आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदै

प्रकाशित
1K
SHARES

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरु संवैधानिक इजलासमा सुनुवाइ गर्ने प्रक्रिया सुरु हुँदै छ । रिटमाथिको सुनुवाइका लागि शुक्रबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास गठन हुँदैछ । सर्वाेच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार संवैधानिक इजलासमा बस्ने न्यायाधीशको छनोट गरेपछि शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी गरिएको छ ।

अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवारबाट सुनुवाइ हुनेछ । विघटनविरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् ।

रिट निवेदकले तत्कालिन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । शुक्रवार बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ ।

संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षरसहित निवेदन दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । राष्ट्रपतिको सो कदमको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया