आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीको उपस्थितिमा सीसीएमसीको बैठक बस्दै

प्रकाशित
459
SHARES

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)को बैठक अहिले जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बैठक सिंहदरबारमा जारी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न अस्पतामा भएको उपकरण अभाव तथा अक्सिजनको अभाव व्‍यवस्थापनमा चाल्नुपर्ने कदमका विषयमा आजको बैठकले निर्णय लिने बताइएको छ ।

यस्तै तीन जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा भएको छ। गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक अन्य ७४ वटा जिल्लामा निषेधाज्ञा गरिएको हो । रुकुममा पनि एक साताको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमित भेटिन थालेपछि रुकुम पूर्वमा पनि निषेधाज्ञा गरिएको हो।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । संक्रमण बढेसँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

पछिल्ला ४ दिनमा नेपालमा २० हजार ५ सय ६९ जना कोरोना मुक्त भएका छन् । शुक्रबार सबै भन्दा धेरै ६ हजार १ सय ३५ कोरोना मुक्त भएका छन् भने सनिवार ५ हजार ४ सय ५५ जना कोरोना मुक्त भएका छन् ।

यस्तै नेपालमा पछिल्लो ४ दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने उच्च रहेको छ । पछिल्लो ४ दिनमा ७ सय ७१ जनाको मृत्यु भएको छ । तीन दिनमा सबैभन्दा धेरै बिहीबार २ सय १४ जनाको मृत्यु भएको छ ।

यस्तै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ। आइतबार दिउँसो १, २ बजेतिर ओली-नेपाल बीच भेटवार्ता हुन लागेको प्रधानमन्त्रीनिकट एक नेताले बताए। ‘उहाँहरू दिउँसो कुराकानी गर्नुहुन्छ होला। अहिले नै समय तय भइसकेको छैन, १, २ बजेतिर भेट होला’ उनले भने।

उनकाअनुसार एमालेभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेबारे आज छलफलपछि निर्णय हुन सक्छ।शुक्रबार ओली-नेपालले आफ्ना समूहका दोस्रो तहका नेतालाईसमेत राखेर सिंहदरबारमा कुराकानी गरेका थिए। बैठकले कार्यदल बनाउने जिम्मेवारी ओली र नेपाललाई दिएको थियो। नेता नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनुपर्ने अडान राखेका छन् भने गत फागुन २८ का निर्णय फिर्ता हुनुपर्ने बताइरहेका छन्।

यस्तै हिजो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए । कार्यदलका सदस्यहरुको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिने विषयमा सहमति भएको उनले बताए ।

छलफलबारे नेता भीम रावलले भने, ‘हाम्रो पार्टीको एकता कायम राख्नका लागि गम्भीरपूर्वक छलफल गर्‍यौँ । २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भयो । त्यो प्रयोजनका लागि ओली र नेपालबीच कार्यदलको सदस्यको नाम तय गर्ने कुराकानी भएको छ ।’

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् । शुक्रबारको वार्तामा एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सर्वोच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल पक्षधर नेताहरूले पार्टीलाई एकतापूर्वको अवस्थामा ब्युँताउनुपर्ने बताउँदै आएका थिए । एमालेका पुरानो कमिटीको तल्लो तहसम्म नेपालपक्षीय नेताहरूको वर्चस्व रहेकाले पनि उनीहरूले पूर्ववत् पार्टीर् कमिटी ब्युँताउनुपर्ने माग गर्दै आएका हुन् तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी धेरै अघि बढिसकेकाले त्यो सम्भव नहुने बताउँदै आएका थिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफलमा जेठ २ आसपासबाट पार्टीलाई अघि बढाउने सहमति भएपछि नेपाल पक्षका सांसदले दिने भनेको राजीनामा रोकिएको थियो । त्यही विषयमा थप छलफल गर्न दोस्रो पुस्ताका नेताहरूसमेतको बैठक सिंहदरबारमा करिब चार घण्टा बसेको थियो ।

बैठक सकारात्मक रूपमा अघि बढेको र बाँकी विषयमा शनिबार कार्यदल बनाएर छलफल गर्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । ‘कुराकानी सौहार्दपूर्ण तरिकाले सकारात्मक रूपमा अघि बढेको छ,’ नेम्वाङले भने, ‘बाँकी सहमतिका लागि कार्यदलमा छलफल हुन्छ ।’

छलफलमा ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल र रामबहादुर थापा सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागिता थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो कार्यकालका लागि पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

चार दिनअघि प्रतिनिधिसभाको विश्वास गुमाएका ओली राष्ट्रपतिले दिएको समयसीमाभित्र अन्य दलले बहुमतसहित प्रधानमन्त्री दाबी गर्न नसकेपछि ठूलो दलको नेताका हैसियतमा पुनः प्रधानमन्त्री बनेका हुन् । उनले शुक्रबारै आफ्नो पुरानै मन्त्रिपरिषद्का सदस्यलाई यथावत् जिम्मेवारी दिँदै मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीहरूले पनि शुक्रबारै शपथग्रहण गरी जिम्मेवारी सम्हालेका छन् ।

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहसँग पार्टीभित्र मिलेर जाने सहमति भएपछि ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । उनले मन्त्रिपरिषद्मा शुक्रबार खनाल–नेपाल पक्षका नेतालाई समेटेनन् । खनाल–नेपाल पक्षसँग पार्टीभित्रका विवादका विषयमा प्याकेजमा सहमति खोज्ने प्रयास भइरहेकाले तत्काल पुरानैलाई निरन्तरता दिएका हुन् ।

प्रधानमन्त्री ओलीले जेठभित्रै प्रतिनिधिसभा विघटन गरी मंसिरमा निर्वाचन हुने गरी मिति तोक्न सक्ने अनुमान विपक्षी गठबन्धनले गरेको छ । संविधानको धारा ७६ (२) अनुसार गठबन्धनको सरकार बनाउन नसकेको विषयमा समीक्षा गर्दै कांग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले मध्यावधि निर्वाचनको आकलन गरेको हो ।

कांग्रेसका एक नेताका अनुसार राजनीतिका सम्भावित घटनाक्रमको समीक्षा गर्दै निर्वाचनमा जाने परिस्थिति बने विपक्षी गठबन्धन बनाएरै अघि बढ्ने कि भन्नेबारेमा छलफल भएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएको टिप्पणी गरेका छन् । शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।

‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् । त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’

उनले आफुले धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको विषयलाई नकारात्मक अर्थमा टिप्पणी भइरहेको भन्दै सकारात्मक भावनाबाट सञ्चालित हुन जरुरी रहेको बताए । ‘हामीले धरहरासँग बसपार्क, वा पार्किङलाई जोडेका हौंला तर त्यो बेग्लै कुरा हो । त्यसको उद्घाटनको सन्दर्भमा पनि कुनै विषय नपाएपछि मानिसहरुले तयार नहुँदै उद्घाटन भन्न भ्याए’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘यसमा पनि त्यसो भन्न सक्छन् । अझै त्यहाँ जाने बाटोको विस्तार भएको छैन होला बाटो नभई उद्घाटन गर्यो भनेर । जसको आदत नै नकारात्मक टिप्पणी गर्नु हो । कुनै सकारात्मक कुराको स्वीकारोक्ती वा प्रशंसा नगर्नु उनीहरुको आदत भइसकेको छ’, प्रधानमन्त्रीले आफ्नो आलोचना गर्नेहरुलाई जवाफ दिए । प्रधानमन्त्रीले कोभिड विरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिने भन्दै सम्मेलन केन्द्रलाई विकासको एउटा सिँढी थपिएको दावी पनि गरे ।

प्रतिक्रिया