आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महन्थलाई प्रधानमन्त्री बन्न बाबुराम र उपेन्द्रको प्रस्ताव

प्रकाशित
526
SHARES

काठमाडौँ । डा.बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने गृहकार्य सुरु गरेका छन् । उनीहरुले प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाएका छन् । जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षले पनि सघाउने गरी कुराकानी अगाडि बढेको अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए ।

उनले भने, ‘अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रस्ताव पठाइसक्नु भएको छ । महन्थ ठाकुरले जसपाको नेतृत्वमा सरकार बनाउने कि ओलीलाई साथ दिने उहाँमा निर्भर छ । उहाँको जवाफको प्रतीक्षा भइरहेको छ ।’

अध्यक्षद्वय भट्टराई र यादवले आजै एमालेका नेता माधवकुमार नेपाल, काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन् । उनीहरु जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक रहेको बताइएको छ । यद्यपि अझै छलफलहरु जारी रहेको छ ।

जसपा नेपालका एक कार्यकारिणी सदस्यका अनुसार महन्थ ठाकुर प्रधानमन्त्री हुन तयार नभए माधवकुमार नेपाललाई पनि प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सकिने विषयमा पनि छलफल भइरहेको छ । माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईबीच फोनमा कुराकानी भएको थियो भने उपेन्द्र यादव र माधव नेपालबीच प्रत्यक्ष भेटघाट भएको ती नेताले बताए ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच जसपा नेपालको नेतृत्वमा सरकार बनाउने विषयमा यसअघि सहमति भएको थियो । दुवैजनाको हस्ताक्षरबाट विज्ञप्ति पनि जारी भएको हो । तर अध्यक्ष ठाकुर र पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने सहमति भएको कुरा बाहिर आएको छ । यसले गर्दा जसपा नेपालको एकतामा संकट उत्पन्न भएको छ ।

पार्टीको जेठ ८ र ९ गतेको लागि जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ । अगामी राजनीतिक विषयमा कार्यकारिणी समितिको बैठकबाट निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो तर त्यो बैठक बस्ने कि नबस्ने नै अन्योल रहेको छ ।

सिंहदरबारमा यतिबेला अध्यक्ष ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई बोलाएर छलफल गरिरहेका छन् । सो छलफलपछि उपेन्द्र यादवसँग पनि छलफल हुने बताइएको छ ।

यस्तै सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् ।

अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । यो समाचार तयार पार्दासम्म उनीहरुको रिट दर्ता भइसकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेकी छन् ।प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएको भन्दै उनको आलोचना भइरहेको छ ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरू नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल लगायतका नेताहरु छलफलमा जुटेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उनीहरुबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेलामा कांग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र–बाबुराम पक्षको गठबन्धन बनेको थियो । ओलीले विश्वासको मत लिन सकेका थिएनन् । तर दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पनि जुटाउन नसकेपछि हाल संसदको सबैभन्दा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री छन् ।

तर, प्रधानमन्त्री ओली पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक हुने भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।

नयाँ सरकारको विकल्प दिने समय घर्किंदै जाँदा नेताहरुको व्यस्तता बढेको छ । कांग्रेसले विहानै पदाधिकारी बैठक बसाएर सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीसँग निकट रहेको जसपाको महन्थ–राजेन्द्र पक्षले पनि आफ्ना सांसदहरुसँग छलफल गरेको छ ।

जसपा ठाकुर पक्षका सांसदहरुको बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए ।

उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् । राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो ।

राष्ट्रपति निवासमा बिहीबार राति चिया खानमात्रै गएको थिएँ : ठाकुर

जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा चिया खान मात्रै गएको दाबी गरेका छन् ।

शुक्रबार बिहान जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा राजनीतिक विषयमा छलफल नभएको बताएका हुन् । बिहीबार अबेर राति प्रधानमन्त्री केपी शर्मा ओली, जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

ठाकुरले भेटघाट भएको स्वीकार गर्दै भने, ‘भेटघाट भएको छ राति । चिया खान गएको थिएँ । एक कप चिया खाएँ फिर्ता भएँ । स्वास्थ्य कस्तो छ भनेर सोध्नुभयो. ठीक छ भनेँ । अहिले कोरोनाकै चिन्ता छ ।’

त्यस्तै ठाकुरले उपेन्द्र यादव समूहसँग पनि छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ । हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ,’ उनले भने । ठाकुरले आफूलाई अहिलेसम्म कतैबाट प्रधानमन्त्रीको प्रस्ताव नआएको पनि बताए । उनले अहिलेको सरकारले नागरितासम्बन्धी अध्यादेश, संविधान संशोधन गर्न कार्यदल गठन गरेर आफूहरुको माग पूरा गरिरहेको पनि बताए ।

अध्यक्ष ठाकुरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो उपेन्द्र यादवहरुसँग छलफल गर्ने बताए । उनले शुक्रबार बिहान मात्रै पनि यादवहरुसँग भेटघाट भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।

प्रतिक्रिया