आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमितका लागि अस्पतालले निकाल्यो यस्तो नयाँ नियम

प्रकाशित
480
SHARES

काठमाडाैं । सप्तरीमा अब १० दिनसम्म अस्पतालमा बसेर उपचार गरेका संक्रमितको तीन दिनसम्म कुनै लक्षण नदेखिए दोस्रो पटक पीसीआर परीक्षण नगरिने भएको छ । उनीहरुलाई चिकित्सकको सल्लाह बमोजिम दोस्रो पीसीआर नगरी एक हप्ता होम आइसोलेसनमा बस्ने गरी पठाउने र त्यसको व्यवस्था स्थानीय तहले मिलाउने निर्णय भएको छ ।

सबै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, सुरक्षा अधिकारी, जिल्ला संकट व्यवस्थापन समितिका पदाधिकारीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघीय सरकारको निर्णय अनुसार १० दिनपछि संक्रमण नसर्ने सम्भावना रहेकाले अस्पतालमा भर्ना भएकालाई १० दिनसम्म उपचार गरेपछि तीन दिनसम्म लक्षण नदेखिएमा होम आइसोलेसनमा पठाउने निर्णय भएको हो ।

यस्तै, आइसोलेसन र क्वारेन्टिनमा १४ दिनसम्म बसिसकेकालाई दोस्रो पीसीआर नगराइ होम आइसोलेसनमा पठाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले वैशाख ३ गते कोरोना राहत तथा विपद् व्यवस्थापन कोष गठन गर्ने र त्यसमा प्रत्येक स्थानीय तहबाट रकम जम्मा गर्न पत्राचार गरिएकोमा हालसम्म केही स्थानीय तहबाट मात्र प्राप्त हुन आएकाले बाँकी स्थानीय तहबाट कोषमा यथाशीघ्र रकम जम्मा गर्न भनिएको छ ।

उक्त कोषमा जम्मा भएको रकमले अक्सिजन प्लान्ट सञ्चालनका लागि छिन्नमस्ता अस्पताल प्रालिलाई ३० लाख सोधभर्ना हुने गरी हाललाई उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले जानकारी दिए ।

यस्तै, जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिको बैठकबाट भएको निर्णय अनुसार स्थानीय तहले क्वारेन्टिन र आइसोलेसन केन्द्र तयार नगरेको भए अबिलम्ब तयार गर्ने, नेपाल सरकारबाट घोषित ५, १० र १५ बेडको अस्पताल कुन अवस्थामा छ त्यसको तयारीको विषयमा जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउने निर्णय पनि भएको उनले बताए ।

कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा थपिए २,९३७ जना संक्रमित, बाँकेमा ५०५ जना

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ९३७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार १४६, ललितपुरका ४४४ र भक्तपुरका ३४७ जना छन् ।

यस्तै बाँकेमा ५०५, रुपन्देहीमा ४९५, कैलालीमा ४४३, मोरङमा ३५४, बर्दियामा २७८, दाङमा २७५, मकवानपुर १९८, सुर्खेतमा १८५ तथा कञ्चनपुरमा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा १७३, धनुषामा ११८, पर्सामा १०४, म्याग्दीमा १०३, सुनसरीमा ९९, तनहुँमा ८०, नुवाकोटमा ७९, काभ्रेमा ७० तथा दैलेखमा ७८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी महोत्तरीमा थप ७१, डोटीमा ६२, गोरखामा ५९, सप्तरीमा र रामेछापमा ५८/५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

खोप किन्न किन चुक्यो सरकार ?

बिहीबार पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सम्बोधन गर्दै एक ट्वीट गरे । आचार्यले आफ्नो ट्वीटमा अहिलेको कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि सरकारलाई पाँचबुँदे सुझाव दिए ।

उनले मानवीय संकट घोषणा गर्न, मित्रराष्ट्रहरूबाट के–कति सहयोग चाहिएको हो सूची तयार पार्न, सहयोगका लागि सरकारप्रमुख तहमा पत्र पठाउन, नेपालस्थित विदेशी नियोगहरूलाई डाकेर ब्रिफिङ र आफ्ना दूतावास परिचालन गर्न सुझाव दिए ।

त्यसको केही घन्टापछि आचार्यको ट्वीटलाई परराष्ट्र मन्त्रालयको आधिकारिक ह्यान्डल मार्फत जवाफ दिइयो । सो जवाफमा भनिएको छ, ‘भ्याक्सिन, उपकरण तथा स्वास्थ्य सामग्रीको सूची तयार गरी मित्रराष्ट्र र विकास साझेदारहरूलाई दिइनुका साथै उच्च कूटनीतिक तहमा पत्राचार भएको छ ।’

मन्त्रालयले सो प्राप्तिका लागि काठमाडौंस्थित कूटनीतिक नियोगहरूसँग निरन्तर समन्वय गर्दै विदेशस्थित नियोगहरू परिचालन गरिएको जानकारी दिएको छ । कोरोना महामारीसँग लड्नका लागि सरकारले अन्तर्राष्ट्रिय सहयोगको याचना गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दि गार्जियन पत्रिकामा एक लेख मार्फत सहयोग गर्न आग्रह गरेका छन् ।

सरकारले विदेशस्थित आफ्ना दूतावासलाई भ्याक्सिन लगायत अन्य सामग्रीको लिष्ट नै उपलब्ध गराएको छ । केही सहयोग पनि आउन शुरू भएको छ । अमेरिका, चीन, बंगलादेश लगायत मुलुकले केही स्वास्थ्य सामग्रीको सहयोग समेत गरिसकेका छन् । विभिन्न मुलुकले स्वास्थ्य सामग्री र औषधिहरू सहयोग गर्ने घोषणा गरे पनि खोप भने तत्काल आउने सम्भावना एकदमै न्यून रहेको छ । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी स्वयंले तत्काल खोप आउने सम्भावना कम रहेको औंल्याएका छन् ।

पछिल्लो पटक सरकारले विशेषगरी चीन र रसियासँग खोप खरीदको गृहकार्य अगाडि बढाए पनि ठोस प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपालले अहिले खोपको भर गरेका मुलुकहरू भारत, अमेरिका, चीन र रसिया हुन् । समयमा नै खोप खरीदलाई विविधीकरण नगरी लामो समयसम्म भारतको मात्रै भर पर्दा नेपालले खोपको ठूलो समस्या सामना गर्नुपर्ने देखिएको छ ।

अमेरिकाले तत्कालै खोप वितरण नगर्ने

अमेरिकासँग जगेडामा रहेको ६ करोड खोप ल्याउने सम्बन्धमा पहल भइरहे पनि तत्कालै आउने सम्भावना भने एकदमै न्यून देखिन्छ । सरकारी र नागरिक तहमा खोप उपलब्ध गराउन अमेरिकी सरकारलाई निरन्तर आग्रह भइरहेको छ । बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय समितिका सदस्यहरूले समेत नेपालको संकटको विषय उठाएका थिए ।

भारत लगायत दक्षिण एशियाली मुलुकका खोपका आवश्यकताहरू पूरा गराउनको लागि अमेरिकाले भारतलाई खोप उत्पादनमा सहयोग गर्ने योजना बनाइरहेको छ । यतिवेला अमेरिकाको ध्यान भारतको खोप उत्पादन क्षमता बढाउने र भारत मार्फत खोप दक्षिण एशियाली मुलुकलाई उपलब्ध गराउने छ ।

नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत डेनियल स्मिथले भारतले उत्पादन गरेका खोपहरू छिमेकी मुलुकलाई पनि वितरण नगरी आन्तरिक प्रयोजनका लागि मात्रै प्रयोग गरेकोमा आफूहरूको गम्भीर चासो रहेको बताएका छन् ।

केही पत्रकारहरूसँगको कुराकानीमा उनले भारतका धेरै छिमेकी मुलुकहरूले दोस्रो चरणको खोप अभियान संचालन गर्न नपाएको जानकारी आफूहरूलाई थाहा भएको बताएका थिए ।

तर, अमेरिकासँग रहेको ६ करोड रेडिमेड खोप भारत लगायत छिमेकी मुलुकहरूलाई प्राविधिक रूपमा अझै पनि दिन सक्ने अवस्थामा नरहेको बताए । उनका अनुसार सो खोपको प्रयोगका सम्बन्धमा अमेरिकी अधिकारीहरूले आवश्यक अनुसन्धान र जाँच गरिरहेका छन् ।

उनले स्पष्ट रूपमा भन्दा खोप उत्पादन गरिएको प्लान्टमा नै केही समस्या उत्पन्न भएको बताएका छन् । त्यसैले सो समस्या समाधान नभई अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने सम्भावना एकदमै न्यून छ ।

चीनबाट किन भयो ढिलाइ ?

चीनले पहिलोपटक नेपाललाई पाँच लाख खोप उपलब्ध गराउने घोषणा गरेको फेब्रुअरी महीनामा नै हो । त्यसपछि त्यसलाई बढाएर ८ लाख पु¥यायो । चीनले केही अनुदानमा उपलब्ध गराएपछि सरकारले खोप खरीदको प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर, चार महीनामा चीनबाट खोप खरीद गर्ने सम्बन्धमा सरकारले कुनै पनि प्रक्रिया अगाडि बढाएन । न त बेइजिङस्थित नेपाली दूतावासले कुनै पहल नै लियो ।

खोप खरीदका लागि अनुकूल अवस्था पनि थियो किनभने यस बीचमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यि बीच कुराकानी पनि भइरहेको छ । केही हप्ता अगाडि मात्रै चीनका विदेश मन्त्रीले नेपाल लगायत दक्षिण एशियाली मुलुकका आफ्ना समकक्षीहरूसँग भिडियो सम्मेलन नै आयोजना गरेका थिए । केही दिन अगाडि मात्रै चीनसँग खोप खरीदको प्रक्रिया अगाडि बढाउने सैद्धान्तिक निर्णय भए पनि ठोस रूपमा प्रक्रिया अगाडि बढेको छैन ।

खोप खरीद गर्ने इच्छाशक्ति हुँदा तत्कालै सम्भव छ भन्ने उदाहरण बंगलादेश हो । शुरूमा चीनबाट भन्दा पनि भारतबाट नै खोप किन्ने योजना बनाएको बंगलादेशले अब चिनियाँ खोप लिन शुरू गरेको छ । चीनले पाँच लाख खोप अनुदानमा उपलब्ध गराएको छ भने बंगलादेश सरकारले खोप खरीदको प्रक्रिया पनि अगाडि बढाएको छ ।

भारतसँग निरन्तर ताकेता तर आउने टुंगो छैन

सरकारको योजना भारतबाट ठूलो मात्रामा खोप खरीद गर्ने थियो । भारत सरकारले १० लाख खोप अनुदान दियो । त्यसलगत्तै सरकारले २० लाख खोप खरीदका लागि कोभिशिल्ड उत्पादन गरिरहेको सेरम इन्ष्टिच्युटलाई भुक्तानी समेत ग¥यो जसमध्ये १० लाख आए पनि १० लाख अझै आएको छैन ।

यसका लागि दुई देशका परराष्ट्र मन्त्रीहरूको बीचमा पनि कुराकानी भयो । नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि निरन्तर ताकेता गरिरहेको छ । नेपालले पैसा बुझाइसकेको १० लाख खोप ढिलोचाँडो आउने भए पनि भारतबाट तत्कालै उल्लेख्य मात्रामा खोप आउने सम्भावना एकदमै न्यून रहेको छ ।

तर, भारतले आफूले उत्पादन गरेको सम्पूर्ण खोप आन्तरिक प्रयोजनका लागि मात्रै प्रयोग गरिरहेको छ । यति मात्र होइन, भारतले रसियाबाट समेत खोप खरीद गरिरहेको छ । तर रसियाले एकदमै सानो संख्यामा भारतलाई खोप उपलब्ध गराइरहेको छ ।

रसियाबाट ल्याउन अलमल

रसियाले उत्पादन गरेको स्पुतनिक भि खोप ल्याउन सरकारले केही हप्तायता प्रयास गरे पनि ठोस प्रक्रिया अगाडि बढ्न सकेको छैन । रसियासँग किन प्रक्रिया अगाडि बढ्न सकेन भन्ने विषयमा सरकारी अधिकारीहरूले कुनै ठोस जवाफ दिएका छैनन् ।

यसै विषयमा छलफल गर्नका लागि अघिल्लो साता रसियाको एक टोली काठमाडौैं आएको थियो । जसले प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीसँग पनि भेटघाट गरेको थियो । रसियाले तत्कालै ठूलो मात्रामा खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएका कारण पनि प्रक्रिया अगाडि नबढेको एक सरकारी अधिकारीले बताए ।

विगत ६ महीनामा खोप खरीदमा ढिलाइ हुनुमा मुख्यतः दुई कारण देखिन्छ । पहिलो, भूराजनीतिक, दोस्रो कमिसन दलालहरूको प्रभाव । भूराजनीतिक कारणले गर्दा नै नेपालले समयमा नै सबै मुलुकबाट खोप खरिदको प्रक्रिया अगाडि बढाउन सकेन । यसबाहेक कमिसन दलालहरूको भूमिकाको बारेमा स्वास्थ्य मन्त्री आफैंले सार्वजनिक रूपमा नै बताइसकेका छन् ।

प्रतिक्रिया