आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा संकल्पित छौं: प्रधानमन्त्री ओली

प्रकाशित
494
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीेले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताएका छन् । सोमबार मदन आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताको लागि भण्डारीले पुर्‍याएको योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको बताएका छन् । ओलीले ३ वर्षअघि नेकपा माओवादी केन्द्रसँगको एकता पनि भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने एउटा प्रयास रहेको बताएका छन् । तर कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा नभएको उनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बद्र्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते यो दिवस मनाउने गरिन्छ ।

यस्तै नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए । उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेपालको भनाइ छ ।

दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया