आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पछिल्लो २४ घण्टामाथप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित
536
SHARES

काठमाडौं । नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् ।

२० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ । त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कु’टपिटमा खेद व्यक्त गरेकी छन्।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको लेखेकी छन्।

‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपति भण्डारीले लेखेकी छन्।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका मानबहादुर रावतले आफ्ना दाइको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार राति भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेका थिए।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो। उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आ’क्रमण र अस्पताल तोडफोड गरेको आरोप छ। प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उनीहरूलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धानअगाडि बढाइएको बताए। भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको बताए।

‘आइसियू कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको छ,’ श्रेष्ठले भने, ‘पिपिई सेट लगाएका नर्सलाई घाँटी अठ्याउने, लात्ताले हान्नेजस्ता हर्कत भए।’ थप आक्रमण हुनबाट बच्न नर्सहरू भागेर शौचालयतर्फ जाँदा त्यहाँ गएर पनि उनीहरूले आक्रमण गरेको उनको भनाइ छ।

‘केही नर्स ज्यान जोगाउनकै लागि अस्पतालको छतबाट पनि हाम फाल्नुपर्यो,’ उनले भने। उनीहरूको आ’क्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

रावतका आफन्तले अस्पताल तोडफोड पनि गरेका थिए। ‘पंखा, टेबुल, कुर्सी र झ्याल ढोकासमेत तोडफोड गरेका छन्,’ श्रेष्ठले भने। अस्पतालभित्रै रहेका एक कुरूवाले फोन गरेर बिरामीको मृत्यु भएको भन्दै अरू आफन्तलाई अस्पताल आइहाल्न भनेका थिए।

त्यसको केहीबेरमा उनीहरूले चिकित्सकमाथि आक्रमण गरेका थिए। आफूहरूलाई आक्रमण गरेको विरोधमा गए राति अबेरसम्म चिकित्सक र नर्सहरूले अस्पताल परिसरमै विरोध गरिरहेका थिए। आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनीहरूको थियो।

पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्। रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए।

एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो। उनी एमाले दाङ जिल्ला सचिवालय सदस्य पनि हुन्। देउखुरीकी एक जना महिलामाथि बलात्कार अभियोगमा उनीमाथि मुद्दा पनि चलेको थियो।

राजनीतिक शक्ति र सत्ताको आडमा जोगिँदै आएका व्यक्ति पुन: स्वास्थ्यकर्मीमाथि हातपातमा उत्रिएकोले छानविन गरी दोषी पाइएमा कानुनअनुसार कारवाही गर्न स्वास्थ्यकर्मीहरूले माग गरेका छन्। यता स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो ।

गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

गृह प्रवक्ता दाहालका अनुसार घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएकी नर्स सदीक्षा गैरेको बयान जस्ताकाे तस्तै:

मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नु भएको रहेछ । तर पनि बिरामीमा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन ।

कुरुवाले भने मेरो बिरामीलाई मार्ने भयो भनिरहनु भएको थियो । मेरो बिरामीलाई केही भयो भने कसैलाई छोड्दिन भन्दै धम्की दिनु भयो । जबकी डियूटीमा रहेका दुई जना डाक्टर र चार जना नर्स उनकै बिरामीको उपचारमा व्यस्त थिए । उनलाई बचाउन प्रयास जारी राखेका थियौं, तर हामीले बचाउन सकेनौं ।

उनको मृत्यु पुष्टि गर्नका लागि ईसीजी गर्ने तयारी भइरहेको थियो । त्यही वार्डमा अर्का एकजना बिरामी पनि गम्भीर थिए । उनको पनि स्वास्थ्य अवस्था खस्किँदै गइरहेको थियो । हाम्रो टिममा रहेका डाक्टर र नर्सहरु उनलाई हेर्न त्यता जानुभयो । म भने उनको ईसीजी गर्न तयारी गर्दै थिएँ ।

क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । त्यही बेला हामी सबैको ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए ।

एक्कासी ६/७ जनाको समूह वार्डमा प्रवेश गरे । उनीहरुले मेरो घाँटी अठ्याउन थाले । त्यही बेला बिरामीका एकजना कुरुवा दाइ मेरो अगाडि आएर बलतल्ल छुटाउनुभयो । म अत्तालिँदै डाक्टर भएको ठाउँमा पुगें । उनीहरु लखेट्दै आइरहेका थिए । बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले मलाई उद्धार गरेर क्याविनमा लिएर गए । तर पनि त्यो समूहले क्याविनमा तोडफोड गर्न छाडेन ।

क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हाम्रो ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन ।

डा. चन्द्रप्रकाश साहुले मलाई हाम फाल्न फोर्स गरिरहनु भएको थियो । मलाई छाडेर पनि उहाँहरु हाम फाल्न सकिरहनु भएको थिएन । मलाई डा. साहुले झ्यालमा उचालेर राखिदिनुभयो । उनीहरुको आक्रोश थप बढ्दै गइरहेको थियो । ढोका नै फोडेर भित्र पस्न थालेपछि डा. शाहु, नर्सहरु आश्विनी गुरुङ, बन्दना श्रेष्ठसहित हामी हाम फाल्न बाध्य भयौं ।

रातिको त्यो कहाली लाग्दो र त्रासदीपूर्ण दृश्य मेरो मानसपटलमा अहिले घुमिरहेको छ । त्यो सम्झिँदा म कसरी एकतला माथिबाट हाम फालें होला भनेर आफैंलाई विश्वास लागिरहेको छैन । तर हामीसँग विकल्प पनि थिएन ।

उनीहरुको त्यो आक्रोश, त्यो आतंकित व्यवहार निकै डरलाग्दो थियो । यस्तो आतंकपूर्ण अनि त्रासदीपूर्ण वातावरण कोभिड वार्डभित्र झण्डै एक घण्टा नै चल्यो होला । यो अवधिमा सबैजना आ–आफ्नो ज्यान बचाउन वार्डभित्रै भागदौड मच्चियो ।

एकतला माथिबाट हामफालेकाले हुनसक्छ, मेरो शरीरको पछाडि दुखिरहेको छ । घाँटीमा पनि निलो डाम छ । सँगै हामफाल्नु भएका स्वास्थ्यकर्मीहरुले पनि खुट्टा दुखिरहेको बताइरहेका छन् । सबै जनालाई बाहिरी चोटपटक छैन ।

नर्सिङ पेशामा लागेर राम्रै गर्छु भन्ने आत्मविश्वास थियो । आफ्नो पेशा प्रति म सधैं इमान्दार नै थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिन । रातभर त्यही त्रासदीपूर्ण दृश्य आँखा वरपर झलझली आइरह्यो । जति भुल्ने प्रयास गरेपनि सकि रहेको छैन । बिरामी कुरुवा दाइले मेरो उद्धार नगरेको भए….. याे सम्झिँदा यो पेशामा किन लागेछु भन्ने प्रश्न पनि मनमा बारम्बार आएको छ ।

अरुको ज्यान बचाउने पेशामा लाग्दा यसरी एकतला माथिबाट हाम फालेर आफ्नै ज्यान बचाउनुपर्ने दिन आउँछ होला भनेर कल्पना पनि गरेको थिइनँ । यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोवल गिराएको छ । स्वास्थ्यकर्मीलाई मनोवल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो । त्यसैले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सक्नु पर्छ ।

मनोवल गिरेका स्वास्थ्यकर्मीहरुले कसरी बिरामीको उपचार गर्न सक्छ ? त्यसैले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सकेमात्रै स्वास्थ्यकर्मीमाथि भोलिका दिनमा यस्तो घटना दोहोरिने थिएन ।

प्रतिक्रिया