आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा शुरु

प्रकाशित
0.9K
SHARES

विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा शुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेका नेताहरू गठबन्धनको आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका हुन् ।

एमालेबाट निष्काशनपछि नेपालले मुख खोले, कसलाई के भने हेर्नुहोस अपिल सहित ?

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उनले बताएका छन् । नेकपा एमाले केपी ओली समूहबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको प्रतिक्रिया दिएका छन् ।

कारबाहीको भोलिपल्ट एक अपील जारी गर्दै नेता नेपालले ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेको भन्दै उनीविरुद्ध प्रतिरोधमा उत्रिने अवस्था बनेको उल्लेख गरेका छन् ।
यस्तै उनले राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको पनि बताएका छन् ।

‘अब हामी माथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ’, नेपालले भनेका छन्, ‘अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपील गर्दछु।’ ओली समूहले सोमबार नेपालसहित ११ नेतालाई पार्टी साधारण सदस्य समेत नरहनी गरी कारबाहीको घोषणा गरेको थियो ।

अपील !
कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता – नेपालका कम्युनिष्ट पार्टी एक हुन्, कम्युनिस्टआन्दोलन एक र सशक्त होस् , जनजीविका ,जनताका हित,स्वार्थ र सरोकार तथा सुशासन का सवालमा तथा समाजवाद उन्मुख काम गरुन् भन्ने चाहन्छन् । तर जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’ लाई विभाजन गर्ने काम फत्ते गरे । त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो । जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहस-नहस गर्ने अभियान त्यही बिन्दूबाट शुरु गरेर कथित कारवाही र निस्कासनमा आएर पूरा भएको छ। नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा के.पी. ओलीले आफूलाई स्थापित गरेका छन् ।

केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन् । कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद् पक्ष हो ।ओली सरकारको हर्कत र विवादित पक्षहरु तपाईं हामीबीच छर्लङ्ग छ ।ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुग्यो।निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे ।यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो ।अहिले ओली गुटले गरेको कथित कारबाही वा निस्काशन त्यसैको प्रतिरुप हो । उक्त कार्बाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।

यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिकरुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ । ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्याए ।पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरें । तर सत्ता,शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन् ,वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे ! त्यही कारण आम जनता, नेता-कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।

मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढ्यो ।जस्तो कि राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाए। ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन । हजारौंको ज्यान जाने अवस्था बन्यो । सिंगो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन ।
आजको दिनसम्म आइपुग्दा जनसाधारण समेत केपी ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेका छन् भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको छ ।

त्यसैले अब हामी माथि कानूनी , राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।अब सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ ।ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपील गर्दछु।

यस्तै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत आफ्ना भनाई राख्दै उनले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद भएको र त्यो नियम नजिर बन्न नसक्ने उल्लेख गरेका छन् ।

डा। भट्टराईले भनेका छन्-‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत हैनन् । खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो, त्यो नियम र नजिर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजा-धुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस ।’

यस्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए ।

यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

२०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् । छलफलमा सभामुख सापकोटाले उनीहरुबाट सल्लाह सुझाव लिने बुझिएको छ ।

यस्तै नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ ।

मन्त्री आलेले डोटी जिल्ला अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेर ती स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराएका छन् ।

विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचना भइरहेको छ । कतिपयले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।

मन्त्री आलेले भने व्यक्तिगत खर्चमा किनिएका सामग्री डोटी र धनगढीका अस्पतालमा दिएको बताए । ‘१५ वटा स्वास्थ्य विभाग टेकुले दिएको छ । ११० वटा मैले मेरो खल्तीको पैसा हालेर किनेको हुँ,’ मन्त्री आलेले हिसाब सुनाए, ‘तीमध्ये ७५ वटा डोटी जिल्लाभरि र ५० वटा धनगढी सेती प्रादेशिक अस्पतालमा पठाएको छु । यसैगरी दुई लाख मास्क डोटीमा र ५० हजार मास्क धनगढीको सेती प्रादेशिक अस्पतालमा दिएको छु । अनि चारवटा अक्सिजन कन्सन्ट्रेटर डोटीमा दिएको छु । यी सामग्री ढुवानी गर्न मात्रै एक लाख ८० हजार जति खर्च भएको छ ।’

यसअघि सांसदहरु हिरा केसी र गंगा चौधरीले पनि नीलो रंगका अक्सिजन सिलिण्डरहरु आफ्नो व्यक्तिगत पहलमा जुटाएको भन्दै गृहजिल्ला पुर्याएका थिए । तर मन्त्री आलेले भने उनीहरुभन्दा एक कदम अगाडि बढेर आफ्नो फोटोसहितको स्टिकर टाँसेर व्यक्तिगत रुपमा सहयोग गरेको भनेर प्रचार गरे ।

व्यक्तिगत खर्च गरेर जुटाए पनि विपतको बेला राहत तथा सहयोग सामग्रीलाई यसरी प्रचारको रुपमा प्रयोग गर्न नपाइने जानकारहरु बताउँछन् । भारतको उदाहरण हेर्ने हो भने त्यसरी प्रचार गरेमा अपराध गरेसरह कारबाही गर्ने आदेश अदालतबाट भएको छ ।

तर मन्त्री आले यो काममा आफ्नो आलोचना भए पनि केही फरक नपर्ने बताउँछन् । सहयोग सामग्री वितरण गर्न अहिले धनगढीमा आइपुगेको बताउँदै उनले भने, ‘मैले आफ्नो बालबच्चाको पेट काटेर किनेर दिन नपाउने ? अहिले राज्यसँग छैन । अर्डर गरेको छ, समयमा आउँदैन । देशभरी हेर्नुपर्ने छ । मेरा जनता दिनरात दुःख पाइराखेको छ, मरी राखेका छन्, अनि मैले सेवा गर्न नपाउने ? मेरो आलोचना गरे पनि केही फरक पर्दैन ।’

‘मन्त्रीलाई स्टिकर टाँसेको थाहा थिएन’

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विद म्यानेजमेन्ट प्रालिबाट अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री किनेर डोटी र धनगढी पठाइएको बताए । ‘अग्रिम १५ लाख रुपैयाँ सिलिण्डरको लागि र ३ लाख रुपैयाँ मास्कको लागि विद भन्ने कम्पनीलाई दिएर प्राप्त भएको सामग्री हो,’ मन्त्री आलेका प्रमुख स्वकीय सचिव रेग्मीले भने ।

‘डोटी अस्पताल र सेती प्रादेशिक अस्पतालले हामीलाई अभाव भएकाले व्यक्तिगत सहयोग गरिदिनुहुन आग्रह गरेको चिठी छ । त्यही चिठीको आधारमा मन्त्री आलेले चीनबाट सामान मगाएर बालाजुमा रहेको शंकर अक्सिजन प्लान्ट र ककनीको प्लान्टमा दुई रात लगाएर भरेर जिल्लामा पठाइएको छ,’ उनले भने ।

अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्रीमा मन्त्रीलाई थाहै नदिइकन आफूले नै फोटोसहितको स्टिकर टाँस्न लगाएको रेग्मीले बताए । उनले भने, ‘यी सामग्री कसले सहयोग गरेको रहेछ भनेर जनताले थाहा पाउन् भनेर सानो स्टिकर बनाएर टाँसेको हो । त्यो कुरा मन्त्रीज्यूलाई जानकारी पनि थिएन । त्यसको जिम्मा म लिन्छु ।’

 

प्रतिक्रिया