आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

किन भयो राजेन्द्र महतोले पाएको संसदीय दलको पद खारेज ? यस्तो छ कारण

प्रकाशित
512
SHARES

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको अध्यक्ष उपेन्द्र यादवले बताए ।

जसपाका अध्यक्षद्वय ठाकुर र यादवबीच भएको छलफलका आधारमा त्यसलाई खारेज गर्ने सहमति भएको हो । नेता महतोलाई गुटबन्दी तरिकाले पार्टीको विधान, प्रकृया मिचेर संसदीय दलको नेता बनाएको कारण त्यसलाई खारेज गरिएको बताउँदै उनले अब विधि र प्रकृयाबाट संसदीय दलको नेता चाँडै चयन हुने बताए ।

भक्तपुरको रिसोर्टमा भएको सांसदको छलफलले महतोलाई संसदीय नेतामा चयन गरेको थियो । उनी संसदीय दलको नेतामा चयन भएको कुरा पार्टीबाट आधिकारीक जानकारी नगराइ ठाकुरको आधिकारिक फेसबुकबाट गराइएको थियो ।

महतोलाई पार्टीका शीर्ष नेता तथा विभिन्न व्यक्तिहरुले बधाई पनि दिएका थिए । जसपाका अध्यक्ष यादव समूहले महतोलाई संसदीय दलको नेता बनाएकोमा आपत्ति जनाउँदै आएको थियो ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने सहमति भएको छ । बरु दुई नेताबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको छ ।

पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अड्कलबाजी भइरहेको बेला दुई नेताबीच भएको छलफलबाट पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति बनाएको हो । दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा नेतृत्व लिन पछि नहट्ने दुई नेताबीच सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको र विश्वासको मत सम्बन्धी प्रस्तावलाई फेल गराएर जसपा नेपालकै नेतृत्वमा बहुमतको सरकार बनाउन अघि सर्नुपर्ने अध्यक्ष यादवको प्रस्तावमा ठाकुर सहमत बनेको बताइएको छ ।

जसपा नेपालको नेतृत्वमा सरकार बनाउन पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पहल गर्ने प्रस्ताव पनि अध्यक्ष यादवको थियो । तर, यी प्रस्तावप्रति अध्यक्ष ठाकुर सन्तुष्ट नरहेको स्रोतले बतायो ।
माओवादी केन्द्र र काँग्रेस कुनै पनि हालतमा जसपा नेपालको नेतृत्वलाई स्वीकार गर्दैनन् भन्दै ठाकुरले यादवलाई ‘यसअघि पनि कुराकानी भएकै हो तर उहाँहरु (माओवादी केन्द्र र काँग्रेस)ले चासो देखाउनु भएन’ भन्ने जवाफ दिएका थिए ।

दुई नेताबीचको छलफलपछि अध्यक्ष ठाकुरलाई भेटेका जसपा नेपालका एक सांसदले भने, ‘महन्थ ठाकुरले उपेन्द्रजीको प्रस्ताव स्वीकार पनि गर्नुभएको छैन, अस्वीकार पनि गर्नुभएको छैन ।’ उनका अनुसार ठाकुरले ‘ठिक छ, पहल गर्नु राम्रो हो तर मलाई लाग्दैन कि काँग्रेस र माओवादी केन्द्र यसमा सहमत हुन्छन्’ भनेका थिए ।

प्रतिक्रिया