आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्वोच्चले ओली सरकारलाई दियो अर्को कडा अन्तरिम आदेश

प्रकाशित
426
SHARES

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

बन्दाबन्दी पूणरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘सामान्य परिस्थितिमा सम्पूर्ण कर विवरण र कर दाखिला गर्नु करदाताको कर्तव्य भएता पनि कोभिड १९ का कारण सिर्जित बन्दाबन्दीको विषम परिस्थितिमा करदाताले करको विवरण र कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति देखिदैन ।’ कोभिड-१९ को दोस्रो महामारीले करदातासमेत यस समस्याबाट अछुतो नरहेको सर्वोच्चको उल्लेख गरेको छ ।

नेपालमा थप ८,१७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा एकै दिन पुष्टि गरिएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार अपराह्ण प्रस्तुत गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ। सो अवधिमा उपत्यकामा २,४८६ जना सङ्क्रमित थपिएका छन्। तीमध्ये भक्तपुरमा २२८ र ललितपुरमा २७० जना थपिएका हुन्।

बुधवार भेटिएका सङ्क्रमित २१,८४७ परीक्षणबाट पुष्टि भएका हुन्। गत सातादेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ७,९८९ जना सङ्क्रमणमुक्त भएका छन्। मङ्गलवार प्रकाशित विवरणमा मन्त्रालयले ८,२०३ सय जनामा सङ्क्रमण र १९६ जनाको मृत्यु पुष्टि भएको जनाएको थियो।

कोरोना भाइरसको नयाँ भेरिअन्ट कस्तो हो र कति चिन्ताजनक हो ? बीबीसीकाे रिपाेर्ट यस्ताे छ

नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको मङ्गलवार पुष्टि भएसँगै त्यो भाइरसको प्रकृतिबारे मानिसहरूले चिन्ता र चासो व्यक्त गर्न थालेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जीन सिक्वन्सिङ गर्दा बी.१.६१७.२ भेरिअन्ट र बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको हो।

हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलवार साँझ जारी विज्ञप्तिमा उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनले मे महिनामा त्यसलाई “भेरिअन्ट अफ ग्लोबल कन्सर्न” भनेर वर्गीकरण गरेको थियो। अर्थात् उसका अनुसार यो प्रकारको कोरोनाभाइरस चिन्ताको विषय हो।

अरू भेरिअन्टको तुलनामा बी.१.६१७ को उत्परिवर्तन अझ सजिलै हुने प्रारम्भिक अध्ययनहरूबाट देखिएको र त्यसबारे थप अध्ययन आवश्यक रहेको मे ११ तारिखमा डब्ल्यूएचओले भनेको थियो।

यो कस्तो भेरिअन्ट हो?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत वर्षको अक्टोबर महिनामा भारतमा पहिलो पटक बी.१.६१७ भेरिअन्ट पुष्टि भएको थियो। डब्ल्यूएचओले मे १२ तारिखमा जनाएअनुसार त्यो दिनसम्म ४४ वटा देशमा उक्त भेरिअन्ट देखिएको थियो।

“भारतसँग खुला सीमा रहेको नेपालमा पछिल्लो समय तीव्र गतिमा सङ्क्रमण बढ्न थालेपछि भारतमै देखिएको भेरिअन्ट हो कि भन्ने आशङ्का थियो।” “त्यो चाहिँ अहिले सत्य साबित भएको छ,” अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत भाइरसविद् डा. सुदीप खड्काले बुधवार टेलिफोनमा भने।

नेपालमा पूरै जीनोम सीक्वन्सिङ गर्न सक्ने अवस्था नभएका कारण पुष्टि हुन समय लागेको उनी बताउँछन्। उक्त भेरिअन्टको प्रकृतिबारे डा. खड्काले थपे, “यो मानव शरीरमा अलि धेरै सङ्क्रामक हुनसक्छ र एन्टिबडी विकास भइसकेका मान्छेमा पनि एन्टिबडीले अलिकति कम काम गर्छ भन्ने देखिएको छ।” “तर वास्तवमै यसको के कति प्रभाव छ भन्ने कुराको निर्क्योल हुन अझ बाँकी नै छ।”

नेपालमा कसरी पुष्टि भयो?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो समय भारतमा जस्तै सङ्क्रमणदर देखिन थालेपछि जीन सीक्वन्सिङका निम्ति नमुनाहरू सङ्कलन गरियो।

“यसरी छिटो सङ्क्रमण फैलिनुमा कुन भेरिअन्ट जिम्मेवार छ भनेर हामीले सुदूरपश्चिमस्थित प्रवेशबिन्दुदेखि लिएर देशका विभिन्न ठाउँबाट नमुनाहरू सङ्कलन गरी भारत पठायौँ,” उनले भने। “कुल ३५ वटा नमुनामध्ये ३४ वटामा .१.६१७.२ भेरिअन्ट र एउटामा बी.१.६१७.१ भेरिअन्ट पुष्टि भयो।”

नेपालमा गत चार हप्तामा तीव्र गतिमा सङ्क्रमण फैलिनुमा त्यही भेरिअन्ट जिम्मेवार रहेको डा. पौडेल बताउँछन्। नेपालमा पुष्टि भएको नयाँ प्रकारको कोरोनाभाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यद्यपि नेपालमा अझै पर्याप्त परीक्षण नगरिएकोले ठोकुवा गरेर भन्न गाह्रो हुने भाइरसविज्ञ खड्का बताउँछन्। “तर अहिलेसम्म यो भाइरसले सङ्क्रमित बनाएको उमेर समूहलाई हेर्दा १८ देखि ५० वर्षसम्मको समाजमा जुन चलायमान उमेर समूह छ सङ्ख्यात्मक रूपमा त्यही बढी सङ्क्रमित भएको देखिन्छ। तर मृत्यु चाहिँ ६० वर्षमाथि बढी छ।”

यो कुरा थाहा पाउने अझै समय भइसकेको छैन। यो भेरिअन्टलाई खोपले काम नगरेको भन्ने विषयमा तथ्याङ्कहरू उपलब्ध छैन। दक्षिण अफ्रिकी भेरिअन्टका सम्बन्धमा सुरुमा अनुमान गरिए भन्दा खोप बढी प्रभावकारी देखिएको छ।

केमा पनि अहिले सङ्क्रमण फैलिनुका एक प्रमुख कारण यो भेरिअन्ट रहेको बताउँदै त्यहाँको सरकारले यो यूके भेरिअन्टभन्दा सजिलै सङ्क्रमण फैलिने देखिएको बताएको छ।

यूके सरकारको वैज्ञानिक सल्लाहकारहरूले ‘आफूहरू यूके भेरिअन्टभन्दा यो बढी सङ्क्रामक भएकोमा विश्वस्त रहेको र यसको सङ्क्रमणदर ५० प्रतिशतसम्म बढी हुन सक्ने’ बताएको छ। तर यो विषयमा निश्चित रूपमा भन्न सकिने अवस्था नरहेको ती वैज्ञानिकहरूले बताएका छन्।

रोकथाम तथा नियन्त्रणका लागि परीक्षण बढाउनुका साथै खोप अभियानमा तीव्रता दिनुको विकल्प नरहेको भाइरसविद् डा. खड्का बताउँछन्। “त्यसका साथै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने लगायत जनस्वास्थ्यका जेजति मापदण्ड सुन्दै आएका छौँ त्यसलाई सबैले निरन्तरता दिनुपर्ने हुन्छ।”

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेल पनि सावधानी अपनाउनुको विकल्प देख्दैनन्। “जुनसुकै भेरिअन्ट भए पनि सबैभन्दा मुख्य कुरा जनस्वास्थ्यका मापदण्डको पालनामा सबै जना चनाखो सचेत र सजग हुनुपर्ने हुन्छ।”

“यो भेरिअन्ट हकमा अब हामीले थप सतर्कता र होशियारी अपनाउनुपर्ने स्पष्ट भएको छ,” उनले थपे। सङ्क्रमण रोकथाम तथा नियन्त्रणको प्रयासमा हाल देशका सबैजसो जिल्लामा निषेधाज्ञा लागु छ।

कोरोना संक्रमितमा देखिन सक्ने यी ११ लक्षण, कस्तो लक्षण देखिए के खाने, के नखाने ?

कोभिड १९ संक्रमित बिरामीहरुलाई स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ। कोभिड १९ संक्रमितलाई अन्य दीर्घ रोग भए नभएको एकिन गरि आवश्यक पोषण व्यवस्थापन गर्नु पर्दछ। मधुमेह, उच्च रक्तचापजस्ता जीवनशैलीसँग सम्बन्धित दीर्घ रोग भएका व्यक्तिहरु कोभिड १९ संक्रमित भएमा संक्रमणका लक्षण र दीर्घरोगको प्रकृति समेतलाई ध्यानमा राखेर खानपान गर्नु पर्दछ। दीर्घ रोग समेत रहेका कोरोना संक्रमितले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहमा खानपानमा ध्यान दिन आवश्यक छ।

यस रोगको उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई नसकेको अवस्थामा खानपान र जीवनशैलीलाई स्वस्थ राख्दै संक्रमणबाट जोगिने उपायहरु अवलम्बन गर्नु मात्र अहिलेसम्मको विकल्प हो।

यस महामारीमा संक्रमणको दर, संक्रमणको जोखिम र मृत्युमा व्यक्तिको पोषण अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। त्यसैले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक हुन्छ। उचित पोषणले रोग प्रतिरक्षा प्रणाली बढाउँनुका साथैसंक्रमणको जटिलता र अस्पताल बस्ने दिन समेत घटाउँदछ।

सामान्यतया कोभिड-१९ संक्रमित (लक्षण नभएकाले समेत) खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानुपर्दछ। प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथैशरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खान आवश्यक छ।

टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्नेहुनाले टुसा उमारिएकोगेडागुडी नियमित खाने।

फर्मेन्टेड खानेकुराहरु जस्तैः दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक रुपमा आवश्यकताका आधारमा खाने।

दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने। कम्तिमा २ लिटर पानी दैनिक पिउने। बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने। चपाउन समस्या भएको खण्डमा खिचडी, लिटो, गिलो खाना खाने।

६० बर्षमाथिको उमेर समूहकाहरुको हकमा उनीहरुको हड्डी कमजोर हुन सक्ने भएकोले क्याल्सियम बढि पाईने खानेकुराहरु जस्तैः दूध, दहि, मोहि, दूधबाट बनेका परिकारहरु जस्तैः पनिर, केफिर, छेना जस्ता परिकारहरु नियमित खाने।

रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने। भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषकका रुपमा लिइन्छ। भिटामिन ए का स्रोतहरु ः मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दुध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि।

भिटामिन सि का स्रोतहरु : अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफुल तथा पालकजस्ता हरिया सागपात आदि।
भिटामिन इ का स्रोतहरु : काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि।
जिङ्कका स्रोतहरु : गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासुआदि।

दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने। धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने। बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने। कार्बोनेटेड पेय पदार्थहरु नखाने। चिल्लो, तारेको खानेकुराहरु नखाने।

धुम्रपान तथा मद्यपान नगर्ने। लक्षणका आधारमा खानपानको व्यवस्थापन खोकी लागेमा- मह, कागती, मन तातो बेसार पानी, झोलिलो खानेकुरा प्रसस्त पिउनु पर्दछ। छिट्टै अघाएको महसुस भएमा-पटक पटक थोरै थोरै शक्तिवद्र्धक खानेकुरा खानु पर्दछ।

खान मन नलागे वा भोक कम लागेमा
फलफूल प्रसस्त मात्रामा खानु पर्दछ।पाचन प्रक्रियामा मद्दत गर्ने र खान रुची बढाउन मद्दत गर्न भिटामिन तथा खनिज पदार्थहरु खाद्य पूरक
मार्फत पूर्ती गर्न सकिन्छ तर चिकित्सक वा डाइटिसियनको सिफारिसमा मात्र खाद्य पुरक खानु पर्दछ।

तौल घटेमा
पर्याप्त मात्रामा पोषणयुक्त तथा सन्तुलित खाना खाने गर्नु पर्दछ। पटक पटक थोरै मात्रामा खाना खाने गर्नु पर्दछ। पर्याप्त मात्रामा शक्ति तथा प्रोटिन दिनेखाना खानु पर्दछ। कम शक्ति दिने खानेकुरा जस्तै पातलो सुप, चिया, जुस धेरै खानु हुँदैन। यस्ता खाने कुराले पेट भर्ने काम गर्दछ तर क्यालोरीको कमी हुन सक्छ।

सास फेर्न गाह्रो भएमा
कार्वोहाइड्रेड कम भएको खानेकुरा खानु पर्दछ। शक्तिका लागि स्वास्थ्यवद्र्धक चिल्लोभएको खाना खानुपर्दछ। प्रोटिनको लागि उच्च कोटीको प्रोटिनका स्रोतहरु जस्तै अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर खानामा समावेश गर्नु पर्दछ। पेट चर्किने गरि अनावश्यक रुपमा खानु हुँदैन। कुनै कुनै अवस्थामा दैनिक क्यालोरी आवश्यकतामा ५० प्रतिशतले सम्म कम गर्नु पर्ने हुन सक्छ र बिस्तारै खानेकुराको मात्रा बढाउदै जानुपर्दछ जसले गर्दा श्वासप्रश्वासमा सहज हुन्छ।

शरीर दुखेमा वा थकाई लागेमा
खानामा प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा समावेश गर्ने। चिनी वा गुलिया खानेकुरा कम खाने। मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने। पटक पटक गरि थोरै थोरै मात्रामा खानेकुरा खाने। पर्याप्त मात्रामा खाना खान नसके भिटामिन र खनिज पदार्थ खाद्य पूरक मार्फत पूर्ती गर्ने। शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने।

धेरै खकार, सिगान आएमा
भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात बढी मात्रामा खाने। मनतातो झोलिलो खानेकुरा, सुप प्रशस्त मात्रामा पिउने। हिस्टामिनयुक्त खानेकुराहरु जस्तै प्रशोधित मासु, सुकाएको फलफूल, एभोकाडो, टमाटर, पालुबगो, च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने।

वान्ता भएमा
थोरै थोरै गरी पटक पटक खाना खाने। बिहान उठ्ने वितिक्कै सुख्खा खाना खाने। धेरै तातो खानेकुरा नखाने। चिल्लो कम भएका खानेकुरा खाने। खाना सँगसँगै झोल वा पानी नपिउने। थोरै पछाडी ढल्किएर (४५ देखि ९० डिग्री कोणमा) बसाएर खाना खाने÷खुवाउने। बढी मसलेदार, बढी गुलियो, बढी चिल्लो भएका र कडा गन्ध भएका खानेकुरा नखाने÷नखुवाउने।

रक्तअल्पता देखिएमा
आइरन बढी भएका खानेकुरा जस्तैः हरिया सागपात, मासु, कलेजो, माछा, दाल, गेडागुडी खाने। खानासँगै भिटामिन सि भएका अमिला फलफूलहरु जस्तैः कागती, अमला आदि खाने। चिया, कफी नखाने। चिकित्सकको सिफारिसमा मात्र रगत बढाउने औषधि खाने।

शरिर सुन्निएमा, फोक्सोमा पानी जमेमा
खानामा नुनको मात्रा घटाउनु पर्दछ। झोलिलो खानेकुरा र पानीको मात्रा घटाउनु पर्दछ। प्रसस्त पोटासियम पाउने खानेकुरा खानु पर्दछ। मेथीको साग, बन्दा, हरियो धनिया, नास्पाती, आँप, चाइनिज साग, मुला÷गाँजर, लट्टेको साग, भुईँकटहर, अमला, घिरौँला, करेलो, पालुंगो, साग, मेवा, आलुबखडा, चिचिन्डो, भान्टा ।

आलु÷पिँडालु÷तरुल, स्याउ, कागती, लौका, काउली, सख्खरखण्ड, अम्बा, आरु, इस्कुस, सिमी, कर्कलो, खरबुजा, केरा, परवल, भिन्डी, सबैखालको गाढा हरियो सब्जीहरु, स्टबेरी, जुनार, सुन्तला, काँक्रो, हरियो प्याज, सजिवन, अनार, एभोकाडो, बकुल्ला, फर्सी, हरियो मेवा, मटर कोसा, हरियो भटमास लगायतका तरकारी तथा फलफुलमा पोटासियम पाइन्छ।

ज्वरो आएमा
ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ। आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा समावेश गर्नु पर्दछ। बिरामीले प्रयाप्त खाना नखाएर भिटामिन ए, सि, बि, डि, ई, जिंक, आइरन, फोलेट, फाइबर खानाबाट आवश्यक मात्रामा प्राप्त गर्न नसके चिकित्सक वा डाइटिसियनको सिफारिसमा खाद्य पुरकको प्रयोग गर्नुपर्दछ।

प्रतिक्रिया