आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिको कदममा भीम रावलको कडा पर्तिक्रिया

प्रकाशित
861
SHARES

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि एमाले माधव नेपाल समूहका नेता भीम रावलको प्रतिक्रिया आएको छ ।

उनले नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका छन् । ‘नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न । नागरिकताबारे संविधान सभामा धेरै बहस भइ संविधानमा लेखिएको भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ,’ रावलले भनेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी पनि लोकतन्त्र र संविधानविरुद्ध गएको प्रमाणित भएको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानका विरुद्ध अपराध गरेको भन्दै प्रचण्डले यो क्षम्य नहुने बताए ।

राष्ट्रपतिले विहीबार साँझ २३ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्डले भने, ‘यो ठूलो षड्यन्त्र हो । संविधान र लोकतन्त्रमाथिको अर्को घात हो ।’

प्रचण्डले राष्ट्रपतिमाथि आक्रोश पोख्दै भने, ‘मैले अहिलेसम्म प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र संविधानका विरुद्ध घात गरेका छन् मात्रै भन्ने गरेको थिएँ, भोलि ५ बजेसम्म भनेर जुन नाटक गरिएको छ, यसबाट राष्ट्रपति पनि लोकतन्त्र र संविधानका विरुद्ध गएको कुरा प्रमाणित भएको छ ।… देशलाई नै दुर्घटनामा लैजाने जो काम भएको छ, यो क्षम्य छैन ।’

राष्ट्रपतिले गरेको नयाँ सरकार गठनको आव्हानबारे प्रचण्डको प्रतिक्रिया जस्ताको त्यस्तै–

घटनाक्रम नाटकीय ढंगले देखिएको छ । खासगरी प्रधानमन्त्रीले र राष्ट्रपतिले जसरी काम गर्नुभएको छ, यो संविधानविरोधी छ, लोकतन्त्र विरोधी छ र हाम्रा स्थापित मूल्य मान्यता, परम्परा र नजीरहरुका पनि विरुद्धमा छ । पहिलो कुरा त यो ठूलो षड्यन्त्र हो । संविधान र लोकतन्त्रमाथिको अर्को घात हो भन्ने मलाई लागेको छ ।

दोस्रो कुरा, संविधानले बडो प्रष्टसँग विश्वासको मत ३० दिनभित्र लिनुपर्ने व्यवस्था गरेको छ, त्यो संसदमा गएर लिनुपर्ने हुन्छ । यो स्पष्ट संवैधानिक व्यवस्था हुँदाहुँदै प्रक्रियालाई कुल्चेर, मिचेर जे गर्न खोजिएको छ, यो त्यही पुरानै, संसद विघटन गर्नेबेलामा प्रधानमन्त्री ओलीको जो नियत थियो र राष्ट्रपतिबाट तुरुन्तै त्यसलाई सदर गरेर जुन मनसाय प्रकट गरिएको थियो, त्यसैको यो निरन्तरता हो भन्ने मलाई लाग्छ ।

यो जे काम भइराखेको छ, यो काम हेर्दा मैले अहिलेसम्म प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र संविधानका विरुद्ध घात गरेका छन्, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी ढंगले चलेका छन् मात्रै भन्ने गरेको थिएँ, भोलि ५ बजेसम्म भनेर आज जुन नाटक गरिएको छ, यसबाट राष्ट्रपति पनि लोकतन्त्र र संविधानका विरुद्ध गएको कुरा प्रमाणित भएको छ ।

अहिले यो कोभिड महामारीको कारणले जनताको जीवन धरापमा परिराखेका बेलामा त्यतापट्टि ध्यान केन्द्रित गर्नु त कता छ कता, अहिले फेरि एउटा राजनीतिक षडयन्त्रमार्फत देशमा दुर्घटना निम्त्याउने जो काम गरिएको छ, यो राष्ट्र, जनता र संविधानमाथिको घोर अपराध गरिएको म ठान्दछु । र, यसका विरुद्ध अब सबै जागरुक हुनुपर्ने हुन्छ ।

राष्ट्रपतिजस्तो गरिमामय पद, जसलाई हामी सबैले मिलेर एउटा सम्मानितरुपमा स्थापित गर्न चाहेका थियौं । राष्ट्रपतिले अस्ति सपथ ग्रहणका बेलामा पनि प्रधानमन्त्रीको त्यो हरकत, देशका सबै बुद्धिजीवी, संविधानविद् र नागरिकहरुले लाजमर्दो घटनाका रुपमा लिएका थिए, त्यसलाई सच्याउनतिर लाग्नु त कता हो कता, अझ उल्टै देशलाई नै दुर्घटनामा लैजाने जो काम भएको छ, यो क्षम्य छैन ।

सबै राजनीतिक दल र नागरिक समाजले राष्ट्रपतिको यो गैरजिम्मेवार र संविधानविरोधी क्रियाकलापको विरोधमा आवाज उठाउनुपर्छ भन्ने मलाई लाग्छ । सबै राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी र सबै आम जनसमुदायले यो राष्ट्र, जनता, लोकतन्त्र र संविधानका विरुद्ध भइराखेको षड्यन्त्रको फेरि प्रतिवाद गर्न जरुरी छ ।

देशलाई जसरी पनि दुर्घटनातर्फ लैजाने षड्यन्त्र अहिले भइराखेको छ, हामी सबै देशभक्त, लोकतन्त्रवादी, संविधानका पक्षधरहरु र शान्तिका पक्षधरहरुले एक भएर अगाडि बढ्नुको कुनै विकल्प छैन ।

काँग्रेस, जसपा, माधव नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव र मोनविक्रमहरुसँग पनि म लगातार अन्तरक्रियामा छु । अब मोर्चा बनाएर अगाडि जानुको विकल्प छैन । म अहिले सबै राजनीतिक दलका नेताहरुसँग छलफलमै छु । जिम्मेवारीका साथ छलफल अगाडि बढाउनुपर्छ । हामी भोलि बिहान र दिउँसो राजनीतिक दलहरु, बुद्धिजीवी नागरिक समाजसँग एउटा समझदारी बनाउनेतिर लाग्छौं ।

आजका दुईवटा घटना, सर्वोच्च अदालतले गरेको ७ जना मन्त्रीलाई हटाउने निर्णय र राष्ट्रियसभाको रिक्त पदमा भएको उपनिर्वाचनको परिणामले केपी र केपी गुटको स्थिति कति नाजुक दिशातिर गएको छ र जनतामा कति अलोकप्रिय भइसकेको छ भन्ने कुरा प्रमाणित भएको छ ।

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने भएको छ । शुक्रबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने काँग्रेस नेताहरुले बताएका छन् ।

यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका छन् । नेताहरुसँगको कुराकानीपछि सभापति देउवा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा कदम उठाउनुपर्ने निष्कर्षमा पुगेको बुझिएको छ ।

काँग्रेस नेता रमेश लेखकले राष्ट्रपतिबाट विहीबार जारी नयाँ सरकार गठनसम्बन्धी आह्वानबारे चर्चा गर्दै भने, ‘यो त अति भयो । यो देशमा संविधान विधि, पद्दति केही पनि छैन भन्ने कुराको नमुना हो यो । यो विषयमा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आएको छ ।’

संविधानको गम्भीर उल्लंघनको घटना एकपछि अर्को हुन थालेकाले काँग्रेसले कडा कदम चाल्नुपर्ने बेला आएको लेखकको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गणतन्त्र र लोकतन्त्रमाथि खतरा पैदा भएको लेखकले बताए ।

उनले भने, ‘यो देशबाट गणतन्त्र जान्छ भने विद्या भण्डारीका कारणले जान्छ । लोकतन्त्र जान्छ भने केपी ओलीका कारणले जान्छ । यो कुरा जनतामा लैजानका लागि पनि महाअभियोग र अविश्वासको प्रस्ताव ल्याउनुपर्छ ।’

राष्ट्रपतिविरुद्धको महाअभियोग पास हुने अवस्था नबनेपनि त्यो ठाउँसम्म पुग्नुपर्ने अवस्था आएको उनले बताए । काँग्रेस नेता लेखकले भने, ‘भोलि यो लडाइँमा महाअभियोग पास होला न होला, अलग कुरा हो । तर, त्यो ठाउँसम्म जाने कुरा हो यो ।’ महाअभियोग पास हुन संसदको दुई तिहाइ चाहिने संवैधानिक व्यवस्था छ ।

विपक्षी दलसँग महाअभियोग पास गर्ने गणित भने छैन । शुक्रबार बिहानको बैठकमा यिनै विषयमा छलफल हुने लेखकले बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव लिएर जाने हो कि ? अथवा महाअभियोग पनि लिएर जाने हो कि ? वा अर्को सरकार बनाउनका लागि तयारी गर्ने हो कि, यिनै विषयमा छलफल हुन्छ ।’

विहीबार साँझ आफूसँगको भएको कुराकानीमा यसबारे छलफल गर्न देउवा पनि तयार भएको लेखकले बताए । यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहमत नै देखिएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको पौडेलको टिप्पणी छ ।

यस्तै काँग्रेसका नेता गगन थापाले पनि महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुपर्ने बताएका छन् । थापाले भने, ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौँ । सुझबुझ पुर्याऔं र यिनले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं ।’

वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी दलहरूलाई पनि संविधान र संसद बचाउन शुक्रबार नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सुझावका छन् । ‘संसद बचाउने हो भने भोलि नै यो प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्नुपर्छ र नयाँ प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर संसदबाट प्रक्रिया सुरु गर्नुपर्छ,’ थापाले भने, ‘अहिलेको अवस्थामा संसद बाँच्न जरुरी छ ।’

उता माओवादी अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिले संविधान र लोकतन्त्र मास्न खोजेको भन्दै यो क्षम्य नहुने बताएका छन् । प्रचण्डको आक्रोश हेर्दा माओवादीले पनि राष्ट्रपतिमाथि महाअभियोग लगाउने काँग्रेसको प्रस्तावलाई समर्थन जनाउने संकेत देखिएको छ ।

प्रतिक्रिया