आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मतदान सुरु हुनै लाग्दा विवेकशील साझा पार्टीले निकाल्यो यस्तो विज्ञप्ति, बादल र देवकोटा तनावमा

प्रकाशित
763
SHARES

काठमाडौं । ‘नो भोट’को व्यवस्था नगरिएको भन्दै विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएको छ ।उपनिर्वाचनका उम्मेदवारबाट राष्ट्रिय सभामा अपेक्षाकृत भूमिका निर्वाह हुनेमा आश्वस्त पनि नभएको भन्दै विवेकशील साझा पार्टीले भोट नहाल्ने निर्णय गरेको हो ।

‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विवेकशील साझा पार्टीको बागमती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बागमती प्रदेशसभामा विवेकशील साझा पार्टीका तीन जना सांसद छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफू निर्वाचित भएको दल माओवादी केन्द्र त्याग गरी नेकपा एमालेमा प्रवेश गरेका कारण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम राष्ट्रिय सभामा रिक्त हुन आएको बागमती प्रदेशबाट निर्वाचित हुने एक स्थानका लागि आज उपनिर्वाचन गरिएको हो ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री थापा, विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका नेता खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । प्राविधिक रूपमा देवकोटाको ‘स्वतन्त्र’ उम्मेदवारी रहे पनि सत्तारुढ नेकपा एमालेकै एउटा खेमाको तर्फबाट उनको उम्मेदवारी आएको भन्दै विवेकशील साझाले तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह हुन नसक्ने ठहर गरेको छ ।

विवेकशील साझाले नो भोट लागु गर्न सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न मागसमेत गरेको छ । सर्वोच्च अदालतले २०७० पुस २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो । सात वर्ष भन्दा बढी भइसक्दा पनि नो भोटको व्यवस्था नगरिएको भन्दै उसले खेद व्यक्त गरेको छ ।

यस्तै वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।

यो उपचुनावमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता कायम रहेको आयोगले जनाएको छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटौँडा नगरपालिका-४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ ।

उपचुनावमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपचुनाव भने जेठ १७ गते हुने छ ।

प्रतिक्रिया