आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेमा बन्यो कार्यदल, को-को छन् कार्यदलमा, के हो कार्यदल भूमिका ?

प्रकाशित
459
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार दिउँसो ओली र नेपालबीच ‘वान टु वान’ वार्ता’ भएको हो।

२ नेताले वार्ताका क्रममा एउटा कार्यदल बनाएका छन् भने उक्त कार्यदलमा दुबै पक्षका ५/५ नेता राख्ने सहमति गरेका छन् । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।

बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताएको जानकारी दिए ।

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाएका हुन् । गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो । यता एमालेको विवाद समाधान उन्मुख रहेका बेला बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको भिडन्त रोचक मोडमा पुगेको छ ।

एमालेको माधवकुमार नेपाल पक्ष समेतको सहयोगमा विपक्षी गठबन्धनबाट एमालेसमर्थित खिमलाल देवकोटा उम्मेदवार रहेका छन् भने एमालेबाटै रामबहादुर थापा बादल उम्मेदवार छन् । केन्द्रमा एमाले नेताहरु मिलेका छन्, बागमती प्रदेशमा भने बागी उम्मेदवारको चर्चा छ ।

​चुनावको दिन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बादललाई भोट हाल्ने भएको छ । सो पार्टीका वरिष्ठ नेता दीपक बोहराले पार्टीले एमालेलाई सघाउने जानकारी दिए । ‘पार्टीले आधिकारिक निर्णय त गर्न बाँकी नै छ, हामीले एमालेलाई नै सघाउँछौं । पार्टीमा त्यही अनुसार अनौपचारिक कुरा पनि भइसकेको छ ।

एमाले पार्टीभित्रको विवाद उत्कर्षमा रहेको बेला काँग्रेस–माओवादीसमेतको समर्थनमा एमाले समर्थित भट्टराईलाई उम्मेदवार बनाइएको र हाल एमालेको विवाद समाधान उन्मुख हुँदै गर्दा उपनिर्वाचनमा माधव समूहको भोट कता रहने भन्ने अन्योलका साथै भिडन्त रोचक बन्ने देखिएको हो ।

कमल थापालाई ओलीको फोन !

यसैबीच पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका गृहमन्त्री समेत रहेका बादललाई भोट माग्दै एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेका छन् । शनिबार पार्टीका ३ अध्यक्षसहितको शीर्ष नेताको बैठकमा अध्यक्ष कमल थापाले यसबारे ब्रिफिङ गरेका छन् ।

उनले आफूलाई प्रधानमन्त्री ओलीले फोन गरेर निर्वाचनमा सहयोग मागेको जानकारी गराएका थिए । त्यसबारे बैठकमा छलफल हुनुका साथै आधिकारिक पत्र आए ओलीलाई नै मत दिने बारेमा निष्कर्ष निकालिएको राप्रपाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार अहिलेको अवस्थामा विपक्षी गठबन्धनको उम्मेदवारबारे नै अन्योल रहेको र ओलीसँग विगतमा पनि भएको सहकार्यको आधारमा बादललाई नै मत हाल्नु हितकर हुने निष्कर्ष निकालिएको हो ।

राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मतभार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् । उनीहरुको मतभार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मतभार १३२ छ ।

राप्रपा नेता मोहन श्रेष्ठले एमालेले आधिकारिक पत्र पठाउन बाँकी रहेकाले सो पत्र प्राप्त भएपछि पार्टीले आधिकारिक निर्णय गर्ने बताए । उपनिर्वाचनमा बागमती प्रदेशका १०९ जना र स्थानीय तहका प्रमुख र उपप्रमुखहरू २३८ जनाले मतदानमा भाग लिनेछन् । यीमध्ये माधव पक्षले भोट दिँदा मात्रै डा. देवकोटाले जित्ने सम्भावना छ ।

प्रतिक्रिया