आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिज्ञ भन्छन प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयो

प्रकाशित
862
SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा सार्वजनिक अपील जारी गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई भोट मागेका छन् । नेकपा एमालेको अध्यक्षका तर्फबाट बुधबार दिउँसो २ पृष्ठ लामो अपील जारी गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवार बादललाई भोट नदिई अरुलाई दिएमा क्षम्य नहुने भन्दै एमालेका मतदातालाई चेतावनीसमेत दिएका छन् ।

निर्वाचन कानुनका जानकारहरुले यसरी मौन अवधिमा अपील जारी गरेर भोट माग्नु अनि मतदाताहरुमा धम्कीको भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताएका छन् । निर्वाचन आयोगले पनि यसमा आफ्नो ध्यानाकर्षण भएको बताइसकेको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती यसरी मौन अवधिमा सरकारले फलानालाई मतदान गर भन्नु आचारसंहिताको उल्लंघन भएको बताउँछन् । उनी भन्छन्, ‘यो आचारसंहिताको उल्लंघन हो, प्रधानमन्त्रीले यसो नगरेको भए हुन्थ्यो । प्रधानमन्त्री वा पार्टी नेता कसैले पनि मौन अवधिमा यस्तो कार्य गर्न पाइँदैन ।’

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघन नगर्न निर्देशन दिएको छ । वागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मतदान अघि केही व्यक्तिबाट आचारसंहित उल्लंघन भइरहेका भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।

यस्तै  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् । वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् ।

‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भैसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्नु हामी सवैको कर्तव्य हो’ अध्यक्ष ओलीले अपीलमा भनेका छन्, ‘पार्टीको आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिनु लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा कल्पना बाहिरको कुरा हो ।’ साथै ओलीले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे पार्टीका लागि स्वीकार्य या क्षम्य नहुने चेतावनी पनि दिएका छन् ।

ओलीले जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा रामबहादुर थापा पार्टीका उम्मेदवार भएको भन्दै उनी नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको बताएका छन् । ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीको आग्रह छ ।

प्रतिक्रिया