आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्यमन्त्री लाई कोरोना संक्रमण

प्रकाशित
122
SHARES

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएका उनको अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने उनले बताए ।

मंगलबार उनी गण्डकी प्रदेशसभाका सभामुख र दलका शीर्षनेताको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको एन्टिजिन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए ।

बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै कन्चन गाउँपालिका–४का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५.४५ बजे मृत्यु भएको हो ।

यस्तै बुटवल ९का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान ६.२२ मा मृत्यु भएको हो ।

यस्तै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान ६.३८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए । यसैबीच बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका ६० वर्षीय पुरुषको मंगलबार राति ११:४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका २७ वर्षीय पुरुषको आज बिहान ४:४० बजे मृत्यु भएको हो ।

बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्थामा सुधार नआई उनीहरुको अस्पतालमै मृत्यु भएको हो । शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको स्रोत व्यक्ति वलीले बताए ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ । यसैबीच नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १२ जिल्लामा आंशिक, बाँकी ४० जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया