आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु

प्रकाशित
148
SHARES

काठमाडौँ । पछिल्ला केहि दिन यता नेपालमा कोरोना महामारी ह्वातै बढेको छ । दिनप्रतिदिन कोरोना झनै फैलिरहेका नेपालीहरुका लागि अर्को दुखद खबर आएको छ।

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका बिबिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

१६ हजार १३१ जनाको पीसीआर र ५७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

यस्तो छ जिल्लागत विवरण

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ९, उदयपुरमा १०, ओखलढुंगामा १६, खोटाङमा ३, झापामा १७४, ताप्लेजुङमा ५, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा ५, भोजपुरमा १, मोरङमा २४६, संखुवासभामा ५, सुनसरीमा १२४ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १०४, पर्सा ११२, बारामा ३६, महोत्तरीमा ६५, रौतहटमा २६, सप्तरीमा ३२, सर्लाहीमा ३२ र सिरहामा २८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११७, चितवनमा २२६ दोलखामा २२, धादिङमा ७५, नुवाकोटमा ८३, भक्तपुरमा ५१३, मकवानपुरमा ६९, रसुवामा ९, रामेछापमा २४, ललितपुरमा ६०१, सिन्धुपाल्चोकमा २८ र सिन्धुलीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २४७, गोरखामा ३८, तनहुँमा २०, नवलपरासी पूर्वमा ३५, पर्वतमा १७, लमजुङमा २३, म्याग्दीमा ११, बागलुङमा ७ र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६४, गुल्मीमा २६, दाङमा २०१, नवलपरासीमा २१, पाल्पामा ४८, प्युठानमा १२, बर्दियामा २८, बाँकेमा १९२, रुकुम पूर्वमा ४, रुपन्देहीमा ३६९ र रोल्पामा १७ जनामा कोरोना पाइएको छ।

यसैगरी कर्णाली प्रदेशको कालिकोटमा ४, जागरकोटमा ७, जुम्लामा १८, डोल्पामा २, दैलेखमा ३४, मुगुमा २, रुकुम पश्चिममा ३, सल्यानमा १८, सुर्खेतमा १२४ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा ३०, कञ्चनपुरमा १२, कैलालीमा १४०, डडेल्धुरामा ४७, डोटीमा ५०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा निषेधाज्ञा थप कडा बनाइँदै, नयाँ नियममा के गर्न पाइने के नपाइने ?

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा हुने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीको मंगलबार बसेको बैठकले आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।यो सँगै काठमाडौंमा अब निषेधाज्ञालाई थप कडाई गरिने भएको छ ।

नयाँ नियमअनुसार अब अत्यावश्यक काम बाहेकमा घरबाहिर निस्कन पाइने छैन । दुई जना व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी हुनु आवश्यक छ भने अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

निषेधाज्ञा वैशाख २२ गतेदेखि थप भइ वैशाख २९ गतेसम्म कायम हुनेछ । जसमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यकबाहेकका सवारी साधन काठमाडौं प्रवेशमा रोक लगाइनेछ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमालगायतका कार्यालयहरुमा एक चौथाइ कर्मचारीमात्र उपस्थित हुने गरी सञ्चालन गर्न गराउन व्यवस्था मिलाउनु पर्नेछ ।

सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखले जारी गरेको सवारी पास र परिचयपत्रको आधारमा आवतजात गर्न पाइनेछ ।

बैंक तथा वित्तीय सस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्रै सञ्चालन गर्न पाइनेछ र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । र, सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनको हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनुपर्नेछ ।

विकास निर्माणका सम्बन्धमा सम्बन्धित आयोजाहरुले नै आवासीय कामदार राखी अनिवार्यरुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने तथा निर्माण सामग्री ढुवानी राति १० बजेदेखि विहान ४ बजेसम्म मात्रै आवतजावत गराउनुपर्ने छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिक, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गरिनेछ ।

त्यसैगरी खाद्यान्न पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोरहरु विहान ९ बजेसम्म खुला गरिनेछ भने स्थानीय ढुवानीको हकमा विहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी पत्रकारहरुको हकमा सूचना विभागको प्रेस पासका आधारमा मात्रै आवतजावत गर्न पायनेछ । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी तथा कर्मचारीहरको हकमा सम्बन्धित सञ्चार गृहहरुले न्यूनतम कर्मचारी मात्रै खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने छ ।

निलो प्लेटका सवारी साधनको हकमा परिचय बाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक पर्ने छैन । उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान पाइने छ ।

पूर्ण र आंशिक गरी नेपालका ४५ जिल्लामा निषेधाज्ञा

नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गरेका छन्।

योसँगै निषेधाज्ञ लागू गरिएका जिल्लाको संख्या ४५ पुगेको हो । महोत्तरीमा २२ गते बुधबार साँझ ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्म लागू हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

गत १३ वैशाखको मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

हालनेपालका ३३ जिल्लामा कोरोना संक्रमण अवस्था बढ्दो रुपमा देखिएको छ । जसमध्ये १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसैगरी १९ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, रौतहट, महोत्तरी, मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी (पूर्व), बाग्लुङ, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, अर्घाखाँची, कञ्चनपुर र बैतडी रहेका छन् ।

प्रतिक्रिया