आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुबईकी राजकुमारी लतिफालाई आफ्नै बाबुले किन बन्धक बनाएर राखे, यस्तो छ कारण

प्रकाशित
606
SHARES

एजेन्सी । दुबईका शासक तथा संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मकतुमकी छोरी ३५ वर्षीया लतिफा अल मकतुम धेरै समयपछि पहिलो पटक दुबईको एउटा मलमा पुगेको तस्बिर सार्वजनिक भएको छ।

दुई दिनअघि इन्स्टाग्राममा दुई जना महिलाहरूले पोष्ट गरेको एउटा तस्बिरमा लतिफा मल अफ द इमिरेट्सको क्याफेमा बसेको देखिन्छ। यो तस्बिर कहिले खिचिएको हो भन्ने पुष्टि नभए पनि उनीहरूका पछाडि हालै रिलिज भएको सिनेमाको विज्ञापन भएकाले हालसालै उनीहरू मलमा पुगेको अनुमान गर्न सकिन्छ। लतिफाका साथीहरूले उक्त तस्बिर वास्तविक भएको बिबिसीलाई बताएका छन्।

कसरी ‘जेल’ मा पुगेकी थिइन् लतिफा ?

लतिफाले सन् २०१८मा दुबईबाट भाग्न कोशिश गरेकी थिइन्। यसरी देश छोड्न प्रयास गर्ने उनी मुकतमकी दोस्रो सन्तान हुन्। ६ जना श्रीमतीबाट मुकतमका ३० छोराछोरी भएको बताइन्छ।

बाहिर जाने, घुम्ने, गाडी चलाउने, पढ्ने चाहनाले आफू विदेश जान लागेको लतिफाले बताएकी थिइन्। देशबाट भाग्न निकै गाह्रो भएकाले उनले आफ्ना मार्सल आर्ट्स प्रशिक्षकको सहारा लिएकी थिइन्। जनवरी २०१८मा उनीहरू दुबईबाट डुंगामा भागेका थिए। अमेरिकामा गएर राजनीतिक शरण माग्ने लतिफाको योजना थियो।

आठ दिनपछि उनीहरू चढेको डुंगा भारतको नजिक आएको थियो। त्यही बेला उनीहरूलाई कमाण्डोले पक्राउ गरेका थिए। पक्राउ परेपछि लतिफालाई विद्युतीय झड्का दिइएको थियो र उनी बेहोस भएपछि निजी जहाजमा राखेर दुबई लगिएको थियो।

उनलाई पक्रनमा भारत सरकारको के भूमिका थियो भन्नेबारे अहिलेसम्म नयाँदिल्लीले कुनै प्रतिक्रिया दिएको छैन। दुबई लगिएपछि डुंगामा रहेका अरूलाई दुई सातापछि छोडिएको थियो तर लतिफालाई भने एउटा भिल्लामा राखिएको थियो ।

त्यसपछि लतिफाले आफ्ना साथीहरूलाई एउटा भिडिओ सन्देश पठाएर आफूलाई बाबुले बन्धक बनाएको आरोप लगाएकी थिइन्। उनकी साथीले लतिफाको रिहाइका लागि संयुक्त राष्ट्र संघमा अपिल गरेपछि उनको जीवनबारे अन्तर्राष्ट्रिय समुदायले चासो देखाएको थियो।

दुबईका शासक मुकतमले भने उनी परिवारको हेरचाहमा सुरक्षित रहेको बताएको थियो। त्यसपछि लतिफाको अवस्थाबारे सार्वजनिक गरिएको थिएन। लतिफाले आफूलाई राखिएको ठाउँभित्र बनाएका भिडिओ बिबिसी पानोरोमाले प्राप्त गरेको थियो र ती भिडिओ केही महिनाअघि प्रसारण भएका थिए।

भिडिओमा लतिफाले भिलालाई जेल बनाइएको र चौबिसै घन्टा प्रहरी तैनाथ गरिएको बताएकी थिइन्। उनले भिडिओहरू बाथरूम भित्र रेकर्ड गरेकी थिइन्।

‘मैले बाथरूममा यो भिडिओ बनाइरहेकी छु किनकी यहाँमात्र म ढोका लगाएर बस्न सक्छु। म बन्धक बनाइएकी छु। स्वतन्त्र छैन। यो जेलकी कैदी हुँ। मेरो जीवन मेरो हातमा छैन,’ उनले भनेकी थिइन्।

७१ वर्षीय मुकतम संसारका अर्बपति शासकहरूमध्ये पर्छन्। उनको सम्पत्ति ४ अर्ब अमेरिकी डलर छ। संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफा उनैले बनाउन लगाएका थिए। उनका दुबई होल्डिङलगायत कम्पनीहरू छन्।

दुबईले भौतिक विकासको शिखर चुमे पनि त्यहाँका महिलाहरूले भने नैसर्गिक अधिकार पनि उपभोग गर्न पाएका छैनन्। यसअघि मुकतमकी श्रीमती हाया आफ्ना दुई सन्तानसहित भागेर बेलायत पुगेकी थिइन्।

प्रतिक्रिया