद विघटन गरेपछि राप्रपा अध्यक्ष थापाले ताजा जनादेशमा जानुपर्ने बताउँदै अगाडि सारेका ‘अबको कार्यदिशा’ यस्ता छन्–

स्वास्थ संकटकाल घोषणा गर्ने । सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने । आम नागरिकलाई खोपको व्यवस्था गर्ने । चुनाव निष्पक्ष/स्वतन्त्ररुपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । चुनावबाट ब्रह्मलुट र सर्वसत्तावाद पराजित गर्ने । नागरिकता अध्यादेश फिर्ता गर्न माग ! केपी ओलीद्वारा घोषित मध्यावधि चुनावलाई स्वागत गरेका राप्रपा अध्यक्ष थापाले नागरिकतासम्बन्धी अध्यादेशको भने खुलेर विरोध गरेका छन् ।

सत्ता स्वार्थका निम्ति अध्यादेश ल्याइएको बताउँदै थापा भन्छन्, ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ । तर, सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको छ, त्यसको भत्सर्ना गर्दछु । यो राष्ट्रहित विपरीत र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ ।’

बितेका १३ वर्षमा नेताको मालामाल, देश र जनताको बेहाल

आज १४ औँ गणतन्त्र दिवस, सामान्य औपचारिकताका साथ मनाइँदै छ । कोरोना महामारीको प्रकोप र निषेधाज्ञा कडा पारिएका कारण यस वर्षको गणतन्त्र दिवसमा भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ । गत वर्षको गणतन्त्र दिवसमा पनि यस्तै अवस्था थियो । यस साल पनि कोरोना सङ्क्रमणको जोखिमकै कारण कुनै विशेष कार्यक्रम राखिएको छैन ।

अघिल्ला वर्षमा सरकारले राष्ट्रपतिको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाउने गर्थ्यो । प्रदेश राजधानी, जिल्ला सदरमुकाम र सबै स्थानीय तह र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा समेत भव्य उत्सव र कार्यक्रम गरी तामझामका साथ गणतन्त्र दिवस मनाइन्थ्यो ।

२०६५ साल जेठ १५ गतेकै दिन संविधानसभाको पहिलो बैठक बसेर नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । यस दिनलाई लामो शाहवंशीय राजजन्त्र अन्त्य भएर जनताको शासन अर्थात् गणतन्त्र आएको खुसीयालीमा दिवसका रुपमा मनाइन्छ ।

गणतन्त्र घोषणा भएका १३ वर्ष बितेर गए पनि मुलुक र जनताले उल्लेख्य प्रगतिको आभाससम्म गर्न पाएका छैनन् । गणतन्त्रका निम्ति लडेका माओवादी नेता कार्यकर्ताको बेहाल छ । माओवादी लडाकु जनमुक्ति सेनाका घाइतेहरु जीवन मरणको लडाई लडीरहेका छन् । बाकी कोही परिवारको पेट पाल्न खाडी मुलुकमा मजदुरी गरिरहेका छन् । गणतन्त्रपछिका करिब ७ वर्ष संविधान बनाउने कचिंगलमै बितेर गएका थिए ।

पहिलाे संविधानसभा विना उपलब्धि असफल भएपछि जनतामा थप निराशा चुलिएकाे थियाे । तर दोस्रो संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएपछि र मुलुक संघीयतामा गएपछि सर्वत्र खुसीयाली र नयाँ आशा छाएको थियो ।

त्यसयता समेत सत्ताकै लागि राजनीतिक दलहरुमा हानाथाप जारी रहेकाले मुलुकमा स्थिरता समृद्धिको आशा निरर्थक भइरहेको छ । पछिल्ला वर्ष मुलुकमा अराजकता, भ्रष्टाचार तथा दण्डहीनता समेत बढ्दै गएर जनतालाई थप निराश बनाइरहेको विश्लेषण भइरहेको छ ।

गत पुषदेखि यो देशमा गणतन्त्र नै रहने कि नरहने भन्ने अबस्थाको राजनीतिक खिचातानी जारी छ । गणतान्त्रिक मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली नै गणतन्त्र मास्ने अभियानमा लागेको बिपक्षी दलको आरोप छ । बिपक्षी दलले आरोप लगाएको मात्र नभई उनका गतिबिधीले पनि त्यतै संकेत गरेको छ ।

गत पुषमा हुँदाखाँदाको संसद बिघटन गरेर आफै काम चलाउ सरकार बन्ने र सत्ता चलाउने दाउमा लागेका ओलीले सर्बोच्च अदालतको निर्णयले धक्का खाए तर पनि केहि समय लगाएर पुनः आफै प्रधानमन्त्री बन्ने प्रपन्च रचीरहे हाल आएर आफु कुनै पनि हालतमा सत्तामा रहन नसक्ने भएपछि अर्को पटक पनि संसद बिघटन गरेर काम चलाउ प्रधानमन्त्रीका रुपमा सत्ता संचालन गरिरहेका छन् ।

उनका पछिल्ला असंबैधानिक र अराजनीतिक गतिबिधिका कारण देश ठुलो बर्बादी तिर फस्ने देखिएको छ । यस्तो संकटकाबीच आज आएको गणतन्त्र दिबशामा खासै औपचारिक कुनै कार्यक्रमको आयोजना भने गरिएको छैन ।

२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो । तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ ।

यसैबीच सभामुख अग्नि प्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्रै यसको औचित्य स्थापित हुने उल्लेख गरे ।

शुभकामना सन्देशमा सभामुखले भन्नुभएको छ, “हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कातिर कोभिड–१९ महामारीबाट आक्रान्त छौंँ । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्ने आवश्यकता पैदा भएको छ ।”

उनले संविधानको मर्म र भावनानुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरे ।

गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनान्दोलन एवं विभिन्न संघर्षमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सभामुखले घाइते, अपाङ्गता भएका तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान प्रकट गरे ।

राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु परेको छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन् ।

कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै उनले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको टिप्प्णी गरेका हुन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नुपर्दछ । देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।’

लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास देउवाले गरेका छन् । स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै देउवाले कोरोना संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया