आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोमले भने, नेपाललाई आपतकालीन सहयोगको खाचो छ

प्रकाशित
558
SHARES

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण र उपचारको सामना गरिरहेका छन् ।’

उनले ती मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको समेत बताएका छन् । यद्यपि गत हप्ता खोप उत्पादक र नेताहरुले उत्पादन क्षमता बढाउन काम गरिरहेकाले आफूलाई केही खुशी लागेको बताएका छन् ।

यस्तै  विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणमा नआउनुले निकै चिन्ताजनक अवस्था सृजना गरेको जनाएको छ ।

डब्ल्युएचओ प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहनु धेरै चिन्ताको विषय भएको बताएका छन् ।

अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएकाले गम्भीरताका साथ यसको नियन्त्रणमा राज्य संयन्त्र पूर्णरूपमा लगाउन उनले भारत सरकालाई आग्रह पनि गरेका छन् ।

संक्रमणले भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि अब आपतकालीन स्थिति निम्त्याएको टेड्रोसले बताएका छन् ।

त्यस्तै कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोभिड-१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ६६ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४३ लाख ७२ हजार पुगेको छ जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा हाल ३६ लाख ७३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यु लगाएका छन् ।

हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै रहेका छन्। विश्वभर १४ करोड १४ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । २४ घण्टामा ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.०३५ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ । यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएको छ। कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया