आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

प्रकाशित
556
SHARES

काठमाडौँ । कोरोना महामारीको मौकामा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार अक्सिजनको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद रु ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ । उनीहरुविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका नागरिकका लागि दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने अन्योल उत्पन्न भएको छ।

मंगलबार सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई यो वर्षको अन्त्यतिरबाट मात्रै खोप दिन सकिने आशा व्यक्त गरेका छन्। भारतमा महामारी फैलिएपछि आफ्नो देशका नागरिकलाई चाहिने खोप सुरक्षित नगरी विदेशमा निर्यात गरेको भन्दै नरेन्द्र मोदी सरकारको चर्को आलोचना हुँदै आएका बेला सेरमले तत्काल देशबाहिर खोप नदिने निर्णय लिएको हो।

नेपालमा कोभिसिल्डको पहिलो डोज खोप लगाएकाले १२ सातभित्र दोस्रो डोज लिनुपर्छ। सेरमले दिएको जानकारीले नेपाललाई जेठभित्रै प्राप्त भइसक्नुपर्ने १० लाख डोज खोप आउने स्थिति नदेखिएको कोभिड–१९ विरुद्धका खोप संयोजक डा.श्यामराज उप्रेतीले बताए। एक महिनाअघि नै नेपाल आइ सक्नुपर्ने खोप भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि निर्यातका लागि प्रतिबन्ध लगाएसँगै रोकिएको थियो। नेपालले यो खोपका लागि अग्रिम भुक्तानी गरिसकेको छ। कोभ्याक्सले मेभित्रै दिने भनेको खोप पनि कम्पनीको जानकारीले अन्योलमा परेको डा.उप्रेतीले भने।

प्रतिक्रिया