आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले शीतलनिवासमा दावी दर्ता गर्दैगर्दा, राष्ट्रपतिले दिईन् यस्तो प्रतिक्रिया

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् । राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले  जानकारी दिए ।

ओलीको दाबी कमजोर

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेका १२१ सहित १५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीको पक्षमा रहेका भनिएका जसपाका नेताहरुले भने राष्ट्रपतिले आह्वान गरेको ढाँचामा एकमुष्ट हस्ताक्षर नगरी पार्टीको लेटरप्याडमा पत्रमात्र शीतल निवासमा दर्ता गरेको शीतलनिवास स्रोतले बतायो । प्रक्रियाको हिसाबले धारा ७६ (५) को सरकार गठनका देउवाको दाबी बलियो देखिएको कानूनका जानकारहरु बताउँछन् ।

जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने, सांसदहरुलाई काठमाडौँ नछोड्न निर्देशन

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन दिने पक्का भएको छ । जसपाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुरा नगर्ने तर प्रधानमन्त्री अ‍ोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनैलाई समर्थन गर्नु उचित हुने नेता महतोको धारणा थियो । ‘

काँग्रेस–माओवादीले केही गर्न पनि नसक्ने, अरुले गर्दा त्यसको विरोध पनि गर्ने त्यो हुँदैन,’ महतोको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘जसले मधेशको माग पूरा गर्छ त्यसलाई हाम्रो समर्थन हुन्छ । त्यसका लागि तपाईंहरु पनि तयार रहनु होला, जतिखेर पनि तपाईंहरुलाई बोलाइन्छ ।’

महतोले भने, ‘सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ । दुवै विकल्पमा जसपा जानसक्छ ।’ सत्ता समीकरणका लागि जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष ठाकुरले निर्णय लिन सक्ने गरी उनलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै जसपाका अध्यक्ष महन्थ ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा चिया खान मात्रै गएको दाबी गरेका छन् । शुक्रबार बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको बताएका हुन् । बिहीबार अबेर राति प्रधानमन्त्री केपी शर्मा ओली, जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

ठाकुरले भेटघाट भएको स्वीकार गर्दै भने, ‘भेटघाट भएको छ राति । चिया खान गएको थिएँ । एक कप चिया खाएँ फिर्ता भएँ । स्वास्थ्य कस्तो छ भनेर सोध्नुभयो. ठीक छ भनेँ । अहिले कोरोनाकै चिन्ता छ ।’

त्यस्तै ठाकुरले उपेन्द्र यादव समूहसँग पनि छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ । हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ,’ उनले भने । ठाकुरले आफूलाई अहिलेसम्म कतैबाट प्रधानमन्त्रीको प्रस्ताव नआएको पनि बताए । उनले अहिलेको सरकारले नागरितासम्बन्धी अध्यादेश, संविधान संशोधन गर्न कार्यदल गठन गरेर आफूहरुको माग पूरा गरिरहेको पनि बताए ।

अध्यक्ष ठाकुरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो उपेन्द्र यादवहरुसँग छलफल गर्ने बताए । उनले शुक्रबार बिहान मात्रै पनि यादवहरुसँग भेटघाट भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।

यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो ।

बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको बताए । उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए । यस्तै बैठकमा जसपाको उपेन्द्र यादव समूहको समेत सहभागिता रहेको थियो ।

काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले यस्तो निष्कर्ष निकालेको हो ।

शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले सो निष्कर्ष निकालेसँगै माओवादसहितको गठबन्धनसँग छलफल राखिएको हो ।

प्रधानमन्त्रीमा देउवा र ओलीको दावी, कसको पक्षमा कति छन् सांसद ? यस्तो छ अंकगणित

प्रधानमन्त्रीमा २ कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दावी पेश गरेका छन् । देउवाको पक्षमा विपक्षी गठबन्धनले १४९ जना सांसदको बहुमत जुटाएको छ । र, नेताहरु अहिले सरकारमा दाबी पेश गर्न राष्ट्रपतिले तोकेको समयभित्रै शीतलनिवास पुगेका छन् ।

तथापि शीतलनिवासमा​ राष्ट्रपतिले नेताहरुलाई निकैबेर भेट नदिई कुराएकी छिन् । विपक्षीले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा बहुमत जुटाएका छन्

यता आफूसँग एमालेका १२१ जना सांसदहरु रहेको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतलनिवास पुगेका छन् । जबकि उनकै दलका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी नेताहरुसँग शीतलनिवासमै राष्ट्रपतिलाई भेट्न पुगेका छन् । माधव पक्षका सांसदहरुले विपक्षी गठबन्धनमा हस्ताक्षर गरिसकेकाले ओलीसँग १२१ सांसद नरहेको कागजबाटै पुष्टि हुने कुरा हो ।

तर प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले दुई दलको समर्थन आफूलाई रहेको जानकारीसहित प्रधानमन्त्रीमा ओलीले दाबी पेस गरेको बताए ।

‘एमालेको १२१ र जसपाको ३२ सांसदको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीमा केपी ओलीले दावी पेश गर्नुभएको छ । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ,’ भट्टराईले भने ।

यस्तै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ओलीले प्रधानमन्त्रीमा दावी गरेको भन्दै ट्विट गरेका छन् । ‘नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ। दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ’ उनको ट्विटमा भनिएको छ ।

संविधानको धारा ७६ (५) ले दलगत रुपमा नभएर व्यक्तिलाई मात्रै चिन्ने संविधानविदहरुले बताउँदै आएका छन् । अब यो अवस्थामा राष्ट्रपतिले के गर्लिन् ? विपक्षी दलको बहुमतको हस्ताक्षर ग्रहण गर्छिन् या प्रधानमन्त्री ओलीको कुरा सुन्छिन् ? यसबारे प्रष्ट हुन अब आधा घण्टा मात्रै कुर्नुपर्नेछ। किनभने, राष्ट्रपतिले दिएको समयसीमा ५ बजे समाप्त हुँदैछ ।

ओलीले फेरी पनि प्रधानमन्त्री पदमा दावी गर्न गइरहेका बेला उनको बहिर्गमनको कुरा चलिरहेको छ ।राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री ओलीको बहिर्गमन अहिलेको मुख्‍य आवश्‍यकता रहेको बताएको छ ।

जनमोर्चाका अध्‍यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम असंवैधानिक र लोकतान्त्रिक मूल्‍य मान्‍यता विरूद्ध रहेको भन्दै ओलीको बहिर्गमन मुख्‍य आवश्‍यकता रहेको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र, देशको राष्ट्रियता तथा जनताको स्वास्थ्यका लागि केपी ओलीको राजीनामा वा बहिर्गमन अहिलेको मुख्य आवश्यकता बनेको छ ।’ देशमा उत्पन्न अस्थिर राजनीतिक परिस्थितिका लागि ओली नै मुख्य रुपमा दोषी रहेका छन् । त्यसैले उनको बहिर्गमनका लागि हाम्रो पार्टीले जोड दिंदै आएको छ ।’

ओलीको बहिर्गमन पश्चात बामपन्थीहरुकाबीच आपसी समझदारी र सहकार्यका आधारमा नयाँ सरकारको निर्माण गरिनु पार्टीले जोड दिएको छ ।

संसद विघटन हुनसक्छ, मलाई दोष दिन पाइदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार सरकार निर्माण गर्न नसके आफूलाई समर्थन गर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार पत्रकार सम्मेलन गरी सके आफूविरुद्ध सरकार गठन गर्न नसके आफूलाई समर्थन गर्न आग्रह गरे । उनले संविधानको धारा ७६ को ५ अनुसार आफूले पनि प्रधानमन्त्रीको दाबी गर्न सक्ने बताए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नदिए प्रतिनिधिसभा विघटन हुन सक्ने र त्यसको जिम्मेवार आफू नहुने बताए । संविधानको धारा ७६(५) अनुसार आफू प्रधामन्त्री भए र त्यसपछि विश्वास प्राप्त गर्न नसके संसद विघटन हुने र त्यसको आरोप आफूलाई लगाउन नमिल्ने उनको तर्क छ ।

‘अहिलेसम्म मसंग १ सय २१ को मतभार छ । मलाई अलि सजिलो होला कि भनेर कोशिस गरिरहेको छु । यदि समर्थन प्राप्त भयो र त्यो राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु’ उनले भने, ‘अनि एक महिनाभित्र फेरि विश्वासको मत लिनेछु । फेरि विश्वासको मत नदिएर अनि विघटन (प्रतिनिधिसभा) गर्‍यो भनेर आरोप लगाउन पाइने छैन । विश्वासको मत नदिने अनि चुनावमा गयो भन्न त पाइने छैन ।’

संविधान अनुसार सरकार गठन नभए अन्तत चुनावमा नै जानुपर्ने भन्दै प्रधानमन्त्री ओलीले आफूलाई समर्थन गर्न आग्रह गरे । ‘समर्थन दिनोस् म सरकार बनाएर चलाउन चाहन्छु । दिनुहुन्न भने केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर फेरि चुनावमा लग्यो देशलाई भनेर भन्न पाइँदैन । यो अस्थिरता, अस्तव्यस्तता पैदा गर्ने, सधैंको विवाद खडा गर्ने सधैंको किचलो पैदा गर्ने उहाँहरु जवाफदेही हुनुपर्छ, म होइन’ ओलीले भने ।

आफूलाई विश्वास नदिए अर्को सरकार बनाउन पनि उनले चुनौती दिए । ‘अरुले बनाउनुहोस् चुनावमा नजाउँ । म त चुनाव भनेपछि प्रतिनिधिसभा विघटन भनेपछि अस्तिनै थुतुनो पोलेको मान्छे हुँ । म त्यता जान चाहन्न तर मेरो हातमा छैन’ ओलीले भने, ‘अरुले घेराबन्दी गर्ने । घेराबन्दी गरेर असफल बनाउने अनि आरोप चाहीँ मेरो टाउकोमा हाल्न पाइँदैन ।’

प्रधानमन्त्री ओली आफू तत्काल चुनावमा जाने पक्षमा नरहेको तर विपक्षीहरुको कारणले त्यो स्थिति बन्यो भने पनि संवैधानिक प्रक्रियाको रुपमा सबैले स्वीकार गर्नुपर्ने बताए ।

‘उहाँहरुले चुनावमै पुर्‍याउनुभयो भने आकाश खस्ने कुरा होइन । यो संवैधानिक प्रक्रिया हो । चुनावै भयो भने पनि आकाश खस्छ भन्ने कुरा होइन । चुनाव त यो मंसिरमा नभए अर्को मंसिरमा त गर्नैपर्छ ।’

 

प्रतिक्रिया