आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

प्रकाशित
640
SHARES

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक मंगलबार बस्दैछ । बैठकमा निषेधाज्ञा थप गर्नेबारे छलफल हुने बताइएको छ ।

काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म जारी छ । मध्यान्ह बस्ने बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौला सहभागी हुनेछन् । निषेधाज्ञा जारी गरेपछि कोभिड–१९ संक्रमण नियन्त्रण भएको प्रमुख जिल्ला अधिकारीहरुको निष्कर्ष छ ।

‘अहिले अस्पतालमा विरामीको चाप घटेको छ, अक्सिजनको समस्या समाधान भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने–‘त्यसैले निषेधाज्ञालाई निरन्तरता दिनेबारे छलफल भइरहेको छ ।’

स्थानीय प्रशासनले उपत्यकामा थप १ साता निषेधाज्ञा बढाउने तयारी गरेको छ । निषेधाज्ञा थप्नेबारे आजको बैठकबाट निर्णय गरिने प्रजिअ पराजुलीले बताए ।

विहानको मुभमेन्टमा थप कडाइ गर्ने पनि प्रशासनको तयारी छ । सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरिसकेको अवस्थामा त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रशासनको तयारी छ ।

यस्तै सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी निर्देशकमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको हो । सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर सीसीओ नियुक्तिको प्रावधान थपेको थियो । अध्यादेशको सोही प्रावधान अन्तरगत शर्मालाई सीईओ बनाइएको हो ।

यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हालेका थिए । अब पूर्व सैनिकको कमाण्डमा यसको सञ्चालन हुनेछ । ईश्वर पोखरेल निर्देशन समितिको सदस्यका रुपमा रहनेछन् । ८ जना मन्त्री र मुख्यसचिव रहने निर्देशक समितिको नेतृत्व प्रधानमन्त्रीले सम्हाल्नेछ ।

यस्तै मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ ।

यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्नेछ । अनि जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने छ ।

बुधबारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ ।

तथापि, उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिने छ । त्यस क्रममा १४ देखि १५ मिनेटसम्म रातो चन्द्रमा देखा पर्नेछ । खगोलविद्ह‍रूका अनुसार हरेक अढाई वर्षमा एकपटक चन्द्र ग्रहणको बेला रातो चन्द्रमा देखिन्छ ।

सुपरमुन के हो ?

सुपर मुन यस्तो खगोलीय घटना हो जहाँ चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँछ । सोही कारण चन्द्रमा अन्य समयमा भन्दा ठूलो आकारको र १४ प्रतिशत धेरै चम्किलो देखिन्छ । त्यसलाई पेरिगी मुन पनि भनिन्छ । चन्द्रमा वा कुनै पनि प्राकृतिक उपग्रहहरू पृथ्वीको सबैभन्दा नजिक आएको अवस्थालाई पेरिगी भनिन्छ भने सबैभन्दा टाढाको अवस्थालाई अपोगी भनिन्छ ।

चन्द्रमालाई सुपर मुन तब भनिन्छ जब चन्द्रमा पृथ्वीबाट ३ लाख ६० हजार किलोमिटर वा त्यसभन्दा पनि कम दूरीमा हुन्छ । २६ मे को दिन पेरिगीको स्थिति करिब ७.२३ मिनेट रहनेछ र त्यतिबेला चन्द्रमा पृथ्वीबाट ३ लाख ५७ हजार ३०९ किलोमिटरको दूरीमा हुनेछ ।

कतिपयले सुपरमुनका कारण पृथ्वीमा विभिन्न खालका प्रभाव पर्ने र यस्तो बेला भूकम्प, ज्वालामुखी, सुनामी, बाढी वा मौसमी गडबडीका घटना हुने अनुमान गर्दछन् । तर वैज्ञानिकहरुका अनुसार यस्तो दाबीको कुनैपनि प्रमाण छैन ।

यद्यपि चन्द्रमाको असरले समुद्रमा ज्वारभाटा चाहीँ अवश्य हुन्छ र पूर्णिमाको समयमा समुद्रमा ज्वारभाटा झनै तिव्र हुन्छ । तर पेरिगीको स्थितिमा पनि समुद्रमा उठ्ने ज्वारभाटामा खासै ठूलो परिवर्तन हुँदैन ।

ब्लडमुन

चन्द्र ग्रहणका क्रममा चन्द्रमा पृथ्वीको छायामा पर्दछ । यहीँ क्रममा क्रममा कुनैबेला चन्द्रमा पूर्ण रूपमा रातो पनि देखिन्छ । त्यसलाई ब्लड मुन भनिन्छ । नासाका अनुसार सूर्यका किरणहरु पृथ्वीको वातावरणमा छिरेसँगै केही मोडिन्छन् र फैलिन्छन् । निलो र बैजनी रंग रातो र सुन्तला रंगभन्दा धेरै फैलिन्छ ।

सोही कारण आकाशको रंग निलो देखिन्छ । रातो रंग सिधा दिशामा अगाडि बढ्छ, सोही कारण सूर्योदय र सूर्यास्तको बेलामा मात्रै आकाश रातो देखिन्छ । त्यसक्रममा सूर्यको किरण धर्तीको वातावरणको एक बाक्लो तह पार गरेर हाम्रो आँखासम्म पुग्दछ ।

चन्द्रग्रहणका समयमा सूर्योदय तथा सूर्यास्तको समयका बाँकी राता किरणहरु पृथ्वीको वातावरण हुँदै चन्द्रमाको सतहसम्म पुग्दछन् । त्यसैले ग्रहणका बेला चन्द्रमा हामीले रातो देख्छौं। पृथ्वीको वातावरणमा ग्रहणका बेला जतिधेरै बादल वा धूलो हुन्छ, चन्द्रमा उति नै धेरै रातो देखिन्छ ।

ब्लु मुन

यो पटकको पूर्णिमा मे महिनाको दोश्रो पूर्णिमा हो । जब कुनैपनि महिनामा दुईवटा पूर्णिमा हुन्छन् तब दोश्रो पूर्णिमालाई ब्लु मुन भनिन्छ । वैज्ञानिकहरुका अनुसार सुपरमुन तथा चन्द्रग्रहण फरक फरक खगोलीय घटना हुन् जुन कुनैबेला सँगै घटित हुन्छन् ।

प्रतिक्रिया